पत्रकारद्वय  गुरुङ र अधिकारी पुरस्कृत

पत्रकारद्वय  गुरुङ र अधिकारी पुरस्कृत

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असार १७ गते बिहिबार ०९:३३

तत्कालीन जिल्ला विकास समिति (जिविस) को सहकार्यमा लमजुङका क्रियाशील पत्रकारलाई वर्षेनी प्रदान गर्ने गरी उक्त विकास पत्रकारिता पुरस्कार स्थापना गरिएको हो ।

सो पुरस्कारको राशी १० हजार ५ रुपैयाँ नगद, सम्मानपत्र र दोसल्ला रहेको छ ।

सुन्दरबजार(लमजुङ)– लमजुङका दुई क्रियाशील पत्रकारलाई पुरस्कृत गरिएको छ । नेपाल पत्रकार महासंघ लमजुङ शाखाले सुन्दरबजारमा आयोजना गरेको आफ्नो १७ औं साधारण सभाका अवसरमा असार १७ गते उहाँहरूलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाका निवर्तमान अध्यक्ष परमेश्वर अधिकारी र रेडियो मर्स्याङ्दीकी निर्देशक मिना गुरुङ हुनुहुन्छ । उहाँहरूलाई क्रमशः विकास पत्रकारिता पुरस्कार २०८१ र २०८२ बाट सम्मान गरिएको हो । तत्कालीन जिल्ला विकास समिति (जिविस) को सहकार्यमा लमजुङका क्रियाशील पत्रकारलाई वर्षेनी प्रदान गर्ने गरी उक्त विकास पत्रकारिता पुरस्कार स्थापना गरिएको हो । सो पुरस्कारको राशी १० हजार ५ रुपैयाँ नगद, सम्मानपत्र र दोसल्ला रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका निवर्तमान अर्थमन्त्री डा. टकराज गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुृर गुरुङ, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद खनाल, सभाका अध्यक्ष सन्देश पौडेल लगायतले उहाँहरूलाई सम्मान गरेका हु्न् ।
अधिकारीलाई पत्रकार महासंघको अध्यक्ष रहेर महासंघको जग्गा प्राप्ति र भवन निर्माण समितिको संयोजक रहेर काम गरेकोमा शाखाबाट छुट्टै पनि सम्मान गरिएको थियो ।
पत्रकार महासंघ लमजुङ शाखाको निर्वमान अध्यक्ष अधिकारीले १६ वर्षअघि नेपाल टेलिभिजनबाट पत्रकारिता सुरु गर्नु भएको हो । उहाँ लक्ष्मीनारायण मिडिया हाउस, लमजुङका संस्थापक सञ्चालक पनि हुनुहुन्छ । त्यस्तै, गुरुङ लमजुङको पहिलो रेडियो मस्र्याङ्दीमा स्थापनाकाल २०६४(१९ वर्ष) देखि आवद्ध रहदै आउनु भएको छ । सुरुका दिनमा सम्वाददाता रहेकी उहाँ समाचार वाचिका हुँदै हाल रेडियोको निर्देशकको जिम्मेवारीमा हुनुहुन्छ ।
पुरस्कार ग्रहणपछि अधिकारी र गुरुङले पत्रकारितामा सँगालेका अनुभव सुनाउँदै प्राप्त पुरस्कारले आफूहरूलाई थप उर्जा र प्रेरणा दिएको बताउनु भएको थियो ।
उक्त साधारणसभाको उदघाटन सत्रमा जिल्ला समन्वय समिति लमजुङका प्रमुख पुर्णबहादुर गुरुङ, नगरपालिका तथा गाउँपालिका प्रमुख तथा अध्यक्षहरू जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेत, सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वार्टर लमजुङका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारी तथा राष्ट्रिय अनुसन्धान कार्यालय लमजुङका प्रमुख रामशङ्कर केसीलगायतको उपस्थिति रहेको थियो ।
पत्रकार महासङ्घका जिल्ला अध्यक्ष सन्देश पौडेलको अध्यक्षतामा सञ्चालित सभाको बन्दसत्रमा पत्रकार महासङ्घ अध्यक्ष सन्देश पौडेलले शाखाको वार्षिक प्रगति विवरण कोषाध्यक्ष निरज अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । महासंघका जिल्ला उपाध्यक्ष बसन्ता भट्टले स्वागत गरेको कार्यक्रमको सञ्चालन जिल्ला सचिव कृष्णबहादुर आलेले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८३ असार १८, बिहीबार ०९:३३ गते
हजुरको प्रतिक्रिया