कर्णालीमा खसेको गाडी खोज्न गोताखोर टोलीलाई सोनार क्यामरा र म्याग्नेटसहित परिचालन

कर्णालीमा खसेको गाडी खोज्न गोताखोर टोलीलाई सोनार क्यामरा र म्याग्नेटसहित परिचालन

एजेन्सी

@antaranganews

२०८३ असार १९ गते शनिवार १२:२७

सोही दिनदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर परिचालन गरी खोजीकार्य भइरहेको तर नदीमा पानीको तिब्र बहाव र धमिलो पानीका कारणले उद्धार कार्यले सार्थक रुप लिन सकेको छैन ।

गाडीसँगै बेपत्ता भएकामध्ये चार जनाको पहिचाना खुलेको प्रहरीले जनाएको छ । गाडीमा कति यात्रु थिए भन्ने अझै यकिन भएको छैन ।

साङ्गेताडा(दैलेख)– कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजी गर्न सोनार क्यामरा र म्याग्नेटसहितको टोली पठाइएको छ । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका– ७ साङ्गेताडास्थित कर्णाली नदीमा खसेको गाडी र यात्रुको खोजीका लागि आज तेस्रो दिन सशस्त्र प्रहरी बल नेपालले विशेष उपकरणसहित थप गोताखोर टोली असार २० गते परिचालन गरिदैछ ।
सो टोलीले घटनास्थल पुगेर खोजी आजै उद्धार कार्यमा सहभागी हुने सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट सशस्त्र प्रहरी टोलीसँग पानीमुनि तथा तीव्र बहावमा रहेका वस्तु र सवारीसाधनको खोजीमा प्रयोग हुने सशस्त्र प्रहरीका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताउनुृ भयो । उहाँका अनुसार टोलीलार्ई सोनार क्यामरा, म्याग्नेट लगायतका विशेष उपकरणसहित पठाइएको छ । ती उपकरणको सहायताले नदीको गहिराइमा बेपत्ता गाडी र यात्रुको खोजी गरिनेछ ।
सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको कमाण्डमा चार सदस्यीय गोताखोर टोली घटनास्थलतर्फ १९ गते नै पठाइएको हो ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस तथा सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेतबाट ६ जना गोताखोरसहितको उद्धार टोली परिचालन गरिएको थियो ।
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी असार १८ गते सडकबाट अन्दाजी ६०० सय मिटर तल कर्णाली नदीमा खसेको थियो ।
दुर्घटनाकै दिन घटनास्थलबाट करिब ४ सय मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला पारिएको थियो । तर, गाडी र अन्य यात्रुको अवस्था अझै अज्ञात रहेकाले खोजी कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
चार जनाको पहिचान :
कर्णालीमा गाडीसँगै बेपत्ता भएकामध्ये चार जनाको पहिचाना खुलेको प्रहरीले जनाएको छ ।
कर्णालीमा खसेर हालसम्म गाडीसंगै फेला नपरेकाहरूमा सुर्खेतको पञ्चपुरी नगरपालिका– ८ माझीगाउँका चालक तुलसीराम सुवेदी, उनका सहोदर दाइ रामप्रसाद सुवेदी, कालीकोटको रास्कोट नगरपालिका– २ खड्का गाउँकी सृर्जना खड्का र कालीकोट पाचल झरना गाउँपालिका– ९ का मेखे तिरुवा रहेको बैतडीका प्रवक्ता प्रहरी निरीक्षक पुष्पराज रोकायाले बताउनु भयो । उहाँका अनुसार कालीकोट पाचल झरना गाउँपालिका– ९ का ४५ बर्षीय जेखे तिरुवाको शव भने भीरमा अड्किएको अवस्थामा फेला परेको थियो । उनको शव आफन्तले बुझिसकेका छन् ।
गाडीमा कति यात्रु थिए भन्ने अझै यकिन भएको छैन ।
सोही दिनदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर परिचालन गरी खोजीकार्य भइरहेको तर नदीमा पानीको तिब्र बहाव र धमिलो पानीका कारणले उद्धार कार्यले सार्थक रुप लिन सकेको छैन ।

प्रकाशित मिति २०८३ असार २०, शनिबार १२:२७ गते
हजुरको प्रतिक्रिया