
लमजुङ– प्रेस चौतारीका केन्द्रीय अध्यक्ष पत्रकार गणेश पाण्डे पाँच दिनदेखि जिल्ला सदरमुकाम बेसीशहरमा हु्नुहुन्छ । अचेत हजुरआमाको उपचारका लागि उहाँ पछिल्ला पाँच दिनदेखि असार २८ गतेसम्म यहाँ रहनु भएको हो ।
पत्रकार पाण्डेकी हजुरआमा (मावलतर्फकी) झेलकुमारी सिलवाल विरामी हुनुभएका कारण यहाँ स्थित प्रदेश अस्पताल लमजुङमा भेन्टिलेटरमा राखेर उहाँको उपचार चलिरहेको छ । सिलवाल ८४ वर्षकी हुनुहुन्छ । पछिल्ला १३ वर्षदेखि झेलकुमारी सिलवाल आफ्नी एकमात्र छोरी शान्ताकुमारी पाण्डे तथा नाति एवम् पत्रकार गणेश पाण्डेका साथमा कहिले काठमाडौं, कहिले बेसीशहर गर्दै बस्दै आउनु भएको छ । उहाँको स्थायी बसोबास बेसीशहर नगरपालिका– ११ को कार्कीडाँडा हो । सिलवालकी छोरीतर्फ दुई जना नाति पत्रकार गणेश पाण्डे जेठो र रामचन्द्र पाण्डे कान्छो नाति हुनुहुन्छ । 
आफ्नो गृह जिल्लाबाट पत्रकारितामा प्रवेश गर्नु भई जिल्लामै रहेर त्यो क्षेत्रमा एक खालको उचाई प्राप्त गर्नु भएका पाण्डे सशस्त्र द्वन्द्वकालमा सुरक्षा निकायको तारो बन्नु् भएको थियो । त्यही कारणले उहाँ राजधानी काठमाडौंतर्फ लाग्न बाध्य हुनु भयो । यतिबेला संघीय राजधानीमा रहेर पत्रकारिताका साथमा उहाँले चलचित्र निर्माताका रुपमा समेत आफ्नो परिचय स्थापित गर्न सफल हुनुहुन्छ । पत्रकारितामा यतिबेला एकखालको सफलताको उच्च श्रेणी (प्रेस चौतारीका केन्द्रीय अध्यक्ष) उहाँले हासिल गर्नु भई पत्रकारिताको गरिमा उठाउने कार्यमा सक्रियपूर्वक लागि पर्नु भएको छ । पछिल्ला दिनमा नेपाल सरकारले व्यवहारिक रुपमा अपनाइरहेको ‘सञ्चारमाध्यमप्रति संकुचन गर्ने नीति’प्रति पाण्डेले निकै चिन्ता व्यक्त गर्नु भएको छ ।
झेलकुमारी सिलवालका छोरा पनि एकजना मात्र हुनुहुन्थ्यो– स्व. रामजी सिलवाल । सशस्त्र द्वन्द्वकालमा भूमिगत रहनु भएका उहाँको २०६५ सालमा निधन भएको हो । भूमिगत कालमै विरामी हुनुभएका उहाँलाई शान्ति सम्झौतापछि माओवादी पार्टीले पनि खासै वास्ता गरेन, अन्ततः राम्रो उपचार पाउन नसकेकै कारणले उहाँको निधन हुन गएको थियो । सिलवालका पनि एक छोरा र छोरी तथा श्रीमती हुनुहुन्छ ।
पत्रकार पाण्डेकी हजुरआमा झेलकुमारी लामो समयदेखि मुटुको समस्याबाट पीडित हुनुहुन्थ्यो भने पछिल्ला सातामा उहाँको छातीमा समेत समस्या देखिएको छ । अचेत अवस्थामा उहाँको उपचार यहाँ स्थित प्रदेश अस्पतालमा भेन्टिलेटरमा चलिरहेको छ ।
चुरोटको निकै सौखिन रहनु भएकी झेलकुमारीमा मुटुको समस्या देखिन थाले पछि डा. भगवान कोइरालाको काउन्सिलिङ पाएर उहाँले चुरोट छाड्नु भएको पनि १० वर्ष भइसकेको छ । तर पनि उहाँ बढी ग्रस्त हुनुमा त्यसबेलाको धुमपानको प्रभाव बाँकी हुनु पनि हुन सक्ने देखिएको छ ।
करिब एकसाता यता अचेत अवस्थामै झेलकुमारीले जीवन र मृत्युसँग पैठेजोरी खेलीरहनु भएको छ । ‘सास छउञ्जेल आश’ भनिन्छ तर पनि उपचाररत उहाँको स्वास्थ्यमा चमत्कार भएमात्र सुधार हुने स्थिति रहेको चिकित्सकको भनाइ छ ।
प्रकाशित मिति २०८३ असार २८, आईतवार १९:१९ गते