काठमाडौं– मुगुका २५ बर्षीय गणेश नेपाली आत्मदाह प्रकरणका नयाँ नयाँ घट्नाक्रमको उजागर भइरहेको छ । प्रतिनिधिसभामा सांसदहरूले राखेको प्रश्नमा जबाफ दिँदै गृहमन्त्री सुधन गुरूङले नेपालीले आत्मदाह गरेको घटनामा उनको मोटरसाइकलमा ह्विल लक लगाउने काम ट्राफिक प्रहरी नभई नगर प्रहरीबाट भएको असार २६ गते बताउनु भएको छ ।
गणेश नेपालीले गरेको आत्मदाहको विषयले संसद् बैठक स्तब्ध भएको थियो । बोल्ने सबैजसो सांसदले नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गरे । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले त एक मिनेट मौनधारण गर्नु भयो ।
सांसदहरूले राखेको प्रश्नमा जबाफ दिने क्रममा गृहमन्त्री सुधन गुरूङले भन्नुभयो, ‘जुन ठाउँमा घटना भयो, त्यो ठाउँमा ट्राफिकले ह्विल लक लगाएको होइन । कुनै भिडिओमा छ ट्राफिकले लगाएको ? नगर प्रहरीले लगाएको छ ।’ ‘यतिबेला स्थानीय सरकार कसको छ अहिले ? रास्वपाको छ ? प्रदेश सरकार कसको छ ? दुई तहको सरकार त तपाईंहरूसँग छ । यो नियम कानुन हामीले बनाएको हो ?’ विपक्षीहरूको प्रश्नमा गृहमन्त्रीको प्रतिप्रश्न गर्नु भएको थियो ।
उहाँले गणेशले आत्मदाह गरेको घटनामा छानबिन गर्न समिति गठन गरेको सदनलाई जानकारी दिनु भयो । उहाँका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी गोविन्द थपलियाको संयोजकत्वमा ५ सदस्यीय समिति बनाइएको छ ।
घटनाको अनुसन्धान गर्न तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिइएका दुई जना महिला नगर प्रहरी र एक जना पुरूष नगर प्रहरी छन् ।
त्यसो त नेपालीको आत्महत्याको विषयलाई हेर्ने नजर सांसदहरूका फरक–फरक थिए । विपक्षी दलका सांसदहरूले गणेश नेपालीको दैनिकी, युवापन र गरिबीसँग जोडेर सरकारप्रति प्रश्न उठाए । सत्तापक्षले मानसिक स्वास्थ्यको विषय उठाएका थिए ।
सबैको सार नेपालमा युवाले भविष्य देख्न सक्नुपर्छ, नेपालकै रोजगारीका अवसर पाउनुपर्छ भन्ने थियो । तर राज्यले लिने ट्राफिक जरिवानाको विषयमा दुवैथरी तर्क आए ।
नेकपा एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले सरकारले अत्याधिक ट्राफिक जरिवानाका कारणले समेत गणेश नेपालीले आत्मदाह गरेको र यसको जिम्मेवारी सरकारले लिनुपर्ने उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले २०७९ साल माघ १० गते प्रेम आचार्यले नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि गरेको आत्मदाह उदाहरण त्योबेला वर्तमान प्रधानमन्त्री बालेन शाह काठमाडौं महानगरपालिकाका मेयर छदा बालेनले आचार्यको आत्मदाहमा राज्यको नीति जोडिएको भनेर स्टाटस लेखेको स्मरण गराउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले त्यसबेलाको बालेन शाहको स्टाटस पढेरै सुनाउनु भएको थियो ।
त्यो बेला बालेनको प्रतिक्रिया थियो, ‘एकजना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एकजना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एकजना नागरिक संसद भवनको अगाडि आफुमाथि पेट्रोल खन्याएर निराशा पोख्छन् । त्यो निराशाका कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो । र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो ।’ यो बुझाइमा अहिले पनि हो वा फेरियो ? भन्दै नेता पुनले प्रधानमन्त्रीलाई प्रश्न गर्नु भएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले मानसिक तनावका कारण गणेश नेपालीले आफ्नो शरिरमा पेट्रोल खन्याएर आत्महत्या गर्न प्रयास गरेको’ बताउनु भयो ।
गृहमन्त्री गुरूङको ‘क्वीक रेसपोन्स’ रोष्ट्रममै भावुक :
२५ वर्षीय एक युवाले आत्मदाह गरेको र यो विषयमा संसद्मा उठेको प्रश्नमा तत्कालै जवाफ दिन गृहमन्त्री सुधन गुरुङ तयार हुनुभयो । सभामुख डोलप्रसाद अर्यालसँग समय मागेर घटनाको विवरण, सरकारले गरेको प्रयास र सरकारको प्राथमिकता प्रष्ट्याउनु भएको थियो । सांसदहरूले सो घट्नामा सरकारसँग जवाफदेहीता खोजेर गरेका प्रश्नमा भने मन्त्रीले प्रतिप्रश्न गर्नुभयो । तर गृहमन्त्री सुधन गुरूङ संसदको रोष्ट्रममै भावुक बन्नुभयो ।
‘सम्माननीय…’ भनेर थप अघि बढ्न सक्नु भएन । बोल्न नसकेपछि गृहमन्त्री प्रतिनिधि सभा बैठकको हलबाट बाहिरिनु भयो । हल छाडेर बाहिर गएपछि कानुन मन्त्री सोबिता गौतमले उहाँलाई फिर्ता बोलाउनु भएको थियो ।
गृहमन्त्रीले भन्नुभयो, ‘आज म यहाँ बोल्न आएको । मैले धेरै साथीभाइ देखेँ, माननीय ज्यूहरू उठेर घाँटी सुक्ने गरी चिच्चाई राख्नुभएको थियो, मैले देखेँ, यहाँ त्यस्तो भन्दै गर्दा हामी गृह मन्त्रालयमा बसेर के गर्ने होला ? कसरी गर्ने होला ? कसरी उहाँहरूलाई सान्त्वना दिने होला ? के–के गर्ने ? कसरी मिलाउने होला ? भनेर सोच्ने एउटा टिम बनाएर छलफल गरिरहेका थियौं ।’
सांसदहरूलाई गृहमन्त्री सुधनले ‘कराएर जनताको सेवा नहुने’ जवाफ फर्काउनु भएको थियो । उहाँले संसद्मा प्रश्न गर्ने सांसदलाई प्रतिप्रश्न गर्दै भन्नुभयो, ‘म यो सम्मानित सदनलाई सभामुख मार्फत सोध्न चाहन्छु, कति जना हुनुहुन्थ्यो हिजो त्यो हस्पिटलमा ? तपाईंहरू जति जनालाई घाँटी चिच्याएर कराउनु भइरहेको छ यहाँ । ?’ गृहमन्त्रीले थप भन्नुभयो, ‘यहाँ सदनमा चिच्याएर कराएर मात्र हुँदैन । म जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन’ उनले पूराना दलहरूप्रति कटाक्ष गरे, ‘त्यो मुखले बोलेको ५० औं वर्ष भइसक्यो । हामीले हातले गर्नु पर्छ । आफ्नो जनताको सेवा ठाउँमा गएर गर्नु पर्छ । उहाँहरूको पीडाको ठाउँमा बुझेर गर्नुपर्छ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री गुरुङ गणेश नेपालीलाई बचाउने सन्दर्भमा गृहमन्त्री गुरुङ गम्भीर नभएको टिप्पणी गर्नु भएको थियो । शाहीले भन्नुभयो, ‘गृहमन्त्रीज्यूलाई भन्न चाहन्छु तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर हो ? गृहमन्त्रीले फ्लिमको नायक जस्तै मिडिया घेरेर, चलचित्रको नायक जस्तै कहिले एयरपोर्ट, कहिले कता, कहिले उता दौडिरहनुभएको थियो पुरै क्यामेरा बोकेर ।’ गणेश नेपालीको साँच्चै उपचार गर्ने सरकारको उद्देश्य थियो भन्ने प्रश्न समेत शाहीको थियो ।
गृहमन्त्री सुधनले गणेश नेपालीलाई बचाउन रातभर खटेको स्मरण गर्दै भन्नुभयो, ‘त्यसलाई तपाईंहरू स्टन्टबाजी भनेर भन्नुहुन्छ । मलाई इच्छा छैन यहाँ कसैको लागि स्टन्टबाजी गर्न । म आफ्नो देशको सेवा गर्न आएको हो, जानी नजानी अन्जानमा होस् । आफूले सक्ने नसक्ने गरेर हातमा पानी राखेर बिस्तारै हिँड्दै हिँड्दै यहाँसम्म आएको हो, पोखिएलाकी देश दुर्घटनामा जालाकी भनेर । त्यसलाई तपाईंले स्टन्ट बाजी भनेर भन्नुहुन्छ ?’ गृहमन्त्रीले थप भन्नुभयो, ‘एउटा मन्त्रीको हैसियतले एउटा नागरिकको लागि हामी हिजो रातभरि खट्यौं । मेरो यत्तिकै यो आँसु झरेको छैन । किनभने आफूले अथाक प्रयास गर्दा गर्दा पनि नहुँदाखेरी त्यो चित्तै नबुझ्ने रहेछ ।’
गृहमन्त्रीका अनुसार गणेश नेपालीलाई बचाउन राज्यका सबै संयन्त्र लागेका थिए । गणेश नेपालीलाई एयरपोर्टसम्म सेफ ट्रान्सफर गर्न रातभर नेपाल प्रहरी, ट्राफिक प्रहरी बाटोभरी उभिएर बसे ।
गृहमन्त्री अस्पताल पुग्नु भयो । सबै स्पेसलिस्ट डाक्टरहरू बोलाए । पैसाको टेन्सन नलिएर उपचारमा मात्रै सोच्न सुझाए । भारत लैजानका लागि तयारी गरेर समन्वय गर्नुभएका गृहमन्त्री सुधनले भारत लैजाने तयारी भएको प्रष्ट्याउनु भयो । आफ्नो यस्तो खटाइलाई स्टन्टबाजी भनिएकोमा गृहमन्त्री सुधनले चित्त समेत दुखाउनु भयो ।
संसदीय ममर्यादाको स्मरण गराउँदै महानगरप्रति लक्षित :
यसैबीच, गणेश नेपालीको आत्मदाहको सन्दर्भमा सांसदहरूले जे जति सन्दर्भ जोडेर प्रश्न उठाए ती तीन तहको सरकारसँग सम्बन्धित रहेको गृहमन्त्री गुरुङले स्थानीय र प्रदेश सरकारको जिम्मेवारी देखाउनु भयो । उहाँले भन्नुभयो, ‘अब आज म यो सम्मानित सदनमा तपाईंहरूलाई सरकार कसरी सञ्चालन हुन्छ ? म सिकाउन चाहन्छु । हाम्रो तीन तहको सरकार हुन्छ । एउटा संघीय सरकार भयो । एउटा प्रदेश सरकार भयो । र एउटा स्थानीय सरकार भयो ।’
त्यो घट्नामा संघीय सरकार कति जिम्मेवार थियो भन्ने प्रश्न गर्दै भन्नुभयो, ‘जुन ठाउँमा घटना घट्यो । त्यो ठाउँमा ट्राफिकले ह्विल लक गरेको हैन, ट्राफिकले ह्वील लक गरेको हैन । कुनै भिडियो मा छ ट्राफिकले लगाएको त्यसमा ?’ गृहमन्त्री गुरुङले भने, ‘नगर प्रहरीले ह्वील लक लगाएको छ ।’
उहाँले विपक्षी दलका सांसदहरूले जानीजानी प्रश्न गरेको भनेर संसदीय मर्यादाको प्रश्न पनि उठाउनु भयो ।
गृहमन्त्री गुरुङले ट्राफिक जरिवाना कति लिने भनेर कसले नियम बनाएको भनेर प्रश्नकर्ता सांसदहरूलाई नै सोधे, ‘यो नियम÷कानुन (ट्राफिक उल्लंघन सम्बन्धी नियम÷कानुन) कसले बनाएको ? कालो सिसा लगायो । त्यो कालो सिसा लगाउन नपाउने नियम हामीले कोरेका थियौ ? तपाईंहरुले बनाएको नियम हामीले पालना मात्र गराएको हो’ उहाँको प्रतिप्रश्न थियो ।
उहाँले थप भन्नुभयो, ‘कति कुराहरू तपाईंहरूले जानेर अबुझ गर्नुभएको छ । धेरै भयो मैले सहेको, यो सम्मानीत सदनलाई एउटा रेस्पेक्टेड भिउ पोइन्टबाट हेर्नु पर्छ, यसमा बोल्दा एकदम मर्यादा राखेर बोल्नु पर्छ भनेर आएको । तर घुटकन भैसक्यो ।’
देश राम्रो होला भनेर लडेर आएर सरकारमा रहेर काम गर्दै गर्दा विपक्षी दलबाट भएको व्यवहारबाट कहिलेकाहीँ गाह्रो भएको उहाँले उल्लेख गर्नु भयो । विपक्षीप्रति रोष व्यक्त गर्दै भन्न्ुभयो, ‘हामीहरू सबै युवाहरू एउटा आशाले लडेका थियौं । आज आएर विपक्षी दलका जतिजना मित्रहरू हुनुहुन्छ, जतिजना राजनीतिज्ञहरू हुनुहुन्छ, देश चलाएर ५० औं वर्ष राज गरेका माननीय ज्यूहरूबाट हामीले सिक्नु पर्नेमा आज हामीले यो स्थिति देख्न पाइरहेका छौं ।’
गृहमन्त्रीले विपक्षीका सांसदहरूले व्यक्तिगत भेट्दा राम्रो गरेको भन्ने तर संसद्मा अर्कै तरिकाले प्रश्न गर्ने गरेको भन्दै गृहमन्त्रीले यस्तो दोहोरो नीति नअपनाउन विपक्षी दलहरूलाई सुझाउनु भएको छ । गुरुङले भन्नुभयो, ‘त्यो पर्दा पछाडिको खेल हामीलाई मन पर्दैन ।’
प्रकाशित मिति २०८३ असार २७, शनिबार ०९:२६ गते