बजारमा ग्यास किन्न उपभोक्ताको लाइन लाग्न थालेपछि प्रशासनद्वारा अनुगमन, बिक्री वितरण गर्दा अभिलेख राख्न निर्देशन

बजारमा ग्यास किन्न उपभोक्ताको लाइन लाग्न थालेपछि प्रशासनद्वारा अनुगमन, बिक्री वितरण गर्दा अभिलेख राख्न निर्देशन

एजेन्सी

@antaranganews

२०८३ साउन १९ गते बुधबार ०९:३७

सहायक प्रमुख जिल्ला अधिकारी एवम् बजार अनुगमन समितिका जिल्ला संयोजक दीपक पौडेलले भन्नुभयो, ‘ग्यास अभावबारे गुनासो आएपछि चितवनका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर थप ग्यास आपूर्तिका लागि पहल गरिएको छ ।’

पछिल्ला दिनमा भरी सिलिण्डर ग्यास आउन थालेकोले पनि सिलिण्डर संख्यामा केही कम भएको सप्लायर्सहरूले जानकारी दिएका छन् ।

बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम यहाँ खाना पकाउने एलपी ग्यासका लागि उपभोक्ता लाइन लाग्न गालेपछि वस्तु स्थिति बुझ्न जिल्ला सदरमुकाम बेसीशहर बजारमा अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा विभन्नि संघसंस्थाका प्रतिनिधिहरूको संयुक्त टोलीले साउन २० गते बजार अनुगमन गरेको हो ।
केही दिन यता ग्यासको आपूर्ति घट्न थालेपछि उपभोक्ताको बिहानैदेखि ग्यास पसलमा लाम देखिन थालेको थियो । कतिपय उपभोक्ताले ग्यास नपाएर फर्किनुपरेको गुनासो गरेपछि कृत्रिम अभाव भएको आशंकामा प्रशासनले अनुगमनमा अग्रसरता देखाएको हो । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवम् बजार अनुगमन समितिका जिल्ला संयोजक दीपक पौडेलको नेतृत्वमा एकीकृत सेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय, बेसीशहर नगरपालिका, लमजुङ उद्योग वाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधि सम्मिलित टोलीले बेसीशहरका ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेको हो ।
सो टोलीले ग्यास व्यवसायीलाई खुद्रा व्यापारीमार्फत सिलिन्डर बिक्री–वितरण गर्न, उपभोक्ताको नाम, ठेगाना र फोन नम्बर अभिलेख राखेर प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन साथै कम्पनीबाट प्राप्त ग्यासको विवरण प्रशासनमा बुझाउन निर्देशन दिएको अनुगमन टोलीमा सहभागी राष्ट्रिय उपभोक्ता मञ्चका सल्लाहकार संयोजक रमाराज खनियाले बताउनु भयो । उहाँका अनुसार अनुगमनका क्रममा टोलीले ग्यास भण्डारण र मौज्दातको निरीक्षण गरेको थियो ।
एलपि ग्यासका सप्लायर्स मनाङ मस्र्याङ्दी ग्रुप प्रालिका उपाध्यक्ष एवम् लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरतकुमार श्रेष्ठले बजारमा ग्यासको नपाइएकै अवस्था भने होइन, हल्लाका कारण उपभोक्तामा त्रास बढेको बताउनु भयो । उहाँका अनुसार थोरै समस्या कसरी उत्पन्न भएको छ भने पहिले दैनिक तीन ट्रिप ग्यास आउने गरेकामा पछिल्ला केही दिन दुई ट्रिप मात्र आइरहेको छ ।
बजार अनुगमन समितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले व्यवसायीलाई सिलिन्डर लुकाएर नराख्न, उपलब्ध ग्यास पारदर्शी रुपमा वितरण गर्न, एउटै व्यक्ति वा परिवारलाई आवश्यकताभन्दा बढी सिलिन्डर नदिन तथा वितरणको अभिलेख व्यवस्थित राख्न निर्देशन दिइएको बताउनु भयो ।
बजारमा ग्यासको अभावबारे गुनासो आएपछि त्यो समस्या समाधानका लागि चितवनका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर थप ग्यास आपूर्तिका लागि पहल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिनु भयो ।
यसैगरी, आश्ना सप्लायर्सकी सञ्चालक आश्ना प्रधानले पनि यसअघिको तुलनामा ग्यास उद्योगबाट नै कम परिमाणमा ग्यास आइरहेको छ भने ऐले भरी सिलिण्डर ग्यास आउन थालेकोले पनि सिलिण्डर संख्यामा केही कम भएको जानकारी दिनु भयो ।
फोटो सौजन्य : जिल्ला प्रशासन कार्यालय

प्रकाशित मिति २०८३ श्रावण २०, बुधबार २१:३७ गते
हजुरको प्रतिक्रिया