
काठमाडौं– नेपाली कांग्रेस विभाजनको अन्तिम संघारमा उभिएको छ । असार २२ गते संस्थापन इतर पक्षले यहाँ स्थित चुनदेवीमा सम्पर्क कार्यालय उद्घाटन गरेसँगै औपचारीक विभाजनको प्रतिक्षा गरिएको छ । अब बन्ने नयाँ दलको नाम राष्ट्रिय कांग्रेस राख्ने र चुनाव चिन्ह शंख राख्ने भन्ने सम्मको स्थिती असार २३ गते बाहिरिएको छ ।
पार्टीको संस्थापन इतर समूहका नेता–कार्यकर्ताले शीर्ष नेतृत्वलाई निर्णायक कदम चाल्न दबाब दिएका छन् । इतर समुहले काठमाडौंको चुनदेवीमा स्थापित सम्पर्क कार्यालयमा बसेको बैठकमा सहभागी प्रदेश सभापति, पूर्वकेन्द्रीय सदस्य, पालिका सभापतिलगायत नेताहरूले अब पार्टी विभाजनको विषयमा खुट्टा नकमाई अघि बढ्न नेतृत्वलाई दबाब दिएका हुन् । उनीहरूले पार्टी फुटाउन नसक्ने अवस्था आए चुप लागेर बस्नुभन्दा ‘चन्दन घसेर बस्न’ समेत भनेका थिए ।
संस्थापन पक्षले सिनियर नेताहरूको क्रियाशील सदस्यता अध्यावधिक गर्न अनुमति माग्ने तयारी गरेको बताएको छ । क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक तथा महामन्त्री प्रदीप पौडेलले आफूहरूभन्दा सिनियर नेताहरूको सदस्यता ‘डिजिटल्ली अध्यावधिक’ गर्न अनुमति मागिने जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीका लागि लामो समय योगदान दिएका नेताहरूको सदस्यता अध्यावधिक गर्न अनुमति लिएपछि संस्थापन पक्षले नै प्रक्रिया पूरा गरिदिनेछ । अनुमति माग्न महामन्त्री पौडेल आफैं ती नेताहरूलाई भेट्ने तयारीमा हुनुहुन्छ । संस्थापन पक्षले पछिल्लो पटक साउन ३ गतेसम्म अनुमति लिएर सदस्यता अध्यावधिक गर्ने योजना अघि सारेको जनाएको छ । सो अवधिसम्म पनि अद्यावधिक नभए त्यस्ता नेताहरूलाई विधानले नचिन्ने चेतावनीसमेत त्यो पक्षले दिएको छ ।
पार्टी सदस्यता अध्यावधिक गर्नुपर्ने नेताहरूमा पूर्णबहादुर खड्का, डा. शेखर कोइराला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला र डा. प्रकाशशरण महत लगायत हुनुहुन्छ । संस्थापन पक्षका अनुसार करिब २५ हजार क्रियाशील सदस्यहरूले मात्रै सदस्यता नविकरण गर्न बाँकी रहेको बताएको छ । इतर समूहले भने त्यो भनाइलाई ठाडै इन्कार गरेका छन् ।
हाल कांग्रेसभित्र १४औँ महाधिवेशनका प्रतिनिधिको मान्यता, केन्द्रीय सदस्यहरूको समायोजन तथा सदस्यता अध्यावधिक जस्ता विषयहरूमा विवाद रहेकाे छ । विशेष महाधिवेशनपछि चुलिएको यो विवाद अझै समाधान हुन सकेको छैन ।
पार्टीमा विभाजनको दबाब बढिरहेको बेला संस्थापन पक्ष सदस्यता प्रक्रियाबाट संगठनलाई नियन्त्रणमा राख्न उद्दत रहेको देखिन्छ भने इतर पक्ष त्यो स्थितीलाई स्वीकार गर्न तयार देखिदैन ।
इतर समूहले विशेष महाधिवेशनबाट आएको नेतृत्व र निर्णयहरूलाइ अस्वीकार गर्दै आएको छ भने संस्थापन पक्षले नयाँ प्रक्रियाबाट सदस्यता अद्यावधिक अनिवार्य भएको दावी गर्दै आएको छ ।
विशेष महाधिवेशन पचाउन नसकेका पक्षले अर्को पार्टी खोल्ने निर्णयमा पुग्ने अन्तिम चरण बाँकी रहेको छ । १४ औं महाधिवेशनबाट सभापति लगायतका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू बनेका साथै विभिन्न तहको जिम्मेवारीमा रहेकाहरूलाई पार्टीको नयाँ परिस्थिती स्वीकार्न कठिन भएको बताइन्छ ।
इतर समुहको बैठकमा नयाँ पार्टी खोल्नु पर्ने भन्दै नेताहरूलाई दबाव मुलक धारणा राख्नेहरूमा पूर्वकेन्द्रीय सदस्य शिव हुमागाईं, पूर्वकेन्द्रीय सदस्य गुरु बराल, सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, कुन्दन काफ्ले, महेन्द्र सुब्बा लगायत हुनुहुन्छ ।
सो सम्बन्धमा नेता विमलेन्द्र निधिले भन्नुभयो, ‘विशेष महाधिवेशनबाटै पार्टी विभाजन भइसकेको हो, शेखरजीले २५ गतेसम्मको समय दिनुभएको छ, मिलाउने हो भने मिलाउनुस्, नभए अलग–अलग हुन्छ ।’ निधिले फुटिसकेको पार्टीलाई इतर समूहले मिलाउने प्रयास गरिरहेको उल्लेख गर्नुभयो । उहाँले थप भन्नुभयो ‘निर्वाचन आयोग र अदालतले पनि कांग्रेस फुटाइसकेका छन् ।’
इतर समूहको बैठक असार २४ गते पुनः बस्ने भएको छ । इतर समुहको कार्यालय उद्घाटन र बैठकमा डा. शेखर कोइराला अनुपस्थित भएकोप्रति समेत बैठकमा टिप्पणी गरिएको बताइएको छ ।
प्रकाशित मिति २०८३ असार २३, मंगलवार २०:३१ गते