भोर्लेटार(लमजुङ)– लमजुङमा प्रहरीले बेवारिसे अवस्थामा जंगलबीच लुकाई राखिएका एकनाले भरुवा बन्दुकका पाँच थान बरामद गरेको छ । लमजुङको मध्यनेपाल नगरपालिका– ६ को भोर्लेटार नजिकै रहेको काँडेपानी सार्वजनिक जंगलबाट ती भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालयले असार २६ गते जनाएको हो ।
लमजुङको मध्यनेपाल नगरपालिका– ६ भोर्लेटार नजिकै रहेको लामासोती पाखाको काँडेपानी सार्वजनिक जंगलबाट प्रहरीले बेवारिसे अवस्थामा पाँच थान एकनाले भरुवा बन्दुक बरामद गरेको प्रहरी भनाइ छ । ती बन्दुक इलाका प्रहरी कार्यालय भोर्लेटारबाट खटिएको प्रहरी टोलीले नियमित गस्तीका क्रममा जंगल क्षेत्रमा लुकाइछिपाइ राखिएको अवस्थामा ती बन्दुक २५ गते साँझ फेला पारेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले बताउनु भयो । उहाँका अनुसार बरामद गरिएका सबै बन्दुक हाल इलाका प्रहरी कार्यालय भोर्लेटारको नियन्त्रणमा राखिएको छ । उहाँले भन्नुभयो, ‘ती बन्दुकहरू कसले, किन र कुन उद्देश्य प्राप्तिका लागि त्यो स्थानमा लुकाएर राखेको हो ? भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’

घटनामा संलग्न व्यक्तिको पहिचान भएपछि हातहतियार तथा खरखजाना सम्बन्धी कसुरअन्तर्गत कानुनी कारबाही अघि बढाइने जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । त्यस बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
ती बन्दूकको हालको प्रचलित मूल्य के कति होला ? भन्दै राखिएको जिज्ञासामा जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारीले मूल्य थाहा नहुने बताउनु भयो । बन्दूकको मूल्य नै थाहा नभए पनि त्यसको विगो के कति कायम गरी मुद्दा चलाइएको हो त्यो भने कौतुहलको विषय बनेको छ ।
यसैबीच, जिल्ला प्रशासन कार्यालयमा रहेको हातहतियारको तथ्यांक पनि चुस्त हुन नसकेको स्रोतले जनाएको छ । कुनै बन्दुक एक व्यक्तिबाट अर्को व्यक्तिले खरिद गर्दा पनि फायल भने दुवै बन्दुकको रहने गरेको छ । एक व्यक्तिबाट अर्को व्यक्तिको नाउँमा सरेको बन्दूकको एकिन तथ्यांक दुरुस्त गर्न सकिएको स्थिति छैन सो कार्यालयका एक अधिकृतले बताए ।
प्रकाशित मिति २०८३ असार २६, शुक्रबार २०:२० गते