नेपाली कांग्रेसमा एकता कति सम्भव ? एकताका नाममा साउनमै तीन वटा वेग्ला वेग्लै भेला हुँदै

नेपाली कांग्रेसमा एकता कति सम्भव ? एकताका नाममा साउनमै तीन वटा वेग्ला वेग्लै भेला हुँदै

एजेन्सी

@antaranganews

२०८३ साउन १७ गते सोमबार ०६:२६

कांग्रेस समर्थित जनप्रतिनिधिहरूले पार्टी एकताका लागि संयुक्त राष्ट्रिय दबाब अभियान सञ्चालन गर्दै आएका छन्। उनीहरूले सभापति गगन थापादेखि संस्थापनइतर पक्षका विभिन्न नेताहरूलाई भेटेर कांग्रेस विभाजन हुने अवस्थातिर गए आफूहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिने बताएका छन् ।

विशेष महाधिवेशनमा भाग नलिएकाहरूबाट एकताका लागि दबाब : पार्टीमा संस्थापन र इतर पक्षका समानान्तर गतिविधि बढेपछि संस्थापनइतर पक्षकै युवाहरूको अगुवाइमा त्यसलाई मिलाउन भन्दै तेस्रो धार जन्मेको हो ।

काठमाडौं– विभाजनको डिलमा पुगेको नेपाली कांग्रेसको एकता जोडाउने अन्तिम प्रयास थालिएको छ । विशेष महाधिवेशनमा भाग नलिएका नेताहरूले पार्टी एकताका लागि बेग्लाबेग्लै भेलाको मितिको घोषणा साउन १७ गते गरेका छन् ।
पूर्वमहामन्त्री समेत रहनु भएका शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय आयोजक समिति गठन गरिएको छ । कोइराला नेतृत्वको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा भेला गर्दैछन् । कोइरालाले भन्नुभयो, ‘पार्टीलाई सवल र सक्षम बनाउने उद्देश्यले मेरै संयोजकत्वमा ५५१ सदस्यीय आयोजक समिति गठन गरी यही साउन २९ देखि ३१ गते सम्म काठमाडौंमा राष्ट्रिय भेलाको अयोजना गरिने छ ।’
त्यसअघि संस्थापन इतर पक्षकै युवा नेताहरूले साउन २० गतेका दिनमा तथा स्थानीय तहमा कांग्रेसबाट उम्मेदवार भई निर्वाचित जनप्रतिनिधिहरूले साउन २७ गते भेलाको घोषणा गरेका छन् । काँग्रेसको केन्द्रीय कार्यालयमा आजै ३ वटा फरकफरक कार्यक्रम भए ।
संस्थापन इतरले एकपछि अर्को भेलाको मिति घोषणा गरिरहे पनि कांग्रेस संस्थापन पक्ष भने आफ्ना नियमित गतिविधिमा जुटिरहेको छ ।
पार्टीमा संस्थापन र इतर पक्षका समानान्तर गतिविधि बढेपछि संस्थापनइतर पक्षकै युवाहरूको अगुवाइमा त्यसलाई मिलाउन भन्दै तेस्रो धार जन्मेको हो । उक्त धारको नेतृत्व निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महर, राष्ट्रिय सभा सांसद रञ्जित कर्ण, भानुका मेयर आनन्दराज त्रिपाठी लगायतबाट भइरहेको छ ।
महरले आज आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, ‘हामीले पद पाइएला भनेर यो गर्न लागेको होइन, फुटको डिलमा पुगेको कांग्रेसमा सबै विचार समूहलाई एकै ठाउँमा ल्याएर एकीकृत कांग्रेसका पक्षमा उभ्याउने जमर्को हो ।’ महरले थप भन्नुभयो, ‘पार्टीका संस्थापन र इतर पक्ष दुवैलाई साउन २० गते सुकेधारामा आयोजना हुने एकता भेलामा ल्याउने छौं ।’ उहाँका अनुसार दुवै पक्षले ‘इगो’ छाडेर एकीकृत कांग्रेसको पक्षमा उभिनुपर्छ र त्यसका लागि सभापति गगन थापाले बढी भूमिका खेल्नुपर्ने हुन्छ ।
‘हामी २० गते देशभर रहेका पार्टीका स्थानीय र प्रदेशका प्रतिनिधिसहितलाई बोलाएर पार्टीका संस्थापन र इतर पक्षलाई एकै मञ्चमा उभ्याउँछौं, पार्टीमा एकताको वातावरण बनाउँछौं,’ महरको कथन छ ।
कसैको स्वार्थका लागि कांग्रेस विभाजित हुन नहुने भन्दै पार्टीलाई एकता बद्ध राख्न अनशनदेखि वडा र टोलसम्म पुगेर हस्ताक्षर संकलन गरी दबाब दिने योजना रहेको महरले सुनाउनु भयो ।
कांग्रेस संस्थापनइतर पक्षले २०७८ साल मंसिरमा भएको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका तर गत पुसको विशेष महाधिवेशनबाट केन्द्रीय समितिमा छुट्न पुगेका १११ जनालाई केन्द्रीय सदस्य बनाउन माग गरेको छ । १११ जनामध्ये आफूसहित ३५ जना केन्द्रीय सदस्य नबनेर पार्टी एकजुट गराउने पक्षमा भूमिका खेलिरहेको समेत महरले उल्लेख गर्नुभयो ।
संस्थापन र इतर पक्षका नेताहरूलाई भेट्दा एकता हुन्न भनेर कसैले नभन्ने तर एकताको परिस्थिति पनि नभइरहेको अवस्था रहेकोले देश र कांग्रेस जोड्न आफूहरूले पनि बेग्लै अभियान सुरू गरेको महरको दावी छ ।
त्यो मागका बारेमा सभापति गगन थापाले यो माग पूरा गर्न विधानले नदिने जबाफ यसअघि दिइसक्नु भएको छ ।
२०७९ वैशाखमा भएको स्थानीय चुनावमा कांग्रेसबाट टिकट लिई जितेका जनप्रतिनिधिहरूले पनि संस्थापन र इतर पक्षलाई भेटेर मिलेर अघि बढ्न सुझाव दिएका छन् । उनीहरूले साउन १६ गते राष्ट्रिय भेला गर्ने भने पनि वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनपछि रोकिएको थियो, त्यो भेला साउन २७ गते हुने भएको छ ।
कांग्रेस समर्थित जनप्रतिनिधिहरूले पार्टी एकताका लागि संयुक्त राष्ट्रिय दबाब अभियान सञ्चालन गर्दै आएका छन्। उनीहरूले सभापति गगन थापादेखि संस्थापनइतर पक्षका विभिन्न नेताहरूलाई भेटेर कांग्रेस विभाजन हुने अवस्थातिर गए आफूहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिने बताएका छन् ।
उक्त अभियानमा मेयर भीमप्रसाद ढुंगाना, चिरिबाबु महर्जन, उपेन्द्र कार्की, प्रकाश भण्डारी, लक्ष्मण शाहीलगायत छन् । उनीहरूले साउन १३ गते एक अपिल जारी गर्दै आफ्नो ठाउँ र क्षेत्रबाट शीर्ष नेताहरूलाई पार्टी एक राख्न दबाब दिन पनि आग्रह गर्दै आएका छन् । उनीहरूले भने यो कुनै गुटको नभई पार्टीलाई एक राख्ने अभियान भएको प्रतिक्रिया दिने गरेका छन् ।
सभापति थापासँगको भेटमा सभापति थापाले मतभेद समाधान गर्न एक कार्यदल बन्ने कुरासमेत गरेको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले बताउनु भयो । उहाँका अनुसार सभापति थापाले पदाधिकारी बैठकमा असन्तुष्ट पक्षसँग छलफल गर्न चार सदस्यीय कार्यदल बनाउने प्रस्ताव गरेका थिए, जसमा संस्थापन र इतर पक्षबाट दुई–दुई जना सदस्य रहनेछन् । पदाधिकारीहरूले सभापतिलाई यस्तो कार्यदल बनाउन सकिने भनेका थिए । तर कार्यदलमा रहने दुई सदस्यको नाम संस्थापनइतर पक्षसँग मागिए पनि अहिलेसम्म नदिइएको एक पदाधिकारीले जानकारी दिए ।
स्थानीय जनप्रतिनिधिहरूले साउन १० गते सभापति थापालाई भेटेका थिए । सभापति थापाले भने यस्ता भेला अहिले नगर्न स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गरेको बताइन्छ ।
देउवा पक्ष फेरि सर्वोच्च अदालतमा :
एकपछि अर्को भेला र कार्यदल गठन गर्ने तयारीका बीच निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवहाक सभापति पूर्णबहादुर खड्का फेरि सर्वोच्च अदालत गएका छन् । देउवा उपचारका क्रममा हङहङमा रहे पनि उनको नामबाट सर्वोच्चमा विशेष महाधिवेशनसम्बन्धी विषयमा फेरि रिट गएको हो । देउवा र खड्काले विशेष महाधिवेशनसम्बन्धी फैसला उल्टाउन माग गर्नु भएको छ । सर्वोच्चले विशेष महाधिवेशनलाई मान्यता दिएको थियो ।
विशेष महाधिवेशनसम्बन्धी फैसला त्रुटिपूर्ण रहेको भन्दै देउवा र खड्काले बेग्लाबेग्लै रिट फेरि सर्वोच्चमा दिएका हुन् । सो रिटबारे सर्वोच्च पूर्ण इजलासले अध्ययन गर्ने भएको छ ।

प्रकाशित मिति २०८३ श्रावण १८, सोमबार १८:२६ गते
हजुरको प्रतिक्रिया