
बेसीशहर– एकीकृत सेवा कार्यालय लमजुङले बालमैत्री स्थानीय तह घोषणा बारेमा एक दिने अभिमुखीकरण कार्यक्रम यहाँ सम्पन्न भएको छ । आदिवासी जनजाति महासंघ समन्वय समितिका जिल्ला अध्यक्ष रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा यहाँ स्थित टुकुचेपिक होटलको सभाहलमा सो कार्यक्रम असार १७ गते गरिएको हो ।
प्रमुख अतिथि श्रेष्ठले हिजोका दिनमा अशिक्षा, गरीबीका कारणले घर परिवार, समाजमा विभेद बढी भएको हो भन्नुभयो । उहाँले ऐले समय बदलिएको छ, हामीले आफूलाई परिवर्तन गर्न सक्नु पर्छ, त्यसो भयो भने द्वन्द्व हुँदैन, समाज सहजै परिवर्तन हुन्छ, अघि बढ्न सक्छ र समृद्धि प्राप्त गर्न सहज हुन्छ भन्नुभयो ।
उक्त कार्यक्रमका प्रमुख प्रशिक्षक जिल्ला प्रहरी कार्यालयका प्रहरी वरिष्ठ नायव निरीक्षक किसान केसी हुनुहुन्थ्यो । उहाँले हिंसा भनेको के हो ? लै·ीक र घरेलु हिंसामा के के भिन्नता छ ? त्यो विभेद के कसरी रोक्न सकिन्छ ? त्यस्तो हिंसा हुँदा हिंसा गर्नेलाई के कस्तो सजाय हुन्छ ? कति दिन भित्र उजुरी दिनु पर्छ ? आदि आदि विषयमा प्रकाश पार्नु हुँदै सहभागीहरूलाई उदाहरण सहित जानकारी दिने कार्य गर्नु भएको थियो ।
उहाँले जबरजस्ती करणी र त्यसका प्रकार तथा करणीको महिलाको उमेर अनुसार हुने सजायका बारेमा पनि प्रकाश पार्नु भएको थियो । त्यसैगरी, बालविबाह, बहुविवाह त्यसले परिवार र समाजमा पार्ने असर, २० वर्ष अघि विवाह गर्न नहुने र गरेमा के हुन्छ ? र कानुनले के कस्तो अवस्थामा दोषी ठहर गर्छ भन्ने प्रष्ट्याउने कार्य गर्नु भएको थियो ।
२०७५ मा मुलुकी ऐन संशोधन गरी जारी ऐन अनुसार त्यस यता घरमा श्रीमती वा श्रीमान् हुँदाहुँदै अर्को विवाह गर्न नहुने गरेमा दुवैलाई हुने सजायका बारेमा पनि जानकारी दिनु भएको थियो । यसैगरी अभद्र व्यवहारका बारेमा पनि उहाँले प्रकाश पार्नु भएको थियो । उहाँले मानव बेचबिखन तथा ओसारपसार, शरिर बन्धकका बारेमा समेत प्रकाश पार्नु भएको थियो ।
प्रशिक्षक एवम् आयोजक एकीकृत सेवा कार्यालयका प्रमुख मीता कुमारी थापाले बालमैत्री स्थानीय तहका बारेमा ५१ सूचक रहेको जानकारी दिदै ती बारेमा प्रष्ट्याउनु भएको थियो । उहाँले तनाब व्यवस्थापन, सकारात्मक सोचका विषयमा सहभागीहरूलाई सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराउनु भएको थियो । उहाँले सकारात्मक सोच भएमा जस्तो सुकै दुःख पनि सुखमा बदलिन सक्छ र जीवन सुखी हुन्छ । यसले आत्महत्याका घट्नामा समेत न्यूनीकरण गर्न सकिने जानकारी दिदै तनाव व्यवस्थापन गर्न नसक्दा मानिस डिप्रेसनमा जान सक्छ भन्ने उल्लेख गर्नुभयो ।
उक्त अभिमुखीकरण कार्यक्रममा फूलबारी आमा समूह, कर्पुरेश्वर आमा समूह, सरस्वती आमा समूह, प्रकृति नारी समाज लगायतका समूहबाट एक सय जनाभन्दा बढीले भाग लिएका थिए । आयोजक कार्यालयका प्रमुख मिताकुमारी थापाको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन आयोजक कार्यालयका सेवा केन्द्र प्रमुख सिर्जना पौडेलले गर्नु भएको थियो । उहाँले यस्तो कार्यक्रम चालु आवकै स्वीकृत कार्यक्रम अन्तरगत अन्य स्थानीय तहमा पनि सञ्चालन गरेको जानकारी दिनुभयो ।
प्रकाशित मिति २०८३ असार १८, बिहीबार ०६:४८ गते