
पैह्रे(लमजुङ)– गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ लमजुङ आउने हुनु भएको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपालले आयोजना गरेको ‘स्रष्टा सम्मान तथा मौलिक ठाडोभाका छायांकन’ कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण गर्न उहाँ साउन २३ गते आउने हुनु भएको हो ।
८२ वर्षे तन्देरीसहित पाँच जना स्रष्टा र दुई संस्थालाई सम्मान गरिने :
मन्त्रीको आगमनले हामीलाई आफ्नो क्षेत्रमा कार्य गर्न थप प्रेरणा र उर्जा मिल्ने भएको आयोजक प्रतिष्ठानका पदाधिकारीहरूले बताएका छन् । त्यस दिन अमेरिकाबाट आउनु भएका मुक्तकमणि एवम् प्रतिष्ठानका सल्लाहकार ८२ वर्षे तन्देरी तीर्थ अधिकारीलाई मन्त्री गुरुङबाट सम्मान गर्ने कार्यक्रम रहेको छ । साथमा प्रतिष्ठानको नीति अनुसार ७० वर्ष उमेर कट्नु भएका ठाडोभाकाका अग्रज कलाकार(गायक/गायिका)हरूलाई सम्मान गर्ने नीति अनुसार त्यस्ता चार जना स्रष्टा पनि सम्मानित हुँदै हुनुहुन्छ । उक्त कार्यक्रमको तयारी करिब पुरा भएको आयोजकको भनाइ छ ।
उहाँहरू बेसीशहर नगरपालिका– ४, पुरानोकोट निवासी पदम बहादुर गुरुङ, सुन्दरबजार नगरपालिका– १ कुन्छाकी शिवकुमारी दुरा, सोही नगरपालिका– ५ को खहरे निवासी विष्णुभक्त अधिकारी र दोर्दी गाउँपालिका– ६ तल्लो देलुङमा स्थायी बसोबास भई हाल भोटेओडार बस्ने जालुमाया गुरुङ हुनुहुन्छ ।
पुरानकोटका गुरुङ ७८ वर्षीय हुनुहुन्छ भने अन्य तीन जना दुरा, अधिकारी र गुरुङ सबै ७२ वर्षका हुनुभएको आयोजक प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनुभयो । उहाँका अनुसार प्रतिष्ठानले २०७६ सालमै नीतिगत निर्णय गरी यसरी अग्रज स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ । उहाँले भन्नुभयो, ‘आजका दिनसम्म २९ जना स्रष्टालाई सम्मान गरिसकिएको छ । यसपटक चार जना थप हुने हुनु भएको छ ।’
त्यसैगरी, त्यस दिन प्रतिष्ठानलाई कार्यक्रम सञ्चालन गर्नका लागि विभिन्न सहयोग गर्ने संस्थाहरूलाई सम्मान गर्ने नीति अनुसार राइनास नगरपालिका र सोही नगरपालिका– ८ को पाउँदी दोभानमा रहेको सर्वोदय सेवाश्रम धर्मनाथ धामलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष पहाडीले जानकारी दिनु भएको छ ।
मौलिक ठाडोभाका छायांकन :
साथमा मौलिक ठाडोभाका छायांकनको कार्यक्रम रहेकोमा त्यसको भने तयारी नपुगेको हुँदा मूल कार्यक्रम भने केही महिना पछि मात्र हुने भएको आयोजकको भनाइ छ । तर पनि ठाडोभाका छायांकन कार्यक्रम भने गरिने छ ।
पछिल्ला वर्षमा ठाडोभाकाको नाउँमा जे जसरी पनि भट्याउने (गाउने) र त्यसलाई ठाडोभाका भनिदिने प्रवृत्ती बढेका कारणले सर्वसाधारणका लागि समेत त्यस मुल तत्व के हो ? भन्ने जानकारी दिन मौलिक ठाडोभाका छायांकन राखिएको हो । तर तयारी पुगेन प्रतिष्ठानका अध्यक्ष पहाडीले बताउनु भएको छ । उहाँका अनुसार ठाडोभाकाका सर्जक देउबहादुर दुरा, पञ्चैसुब्बा गुरुङको अडियो आजका दिनसम्म फेला परेको छैन । तर ठाडोभाका शिरोमणि भेडीखर्के साइलाका स्वरमा ठाडोभाका प्रशस्त पाइन्छ । त्यो भाका शैली नै ठाडोभाका मौलिक हो, त्यो बाहेक अन्य तौर तरिकाले गाएर ठाडोभाका भनिदैमा त्यो ठाडोभाका हुन नसक्ने भएको हुँदा यस्तो गीतको छायांकन गरी त्यसको भिडियो(युटुभ) निर्माण गर्न जरुरी ठानेका छौं अध्यक्ष पहाडी भन्नु हुन्छ । उहाँका अनुसार ठाडोभाकाको नाच र मादलको धुन पनि फरक हुन्छ, जसरी पनि घुम्दैमा ठाडोभाकाको नाच हुने तथा जसरी मादल ठोकेर त्यसको आवाज आयो भन्दैमा ठाडोभाकाको बाध्यवादन हुने भन्ने हुँदैन । ‘ठाडोभाकाकै नाउँमा प्रतिष्ठान समेत सञ्चालनमा आएको र प्रतिष्ठान स्थापनाको एक दशक बितिसकेको स्थितिमा यो भाकाको मौलिकता बचाउनु हाम्रो जिम्मेवारी र दायित्व समेत हो त्यो अनुभव गरी यो कार्यक्रम राख्न लागिएको हो’ अध्यक्ष पहाडी बताउनु हुन्छ ।
बाघचाल, पात बजाउने कलाको संरक्षण :
त्यस बाहेक प्रतिष्ठानले सम्भव हुँदासम्म लोपोन्मुख संस्कृतिको जगेर्ना गर्दै आएको छ । प्रतिष्ठानले ठाडोभाका प्रतियोगिताको अतिरिक्त लोपोन्मुख अवस्थामा रहेका बाघचाल, पात बजाउने कलाको संरक्षणका लागि प्रतियोगिता समेत गर्दै आएको छ । अब नयाँ पिंढीमा यो सीप हस्तान्तरण गर्न तिनको प्रशिक्षण सञ्चालन गर्ने योजनामा रहेको समेत पहाडी बताउनु हुन्छ । उहाँका अनुसार त्यस्तै लमजुङमा गाइने १२ महिनाका गीत पनि संकटमा छन्, तिनको संरक्षण पनि चुनौती बनेको छ र त्यसतर्फ पनि प्रतिष्ठानको ध्यानाकर्षण भएको छ ।
वरिष्ठ आजीवन तथा आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण :
सो अवसरमा मन्त्री गुरुङबाट प्रतिष्ठानका आजीवन तथा वरिष्ठ आजीवन सदस्यहरूलाई सदस्यता प्रमाणपत्र वितरण कार्यक्रम पनि हुने रहेको प्रतिष्ठानका महासचिव देवराज गुरुङले जानकारी दिनु भएको छ । उहाँका अनुसार प्रतिष्ठानको आजीवन सदस्यताका लागि पाँच हजार पाँच सय रुपैयाँ र वरिष्ठ आजीवन सदस्यताका लागि साढे २० हजार रुपैयाँ शुल्क लाग्दछ । उहाँले भन्नुभयो, ‘आजीवन र वरिष्ठ आजीवन सदस्यता शुल्क अनिवार्य रुपमा अक्षयकोषमा राख्ने प्रवन्ध विधानमा नै गरिएको छ ।’
२२ लाख २५ हजार रुपैयाँ अक्षयकोष : बैंकले व्याज घटाई दिदा इच्छा मानुपर्ने स्थिति !
विभिन्न दाता महानुभावहरूको सहयोग तथा आजीवन र वरिष्ठ आजीवन सदस्यहरूको शुल्कबाट गत आर्थिक मसान्तमा अक्षयकोष रकम २२ लाख २५ हजार रुपैयाँ पुगेको समेत महासचिव गुरुङले जानकारी दिनु भयो । उहाँका अनुसार बैंकहरूले व्याज घटाएर खुत्रुक्कै पार्न थालेका छन् । त्यसले पनि अप्ठेरो पर्न थालेको छ । कुनै दिन १३ प्रतिशतसम्म व्याज पाएकोमा ऐले साढे चार प्रतिशतमा झारिएको अवस्था छ, त्यसैले कार्यक्रम गर्न निकै कठिन अवस्था छ गुरुङले उल्लेख गर्नुभयो ।
प्रतिष्ठानद्वारा आठ पुरस्कार वितरण :
प्रतिष्ठानले विभिन्न महानुभावलाई अनुरोध गरी विभिन्न स्रष्टाहरूको सम्मानका लागि पुरस्कारको प्रवन्ध गरेको छ । ती पुरस्कारको संख्या आठ पुगेको अध्यक्ष पहाडीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो पुरस्कार ‘ठाडोभाका– टीकाकुमारी स्मृति प्रतीभा पुरस्कार’ लोक साहित्य तथा संस्कृतिका अभियन्तालाई सम्मान गर्न स्थापना गरिएको हो । २०७६ सालदेखि हरेक वर्ष वितरण हुँदै आएको छ ।
त्यस्तै, ‘ठाडोभाका– असल आमा बाबु सम्मान’ । विगतको तीन वर्षदेखि वितरण हुँदै आएको छ । ‘ठाडोभाका– हने सुवे स्व सन्तबहादुर स्मृति पुरस्कार’ पनि विगतको तीन वर्षदेखि वितरण भइरहेको छ । ‘ठाडोभाका– सिर्जना विरही थापा प्रतीभा पुरस्कार’ विगत दुई वर्षदेखि वितरण हुँदै आएको छ । त्यसैगरी, ‘ठाडोभाका– जगतमाया अधिकारी स्मृति पुरस्कार’ र ‘ठाडोभाका– दुर्गा केसी स्मृति पुरस्कार’ विगतका दुई विर्षदेखि वितरण भइरहेका छन् । ‘ठाडोभाका– देउवहादुर दुरा स्मृति पुरस्कार’ गत वर्षबाट वितरण गर्न थालिएको हो भने ‘ठाडोभाका– रामदत्त अधिकारी स्मृति पुरस्कार’ यो वर्षबाट वितरण गरिने भएको छ ।
महिनामा एक कार्यक्रम गर्ने निर्णयको तयारी :
त्यस दिन विहान प्रतिष्ठानको चालु आवको पहिलो बैठक पनि बस्दै छ महासचिव गुरुङले भन्नुभयो । उहाँका अनुसार बैठकमा प्रतिष्ठानले चाल आव २०८३/८४ को अवधिमा गर्ने कार्यक्रमको सूचि समेत तयार गर्ने भएको छ । महासचिव गुरुङले भन्नुभयो, ‘प्रतिष्ठानले अब महिनामा यौटा कार्यक्रम गर्न सक्छ कि भन्ने पृष्ठभूमि तयार भएको छ ।’ त्यो बारेमा विशेष छलफल गरी निर्णय गरिने भएको उहाँको भनाइ छ ।
सम्मान कार्यक्रम पछि मौलिक ठाडोभाकाको छायांकन कार्यक्रम हुने तयारी छ प्रतिष्ठानका उपाध्यक्ष सीतादेवी दुराले बताउनु भयो । उहाँका अनुसार यसपटक नयाँ प्रतिभालाई मौका दिने सोच रहेको छ ।
प्रकाशित मिति २०८३ श्रावण २१, बिहीबार ०७:०६ गते