
काठमाडौं– धार्मिक गुरुहरूद्वारा काठमाडौमा पत्रकार सम्मेलन गर्दै आन्दलोनको घोषणा भएको छ । समग्र सनातन ॐ कार धार्मिक समाजद्वारा आयोजना गरिएको पत्रकार सम्मेलनमा साउन १६ गते सो घोषणा गरिएको हो ।
सो अवसरमा जारी प्रेस विज्ञप्तिको पूर्ण विवरण :
हालै देशका तराई–मधेशका विभिन्न स्थानमा भएका घटनाक्रमका कारण धर्म, संस्कृति, मानवअधिकार, सामाजिक सद्भाव तथा राष्ट्रिय एकताप्रति आम नागरिकमा गम्भीर चिन्ता र चासो उत्पन्न भएको छ । यस्ता परिस्थितिमा राज्यका सबै निकायले कानुनी शासन, निष्पक्षता, संयमता र नागरिकको मौलिक अधिकारको पूर्ण सम्मान गर्दै कार्य गर्नुपर्ने हाम्रो स्पष्ट धारणा छ ।
हामी स्पष्ट रूपमा विश्वास गर्दछौँ कि कुनै पनि विवादको समाधान हिंसा, प्रतिशोध वा द्वेषबाट होइन, सत्य, न्याय, संवाद र संवैधानिक प्रक्रियाबाट हुनुपर्छ। कुनै पनि नागरिकमाथि भएको अन्याय वा मानवअधिकार उल्लङ्घनको आरोप भए त्यसको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही हुनुपर्छ ।
हामी सम्पूर्ण सनातन धर्मावलम्बी तथा सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई धैर्य, संयम र सामाजिक सद्भाव कायम राख्न हार्दिक अनुरोध गर्दछौँ । आन्दोलन वा असहमति व्यक्त गर्दा पनि शान्तिपूर्ण र कानुनी मार्ग अवलम्बन गर्न तथा कुनै पनि किसिमका उत्तेजना, हिंसा, घृणा वा साम्प्रदायिक विभाजनलाई प्रोत्साहन नदिन सबैमा आग्रह गर्दछौँ ।
धर्मले समाजलाई जोड्ने कार्य गर्छ, विभाजन गर्ने होइन :
धर्मले समाजलाई जोड्ने कार्य गर्छ, विभाजन गर्ने होइन । त्यसैले राष्ट्रिय स्वाधीनता, सामाजिक सनातन एकता, धार्मिक भावनामा समन्वय र न्यायको संरक्षणका लागि सबै पक्ष जिम्मेवार, संवेदनशील र संवादमुखी बन्न आवश्यक छ ।
हामी सम्पूर्ण नेपाली नागरिकलाई सत्य, न्याय, शान्ति र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन आह्वान गर्दछौँ ।
हाम्रा मागहरू :
१. हालैका घटनाको स्वतन्त्र, निष्पक्ष र समयबद्ध छानबिन समिति गठन गरियोस् र समितिमा सनातन धर्म पक्षधर धार्मिक प्रतिनिधि सुनिश्चित गरियोस् ।
२. मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क उपचार र राहतको व्यवस्था गरियोस् ।
३. दोषी जोसुकै भए पनि निष्पक्ष छानबिन गरी कानुनबमोजिम कारबाही गरियोस्। साथै कुनै पनि जातीय वा समुदाय विशेषका लागि मात्र बनेका आयोग खारेज गरियोस्, अन्यथा सबै समुदायका लागि समान प्रकृतिका आयोग गठन गर्ने व्यवस्था गरियोस् ।
४. शान्तिपूर्ण सभा, अभिव्यक्ति र धार्मिक स्वतन्त्रताको संवैधानिक अधिकारको पूर्ण सम्मान गरियोस् । धर्म परिवर्तनजस्ता दण्डनीय कार्य रोक्न प्रभावकारी प्रशासनिक संयन्त्र बनाई कार्यान्वयन गरियोस् ।
५. धर्म, संस्कृति, मठ–मन्दिर तथा सम्पूर्ण स्वदेशी स्थानीय धार्मिक सम्पदाको संरक्षणका लागि सम्बन्धित परम्परावाला समुदायको नेतृत्वमा सञ्चालन हुने प्रभावकारी नीति तथा कार्यक्रम लागू गरियोस् ।
६. सरकार र धार्मिक गुरुहरूबीच राष्ट्रिय सहमति र समाधानका लागि तत्काल औपचारिक संवाद प्रारम्भ गरियोस्।
७. भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कानुनी तथा प्रशासनिक सुधार गरियोस् । धार्मिक मठ–मन्दिरमा राजनीतिक नियुक्ति बन्द गरियोस् ।
८. देशको धार्मिक एकता, अल्पसङ्ख्यक समुदायको अधिकार तथा बहुसङ्ख्यक समुदायको धार्मिक भावना र पहिचानको सम्मान एवं संरक्षण सुनिश्चित गर्दै सनातन हिन्दू अधिराज्य स्थापनाका लागि संवैधानिक र लोकतान्त्रिक प्रक्रियामार्फत आवश्यक पहल गरियोस् ।
९. मौलिक स्वदेशी स्थानीय परम्परागत पर्व मनाउने क्रममा जुनसुकै स्थान वा मार्ग प्रयोग गर्न सहज वातावरण बनाइयोस् । देशको कुनै पनि स्थानमा यस्ता धार्मिक कार्यक्रम रोक्ने कार्यमा संलग्नमाथि कानुनबमोजिम कारबाही गरियोस् ।
आगामी कार्यक्रमहरू :
१. सचेतना सभा :
मितिः २०८३ साउन १७ गते, आइतबार
उद्देश्यः धर्म, संस्कृति, सामाजिक सद्भाव र नागरिक सचेतनाबारे जनजागरण ।
स्थानः माइतीघर, काठमाडौं, समयः दिउँसो ठिक २ः०० बजे
२. खबरदारी सभा :
मितिः २०८३ साउन २० गते, बुधबार
यदि मागहरूप्रति सरकारबाट सकारात्मक पहल नभए शान्तिपूर्ण रूपमा खबरदारी सभा आयोजना गरिनेछ।
स्थानः माइतीघर, काठमाडौं, समयः दिउँसो ठिक २ः०० बजे
आयोजक :
समग्र सनातन ॐ कार धार्मिक समाज, काठमाडौं ।
‘हिन्दू भगाउ र देश बचाउ’ भन्ने नारा बीरगन्जमा लाग्दा पनि ठोस कारवाही के भयो ?’ 
त्यसबारेमा थप प्रकाश पार्दै हिन्दु जागरण अभियानका परिकल्पनाकार एवम् प्रणेता पं. रामकृष्ण उपाध्यायले भन्नुभयो, ‘आजसम्म मलंगवा रौतहट, बाँके लगायत क्षेत्रमा जजसले विभिन्न घटना घटाएर आक्रमण गर्नेहरूलाई स्पष्ट रूपले कारवाही गरेको जानकारी आएन, अरु त परै जाओस्, ‘हिन्दू भगाउ र देश बचाउ’ भन्ने नारा बीरगन्जमा लाग्दा पनि ठोस कारवाही के भयो ?’ उहाँका अनुसार यहि हेपाइको कारणले सुनसरीको घटना नघटेको भनेर भन्न सक्ने अवस्था छैन । चित्त नबुझे सम्झाउन छोडेर आक्रमण गर्नुपर्ने कुनै आवश्यकता नै थिएन ।
उहाँले थप भन्नुभयो, ‘हिजोको दिन सम्म साउनभरी बाजा गाजाको साथ बोलबम बोलबम भन्दै दिनरात विभिन्न स्थानका शिवमन्दिरमा उत्सव मनाउदै जाने गर्थे । कसैलाई केही आपत्ति थिएन । तर आजको तन्त्रले जुनबेला पनि उत्सव मनाउनै नपाउने गरि निर्णय गर्छ । गोली हान्छ ।’ के यसैको लागि सरकार बनाएको हो ? उहाँले प्रश्न उठाउनु भयो ।
करैकरले थिचिएका जनताले अलिकति आनन्द लिँदा मानौं कुनै हिंस्रक बाघलाई गोली वर्षाएको जस्तै गोली बर्षाउनु यहि नै सरकारको सफलता हो भने यस्ता सरकारको काम छैन उपाध्यायले थप भन्नुभयो । उहाँका अनुसार अर्काले गर्दा अपराध, आफूले गर्दा जय जय भन्ने संस्कार नेपाली संस्कार हैन । आक्रोशपूर्ण स्वरमा उहाँले भन्नुभयो, ‘गोली नै वर्षाउनु पर्ने त्यत्रो डर लागेकै हो र ती विधर्मीलाई र सरकार लाई ? यस्ता अभिभावक हुनुभन्दा नभएकै बेश !’
फोटा : रामकृष्ण उपाध्यायको फेसबुक वालबाट ।
प्रकाशित मिति २०८३ श्रावण १७, आईतवार ०८:०९ गते