नेवार समुदायद्वारा निर्मित घाट सार्वजनिक प्रयोगमा उपयोग गर्न सकिने

नेवार समुदायद्वारा निर्मित घाट सार्वजनिक प्रयोगमा उपयोग गर्न सकिने

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असार २१ गते सोमबार ०७:२६

बेसीशहर(लमजुङ)– जिल्ला सदरमुकाम बेसीशहरका स्थानीय नेवार समुदायले सार्वजनिक घाट निर्माण गरेका छन् । बेसीशहर नेवार समाजको पहल तथा सक्रियतामा बेसीशहर नगरपालिका– ७ स्थित भोटेफाँट जाने पुल नजिक मस्र्याङदी किनारमा दाहसंस्कारको लागि...

बेसीशहर(लमजुङ)– जिल्ला सदरमुकाम बेसीशहरका स्थानीय नेवार समुदायले सार्वजनिक घाट निर्माण गरेका छन् । बेसीशहर नेवार समाजको पहल तथा सक्रियतामा बेसीशहर नगरपालिका– ७ स्थित भोटेफाँट जाने पुल नजिक मस्र्याङदी किनारमा दाहसंस्कारको लागि घाटको निर्माण कार्य हालै पुरा भएको हो ।
सार्वजनिक दाहसंस्कार स्थलको अभाव हटाउने उद्देश्यले सो घाट निर्माण गरिएको निर्माताहरूको भनाइ छ । नेवार समाजको अगुवाइमा निर्माण गरिएको भए पनि यो घाट कुनै एक समुदायमा सीमित नभई सबै समुदायका नागरिकले प्रयोग गर्न सक्ने सार्वजनिक रुपमा सञ्चालन गर्न सकिने निर्माण समितिका कोषाध्यक्ष ईश्वरप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार लामो समयदेखि बेसीशहरमा व्यवस्थित सार्वजनिक दाहसंस्कार स्थलको अभाव हुँदा स्थानीयवासीले विभिन्न कठिनाइ भोग्दै आएका थिए, त्यो अभाव हटाउनका लागि घाट निर्माण गरिएको हो ।
उक्त घाट निर्माणका लागि नेवार समुदायका दाताबाट जम्मा २४ लाख ३४ हजार २ सय २ रुपैयाँ आर्थिक सहयोग संकलन गरिएको कोषाध्यक्ष ईश्वरप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार त्यसमध्ये घाट निर्माणमा १९ लाख ७८ हजार ५ सय ५५ रुपैयाँ खर्च भएको छ । उहाँले भन्नुभयो, ‘निर्माणपछि बाँकी रहेको रकममध्ये २ लाख रुपैयाँ घाट नजिकै रहेको शिव मन्दिरको पुनर्निर्माणका लागि छुट्याइएको छ ।’ त्यसबाट पनि बचेको रकम भोलिका दिनमा घाटको मर्मत–सम्भार तथा आवश्यक पूर्वाधार विस्तारमा खर्च गरिने उहाँको भनाइ छ ।
करिब एक सय १७ जना दाताले स्वेच्छिक रुपमा आर्थिक सहयोग गरेका थिए । बेसीशहर क्षेत्रमा दुई सयभन्दा बढी नेवार परिवारको बसोबास रहे पनि सबैको सहयोग, सहकार्य र सहभागिताबाट योजना सफलतापूर्वक सम्पन्न भएको समितिले जनाएको छ ।
घाट निर्माणका लागि आवश्यक रकम बेसीशहर क्षेत्रका नेवार समुदायको सक्रिय सहभागितामा संकलन गरिएको थियो । दाहसंस्कार कार्यलाई सहज, व्यवस्थित र सुरक्षित बनाउन आवश्यक पूर्वाधारसहित घाट निर्माण गरिएको समितिको भनाइ छ ।
घाट निर्माणका क्रममा जग्गा व्यवस्थापनमा सहजीकरण गर्दै महत्वपूर्ण योगदान पु¥याउने सम्पूर्ण सहयोगी दाता, शुभेच्छुक तथा सहयोगी संस्थाप्रति समितिले कृतज्ञता व्यक्त गरेको समेत कोषाध्यक्ष श्रेष्ठले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति २०८३ असार २२, सोमबार १९:२६ गते
हजुरको प्रतिक्रिया