
भूलभूले(लमजुङ)– लमजुङको मर्स्याङ्दी गाउँपालिकाले तयार गरेको ‘हाम्रो मस्र्याङ्दी’ नामक पाठ्यपुस्तकको विमोचन भएको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल र सामाजिक विकास समिति संयोजक एवम् वडा ७ का वडाअध्यक्ष तिलबहादुर गुरुङलगायतले संयुक्त रुपमा पाठ्यपुस्तकको असार २० गते विमोचन गर्नु भएको हो ।
चालु शैक्षिक सत्रदेखि पठनपाठन सुरु गरिएको उक्त पाठ्यपुस्तक २१ औँ गाउँसभाको अवसरमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो । उक्त पाठ्यपुस्तक बारेमा प्रकाश पार्दै गाउँपालिका अध्यक्ष गुरुङले स्थानीय इतिहास, भूगोल, संस्कृति, प्राकृतिक सम्पदा, पर्यटन, आर्थिक गतिविधि, स्थानीय पेशा– व्यवसाय, यातायात तथा भौतिक पूर्वाधार, जीवनोपयोगी सीप रहेको जानकारी दिनु भयो । उहाँका अनुसार सो पुस्तकमा मानव मूल्यमा आधारित शिक्षा, स्थानीय परिकार र समसामयिक विषयबारे विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने उद्देश्यले पाठ्यपुस्तक तयार पारिएको हो ।
उहाँले भन्नुभयो, ‘चालु शैक्षिक वर्षदेखि कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम विस्तार गर्दै त्यसअनुसारको पाठ्यपुस्तक तयार गरिएको हो ।’ यसले विद्यार्थीलाई आफ्नै गाउँ, समाज र परिवेशबारे ज्ञान हासिल गर्न सहयोग पुग्ने विश्वास गरिएको उहाँले उल्लेख गर्नुभयो ।
उपाध्यक्ष जुनामाया थापाले पाठ्यपुस्तकले विद्यार्थीमा आफ्नै गाउँ, समाज र संस्कृतिप्रति गर्व, अपनत्व र जिम्मेवारीको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नु भयो । आधारभूत तह कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको गाउँपालिकाले जनाएको छ ।
यसअघि गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार गरी कक्षा १ देखि ५ सम्म पठनपाठन सुरु गरिेको थियो । अहिले गाउँपालिकाभित्रका ५५ विद्यालयमा ‘हाम्रो मर्स्याङ्दी’को पठनपाठन भइरहेको गाउँपालिकाले जनाएको छ ।
पालिकाका बारेमा गहिरो अध्ययन, छलफल र सुझावका आधारमा स्थानीय पाठ्यक्रमको मापदण्डअनुसार पुस्तक तयार गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए । उनका अनुसार भूमिदत्त पौडेलको लेखन संयोजनमा तयार भएको पुस्तकको सम्पादन ऋषिराम श्रेष्ठ, इश्वरबाबु पाण्डेलगायतले गर्नु भएको हो ।
पाठ्यपुस्तकमा गाउँपालिकाको इतिहास, भूगोल, पर्यटकीय तथा धार्मिक स्थल, संस्कृति, रहनसहन, भेषभूषा, विशिष्ट व्यक्तित्व, कृषि, वन पैदावार, जडीबुटी, खनिज पदार्थ, प्राकृतिक स्रोत, पशुपालन तथा स्थानीय कला–संस्कृतिसम्बन्धी विषय समेटिएको गाउँपालिकाले जनाएको छ ।
सामाजिक विकास समिति संयोजक तिलबहादुर गुरुङले स्थानीय ज्ञान, पहिचान र गौरवलाई विद्यालय शिक्षासाग जोड्ने यो प्रयास गाउँपालिकाको शिक्षा क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको बताउनु भयो ।
जम्मा आठ इकाईमा विभाजन गरिएको ‘हाम्रो मर्स्याङ्दी’ पुस्तक कक्षा– १ कोमा एक ९ पेज रहेको छ भने कक्षा– ८ का लागि २०९ पेजमा छपाई भएको सो पुस्तक लेखनमा जुटेका प्रभात शान्तिपूर्ण माविका प्रधानाध्यापक ईश्वरबाबु पाण्डेले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति २०८३ असार २०, शनिबार १६:४७ गते