
सुर्खेत– कर्णाली प्रदेश सरकारले कर्णाली नदीमा हिजो खसेर वेपत्ता भएको फोर्स गाडीको खोजी कार्यका लागि गृह मन्त्रालयसँग थप सहयोग र समन्वयको आग्रह गरेको छ । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह मन्त्रालयलाई पत्र लेख्दै असार १९ गते त्यस्तो माग गरेको हो ।
सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र.०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी खोज्नका लागि प्रदेश सरकारले गृहमन्त्रालयसँग सहयोग माग गरेको हो । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका– ७ स्थित कर्णाली राजमार्गको सांगेतडा सडक खण्डबाट सो गाडी कर्णाली नदीमा खसेको थियो । घट्नाको करिब ३० घण्टा वितिसक्दा पनि बसका बारेमा कुनै पत्तो हुन नसकेपछि प्रदेश सरकारले संघ सरकारको गृहमन्त्रालयसँग थप सहयोगको अपिल गरेको हो । उक्त दुर्घट्ना हिजो विहान करिब ११ः३० बजे भएको प्रहरी भनाइ छ ।
दुर्घटनापछि गोताखोर ६ जना सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाको टोली तत्काल घटनास्थलमा परिचालन भई खोज तथा उद्धार कार्य सुरु गरिएको छ । प्रदेश सरकारले हालसम्म एकजना यात्रुको शव फेला परेको उल्लेख गर्दै दुर्घटनाग्रस्त सवारीसाधन र त्यसमा सवार अन्य यात्रुको अवस्था अझै अज्ञात रहेको पत्रमा उल्लेख गरेको छ ।
घटनास्थलमा खटिएको जनशक्ति पर्याप्त नभएपछि खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन थप सहयोग तथा आवश्यक समन्वय गरिदिन प्रदेश सरकारले गृह मन्त्रालयसँग अनुरोध गरेको बताइएको छ ।
सो बसमा के कति यात्रु सवार थिए भन्ने पनि यकिन हुन सकेको छेन । सुर्खेतबाट भने दुई चालक दल(दाजु र भाइ) समेत तीन यात्रको चलान काटिएको खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बीच बाटोमा के कति यात्रु चढेका थिए भन्ने खुल्न सकेको छैन ।
प्रकाशित मिति २०८३ असार १९, शुक्रबार १८:३८ गते