
बेसीशहर– लमजुङमा २१३ औं भानु जयन्तीमा कविता प्रतियोगिता गरिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले सो प्रतियोगिताको उदघाटन गर्दै कला, संस्कृति, साहित्य अमूल्य निधि, नयाँ पुस्तामा हस्तान्तरण जरुरी छ असार २९ गते भन्नु भएको हो । सो प्रतियोगिता स्थानीय लक्ष्मीनारायण सामुदायिक पुस्तकालयले आयोजना गरेको हो ।

कविता प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गर्दै प्रजिअ खनालले प्रमुख आतिथ्य मन्तव्यका क्रममा कला, साहित्य, संस्कृति देशका अमूल्य निधि भएको बताउनुभयो । यिनलाई बचाएर नयाँ पुस्तामा हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी र कर्तव्य हो उहाँले भन्नुभयो । भानुको जन्म छिमेकी जिल्ला र मावली यही जिल्ला भएको हुँदा पनि हाम्रो भानुप्रति बढी लगाव हुनु स्वभाविक हुन्छ भन्दै उहाँले पछिल्ला वर्षमा अनुशासन, नैतिक शिक्षा, माया ममता जस्ता कुरा पातलिदै गएकोमा चिन्ता व्यक्त गर्नु भयो । उहाँले पठन संस्कृति विकसित देशमा आज पनि विद्यमान छ, त्यहाँ आज पनि पुस्तकालयमा गएर अध्ययन गर्ने, रेल यात्राका क्रममा अध्ययन गर्ने बानी छ तर हाम्रोमा यो विषयमा पनि कमी देखिन थालेको छ तर अध्ययन आवश्यक छ भन्नुभयो । यो कार्यक्रममा पनि विद्यार्थीहरूलाई बढी सहभागिता गराउन सकेको भए बेस् हुने थियो उहाँले सुझाउनु भयो । हामी हाम्रा सांस्कृतिक अमूल्य सम्पदाको पुस्तान्तरणमा लागौं उहाँले जोड दिदै दोहोर्याउनुभयो ।
अर्को एक प्रसङ्गमा उहाँले आयोजक पुस्तकालयको संरक्षण र प्रवर्द्धनका लागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रमका विशेष अतिथि एवम् बेसीशहर नगरपालिका– ८ का वडाध्यक्ष पवित्रा थापा रानाले शुभकामना मन्तव्यका क्रममा साहित्य बिनाको समाज अधुरो हुन्छ भन्नुभयो । उहाँले मानवजीवनमा साहित्यको विशेष महत्व छ भन्नुहुँदै विकृतिका विरुद्धको हतियार पनि हो साहित्य भन्ने उल्लेख गर्नु भयो । उहाँले समाज रुपमान्तरणमा समेत साहित्यको महत्वपूर्ण भूमिका हुन्छ भन्ने बताउनु भयो । सो अवसरमा उहाँले भजन गाएर आफ्नो मन्तव्य अन्त्य गर्नु भएको थियो ।
आयोजक पुस्तकालयका अध्यक्ष नाराइनबहादुर सुयलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उहाँले भानुभक्तप्रति श्रद्धाञ्जली अर्पण गर्नु भयो । खास गरी आयआर्जन समूहसँग जोडिनु भएका महिला सदस्यहरूको सीप, ज्ञान, क्षमता अभिबृद्धिका लागि पुस्तकालयले प्राथमिकतामा राखेर काम गरिआएको र भोलिका दिनमा पनि सोही अनुसार अघि बढ्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नु भयो । उहाँले उक्त पुस्तकालयको स्थापनाकालीन इतिहासको स्मरण गर्दै त्यो बेलामा सबै संस्था, सरकारी निकाय, प्रशासन लगायतको सहमतिमा यो भवन निर्माण गरी विश्वकै उत्कृष्ठ १० मा पार्न सफल भएको बताउनु भयो । यस पुस्तकालयको स्तर बृद्धिका लागि अझै पनि सबै पक्षको सहयोगका लागि उहाँले आग्रह गर्नु भएको थियो ।
सो अवसरमा पुस्तकालयको सञ्चालक समितिका उपाध्यक्ष सुशीलचन्द्र अधिकारीले कार्यक्रमको उद्देश्यमा प्रकाश पार्दै स्वागत गर्नु भएको कार्यक्रममा अर्का उपाध्यक्ष नारायणप्रसाद घिमिरे, पुस्तकालयका संस्थापक उपाध्यक्ष तेजनारायण अधिकारी, कार्यकारी सदस्य रमाराज खनियालगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा गरिएको कविता प्रतियोगितामा अमृता असीम पहिलो, कमला केसी दोस्रो, कमला दनाई तेस्रो र सिर्जना घिमिरेले सान्त्वना स्थान हासिल गर्नु भएको निर्णायक समितिका संयोजक हरिप्रसाद अधिकारीले जानकारी दिनु भएको थियो । विजेताहरूलाई क्रमशः तीन हजार, दुई हजार, एक हजार, पाँच सय र प्रमाणपत्र वितरण गरिएको आयोजक पुस्तकालयमा प्रमुख मधुसुधन अधिकारीले जानकारी दिनु भयो ।
सो अवसरमा प्रायः आदिकवि भानुको व्यक्तित्व र कीर्तित्वमा प्रकाश पारिएका कविता वाचन गरिएका थिए ।
२१३ औं भानु जयन्तीको उक्त कार्यक्रम पछि प्रमुख जिल्ला अधिकारी खनालले उक्त पुस्तकालयका विभिन्न कक्षका साथै गतिविधिका बारेमा अवलोकन गर्नु हुँदै आगन्तुक पुस्तिकामा समेत मन्तव्य लेख्नु भएको थियो ।
प्रकाशित मिति २०८३ असार २९, सोमबार २०:१५ गते