
काठमाडौं– सर्वोच्च अदालतले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइका लागि विभिन्न छ अदालतमा व्यवसायी दीपक भट्टका नाउँमा विचाराधिन रहेका मुद्दाका फाइल झिकाउने आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि पक्राउ परी थुनामा रहेका पौडेलकी पत्नी दोमाया पौडेलले दिनु भएको रिटमा दोस्रोपटकको सुनुवाइमा सर्वोच्चबाट मिसिल झिकाउने आदेश असार १६ गते भएको हो ।
न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले चारवटा अदालतका दीपक भट्ट र आशिष श्रेष्ठका मिसिल एकसाथ पेस गरी सुनुवाइ गर्न यही असार १८ गतेको पेसी तोकिदिएको छ । पौडेलकी पत्नी दोमायाले असार १० मा रिट दायर गर्नु भएको थियो । ती मुद्दामा पौडेल जोडिएको हुन सक्ने आशंका गरिएका विभिन्न व्यक्तिविरुद्ध परेको मिसिल झिकाउन भनेको हो ।
आदेशमा भनिएको छ, ‘यसमा देहायबमोजिमका मुद्दाको अभियोगपत्र सहितको सक्कल फाइल इजलास समक्ष देखाई फिर्ता लैजाने गरी सम्बन्धित अदालतबाट झिकाई मिति २०८३÷०३÷१८ गते पेसी तोकी नियमानुसार पेस गर्नु ।’
सर्वोच्चले विभिन्न अदालतमा रहेका ६ वटा मुद्दाका मिसिल झिकाएर असार १८ गते पेशी तोकी सुनुवाइ गर्न आदेश दिएको छ ।
सर्वोच्चले वादी नेपाल सरकार प्रतिवादी दिपक भट्टसमेत भएको विशेष अदालतमा रहेको ‘सम्पत्ति शुद्धीकरण मुद्दा’, वादी नेपाल सरकार प्रतिवादी दीपक भट्टसमेत भएको उच्च अदालत पाटनमा रहेको बैंकिङ कसुरसम्बन्धी मुद्दा, वादी नेपाल सरकार प्रतिवादी आशिष श्रेष्ठसमेत भट्टसमेत रहेको काठमाडौं जिल्ला अदालतमा रहेको बिमासम्बन्धी कसुर मुद्दा, काठमाडौं अदालतमै वादी नेपाल सरकार प्रतिवादी सुलभ अग्रवालसमेत भएको धितोपत्रसम्बन्धी कसुरको मुद्दा, काठमाडौं जिल्ला अदालतमै रहेको वादी नेपाल सरकार प्रतिवादी दीपक भट्टसमेत भएको धितोपत्रसम्बन्धी कसुरको मुद्दा र निवेदक दीपक भट्टले गृह मन्त्रालयसमेतलाई विपक्षी बनाएर दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा भएको आदेशासहितको मिसिल पनि एकसाथ राख्न आदेश गरेको छ ।
काठमाडौँ जिल्ला अदालतबाट तीनवटा फरक फरक मुद्दाका सक्कल मिसिलहरू माग पनि गरेको हो । आशिष श्रेष्ठविरुद्ध लागेको बीमा सम्बन्धी कसुर, व्यवसायी सुलभ अग्रवालविरुद्ध दायर भएको धितोपत्र सम्बन्धी कसुर र दीपक भट्टसमेत जोडिएको धितोपत्र सम्बन्धी कसुरको मिसिल झिकाउन आदेश दिएको छ ।
यसैगरी, दीपक भट्टको पक्षबाट दायर भएको बन्दीप्रत्यक्षीकरण छिनुवा मिसिल सर्वोच्चकै अभिलेख शाखाबाट अवलोकनार्थ झिकाउन आदेश दिएको छ ।
‘निवेदक दीपक भट्ट र प्रतिवादी नेपाल सरकार गृह मन्त्रालयसमेत भएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको छिनुवा मिसिल यस अदालतको अभिलेख शाखाबाट झिकाई अवलोकनार्थ संलग्न राख्नु,’ सो आदेशमा उल्लेख छ । सर्वोच्चबाट व्यवसायी दीपक भट्ट, दीपक भट्टविरुद्ध विशेष अदालतमा दायर भएको बैंकिङ कसुर सम्बन्धी मिसिल झिकाउन आदेश दिएको छ ।
पूर्वउपप्रधान तथा अर्थमन्त्री समेत रहनु भएका पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरको अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ ।
विशेष अदालतले यसअघि असार ९ गते पहिलो पटक सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो । विभागले अनुसन्धानका लागि विशेष अदालतबाट दोस्रो पटक तीन दिनको म्याद लिइरहेको छ ।
प्रकाशित मिति २०८३ असार १६, मंगलवार २०:३० गते