
काठमाडौं– अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि नेपालमा भने घटेन भन्ने चर्चाका बीच नेपाल आयल निगमले एलपि ग्याससहित पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको निर्णयानुसार गए राति एक बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य असार १७ गते घटाइएको हो ।
निगमले जारी गरेको विज्ञप्ति अनुसार साबिकको खुद्रा बिक्री मूल्यमा एल.पी. ग्याँस प्रतिसिलिन्डर १०० रुपैयाँले घटेको जनाएको छ । यसैगरी, खुद्रा बिक्रीमा पेट्रोलमा प्रतिलिटर २० रुपैयाँले, डिजेल÷मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४० रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले घटेको छ ।
इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ९ पैसा, डिजेल २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धन प्रतिलिटर २९ रुपैयाँ ४२ पैसा तथा एलपी ग्यासको मूल्य पनि घटेर आएको निगमले जनाएको छ ।
यस्तै, अन्तर्राष्ट्रिय हवाई इन्धनको काठमाडौंका लागि बिक्री मूल्य प्रति किलोलिटर २६५ अमेरिकी डलरले घटाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेकइभेन बिन्दुमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।
यससँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९६ रुपैयाँ र तेस्रो वर्गमा १९७ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल/मट्टितेलको मूल्य क्रमशः पहिलो, दोस्रो र तेस्रो वर्गमा १९२ रुपैयाँ ५० पैसा, १९४ रुपैयाँ र १९५ रुपैयाँ कायम भएको छ ।
हवाई इन्धन आन्तरिकतर्फ २२९ रुपैयाँ कायम भएको निगमले जानकारी दिएको छ । एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २०६० र आधा सिलिन्डर १०३० रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति २०८३ असार १७, बुधबार ०९:१४ गते