वरिष्ठ पत्रकार केशवराज पराजुलीको निधन, भावपूर्ण विदाई

वरिष्ठ पत्रकार केशवराज पराजुलीको निधन, भावपूर्ण विदाई

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असार १७ गते बिहिबार ०७:३१

पोखरेली पत्रकारिताका अध्येता तथा लेखकका रूपमा समेत उहाँको विशिष्ट पहिचान बनाउनु भएका पराजुली २०४० देखि प्रकाशन सुरु भएको ‘जनमत दैनिक’को संस्थापक सम्पादक पनि हुनुहुन्थ्यो ।

वरिष्ठ पत्रकार पराजुलीको निधनले पोखराको सञ्चार, सामाजिक तथा बौद्धिक क्षेत्रमा गहिरो शोक परेको छ ।

पोखरा– वरिष्ठ पत्रकार तथा समाजसेवी केशवराज पराजुलीको गएराति निधन भएको छ । पराजुलीको गएराति १२ बजे आफ्नै निवास पोखरा– ३, नदीपुरमा असार १७ गते निधन भएको परिवारजनले जनाएका छन् । उहाँ ९२ वर्षका हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीरको सेती नदी किनारको तुलसीघाटमा हिजै भावपूर्ण अन्तिम विदाई गरियो ।
वरिष्ठ पत्रकार पराजुलीको निधनले पोखराको सञ्चार, सामाजिक तथा बौद्धिक क्षेत्रमा गहिरो शोक परेको छ ।
‘पोखरेली नवरत्न’ समेत रहनु भएका उहाँ लामो समय शिक्षण पेसा तथा नेपाली काँग्रेसको राजनीति पनि गर्नु भयो । तर पछि उहाँले काँग्रेसका गतिविधि ठीक नभएको भन्दै पार्टी छाड्नु भएको थियो । उहाँ स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक सल्लाहकार समेत हुनुहुन्थ्यो । पराजुली २०४० देखि प्रकाशन सुरु भएको ‘जनमत दैनिक’को संस्थापक सम्पादक पनि हुनुहुन्थ्यो । उहाँका विभिन्न पत्रपत्रिका तथा किताबमा गहिरो खोजमूलक लेख–रचना प्रकाशित छन् ।
पराजुलीले पोखराको पत्रकारिताको विकास, निष्पक्ष समाचार सम्प्रेषण तथा प्रेस स्वतन्त्रताको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउनु भएको थियो । पत्रकारितामार्फत समाजका विविध मुद्दालाई उजागर गर्नुका साथै सामाजिक उत्तरदायित्वका विभिन्न अभियानमा समेत उहाँ सक्रिय रहनुभएको थियो । पोखरेली पत्रकारिताका अध्येता तथा लेखकका रूपमा समेत उहाँको विशिष्ट पहिचान रहेको थियो ।
प्रजातान्त्रिक आन्दोलन तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उहाँले पु¥याएको योगदानको सम्मानस्वरूप विभिन्न संघ–संस्था तथा निकायबाट उहाँ सम्मानित हुनुभएको थियो । यसअघि पोखरा महानगरपालिकाले उहाँलाई ‘पोखरेली नवरत्न सम्मान’ प्रदान गरेको थियो ।
पोखराको पत्रकारिता, शिक्षा र सामाजिक क्षेत्रमा उहाँको उल्लेख्य योगदान रहेको छ । उहाँको निधनमा स्वतन्त्र पत्रकार संघ नेपाल केन्द्रीय समितिका अध्यक्ष कृष्णप्रसाद बास्तोलाका साथै नेपाल पत्रकार महासङ्घ, कास्कीलगायतका संघसंस्थाले शोक विज्ञप्तिमार्फत दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
उहाँले पोखराको विकास र परिवर्तनका लागि पुर्याएको योगदान सधैँ स्मरणीय रहनेछ । स्व. पराजुलीका १ छोरा लोकरन्जन (रमेश) पराजुली र ४ छोरी हुनुहुन्छ ।
सामाजिक सञ्जालमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त भइरहेको छ ।

प्रकाशित मिति २०८३ असार १८, बिहीबार ०७:३१ गते
हजुरको प्रतिक्रिया