लमजुङ सेवा समिति हङकङद्वारा दुई पीडित परिवारलाई उपचार र राहतका लागि साढे आठ लाख रुपैयाँ बढी सहयोग हस्तान्तरण

लमजुङ सेवा समिति हङकङद्वारा दुई पीडित परिवारलाई उपचार र राहतका लागि साढे आठ लाख रुपैयाँ बढी सहयोग हस्तान्तरण

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ साउन १८ गते मङ्गलबार ०७:१०

लमजुङ सेवा समिति हङकङले स्थापनाकालदेखि नै अक्षयकोष स्थापना गरी सो कोषको व्याज रकमबाट लमजुङ सेवा समिति हङकङ सम्पर्क समिति लमजुङमार्फत जिल्लामा सामाजिक, शैक्षिक, स्वास्थ्य तथा विपद् व्यवस्थापनका क्षेत्रमा आवश्यक सहयोग गर्दै आएको छ ।

मुखको क्यान्सर उपचाररत बेसीशहर नगरपालिका– ५, नाल्मा गैरी गाउँका ७० वर्षीय सुरेन्द्रकुमार गुरुङ र बेसीशहर नगरपालिका– १०, रातोमाटोका ४४ वर्षीय लगनध्वज गुरुङको परिवारलाई जनही चार लाख २८ हजार पाँच सय रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको हो ।

बेसीशहर– फरक परिस्थितिका पीडित भई समस्यामा परेका लमजुङका दुई परिवारलाई लमजुङ सेवा समिति हङकङले साढे आठ लाख रुपैयाँ बढी आर्थिक सहयोग प्रदान गरेको छ । बेसीशहर– ७ स्थित रेडियो मर्स्याङ्दीमा आयोजित एक कार्यक्रममा लमजुङ सेवा समिति हङकङ सम्पर्क समिति लमजुङका संरक्षक तथा संविधानसभा सदस्य जमिन्द्रमान घलेले पत्रकारहरूको रोहबरमा सहयोग रकम हस्तान्तरण साउन १८ गते गर्नु भएको हो ।
विभिन्न पेशा व्यवसाय गरी हाल हङकङमा रहनु भएका लमजुङका एक सय ३३ जना व्यक्तिहरूबाट संसंकलन भई प्राप्त भएको आठ लाख ५७ हजार रुपैयाँ राहतस्वरुप दुई पीडित परिवारलाई हस्तान्तरण गरिएको लमजुङ सेवा समिति हङकङ सम्पर्क समिति लमजुङकी अध्यक्ष मीना गुरुङले बताउनु भयो । उहाँका अनुसार सहयोग पाउनेमा मुखको क्यान्सर उपचाररत बेसीशहर नगरपालिका– ५, नाल्मा गैरी गाउँका ७० वर्षीय सुरेन्द्रकुमार गुरुङलाई समितिले चार लाख २८ हजार पाँच सय रुपैयाँ सहयोग प्रदान गरेको छ । गुरुङ हाल चितवन मेडिकल कलेज, भरतपुरमा उपचाररत रहनु भएको मीना गुरुङले बताउनु भयो ।
समितिले बेसीशहर नगरपालिका– १०, रातोमाटोका ४४ वर्षीय लगनध्वज गुरुङको परिवारलाई चार लाख २८ हजार पाँच सय रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको लमजुङ सेवा समिति हङकङ सम्पर्क समिति लमजुङकी अध्यक्ष मीना गुरुङले बताउनु भयो । उहाँका अनुसार उक्त रकम मृतक लगनध्वजकी श्रीमती यमुना गुरुङलाई हस्तान्तरण गरिएको हो । यमुना गुरुङका श्रीमान् लगनध्वज गुरुङ गत वर्ष मर्स्याङ्दी गाउँपालिका– ६ मा निर्माणाधीन ४०.२७ मेगावाट क्षमताको सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत रहँदा पहिरोमा परी मृत्यु भएको थियो ।
उक्त सहयोग रकम हस्तान्तरण पछि दाता समितिका संरक्षक जमिन्द्रमान घलेले यस्ता मानवीय सहयोगले पीडित परिवारलाई राहत पुग्नुका साथै समाजमा सहयोग, सद्भाव र सामाजिक एकताको भावना थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले विदेशमा रहेका लमजुङवासीले जन्मभूमिप्रतिको दायित्वलाई सम्झँदै सामाजिक सेवामा निरन्तर योगदान गरिरहेको बताउनुभयो ।
हङकङ सम्पर्क समिति लमजुङका अध्यक्ष मिना गुरुङले समितिले स्थापना गरेको अक्षयकोषको व्याज रकममार्फत सामाजिक, शैक्षिक, स्वास्थ्य तथा विपद् व्यवस्थापनका क्षेत्रमा नियमित सहयोग गर्दै आएको जानकारी दिनु भयो । उहाँले सोही सन्दर्भमा यसपटकको सहयोग अक्षयकोषको व्याज रकमबाट नभई हङकङमा रहेका लमजुङवासीबाट विशेष रूपमा संकलन गरिएको रकमबाट उपलब्ध गराइएको जानकारी दिनुभयो ।
लमजुङ सेवा समिति हङकङले स्थापनाकालदेखि नै अक्षयकोष स्थापना गरी सो कोषको व्याज रकमबाट लमजुङ सेवा समिति हङकङ सम्पर्क समिति लमजुङमार्फत जिल्लामा सामाजिक, शैक्षिक, स्वास्थ्य तथा विपद् व्यवस्थापनका क्षेत्रमा आवश्यक सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति २०८३ श्रावण १९, मंगलवार ०७:१० गते
हजुरको प्रतिक्रिया