गण्डकी प्रदेशका मन्त्री गुरुङद्वारा ८२ वर्षका तन्देरीसहित पाँच स्रष्टा सम्मानित : अधिकारीद्वारा अध्यक्षकोषमा ५० हजार प्रदान, फोटो फिचर सहित

गण्डकी प्रदेशका मन्त्री गुरुङद्वारा ८२ वर्षका तन्देरीसहित पाँच स्रष्टा सम्मानित : अधिकारीद्वारा अध्यक्षकोषमा ५० हजार प्रदान, फोटो फिचर सहित

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ साउन २३ गते आईतबार ०१:५६

आधुनिक गीतहरूको बोलाबाल चलेको वर्तमानमा हाम्रो पहिचानसँग जोडिएका यस्ता गीत, संस्कार संस्कृतिहरू बचाउने क्रममा यो संस्थाले ठाडोभाकाको साथमा बाघ चाल प्रतियोगिता, पात बजाउने प्रतियोगिता गर्दै आएको थाहा पाउँदा झनै खुशी लागेको मन्त्री गुरुङले उल्लेख गर्नुभयो ।

लोक संस्कृतिको जगेर्ना गर्ने कार्यमा लमजुङले ऐतिहासिक दायित्व पुरा गर्दै आएको छ : मुक्तकमणि तीर्थ अधिकारी

पैह्रे(लमजुङ)– लमजुङमा ८२ वर्षका तन्देरी मुक्तकमणि एवम् कलासंस्कृति कर्मी तीर्थ अधिकारीसहित पाँच स्रष्टा सम्मानित हुनु भएको छ । गण्डकी प्रदेश सरकारका मन्त्री रेखा गुरुङको प्रमुख आतिथ्यतामा ठाडोभाका लोककला प्रतिष्ठान नेपालले नमूना तमू समाजको नवनिर्मित भवनमा आयोजना गरेको स्रष्टा सम्मान एवम् मौलिक ठाडोभाका छायांकन कार्यक्रममा उक्त कार्य साउन २३ गते गरिएको हो ।
स्रष्टाहरूलाई सम्मानपछि आफ्नो उदघाटन मन्तव्यमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले सम्मानित हुनुहुने अग्रज व्यक्तित्वहरूको क्रियाशीलताले आफूलाई समेत उर्जा मिलेको बताउनु भयो । उहाँले यो कार्यक्रममा आउन पाउँदा खुशी र गौरवको अनुभव भएको बताउनु भयो । उहाँले आधुनिक गीतहरूको बोलाबाल चलेको वर्तमानमा हाम्रो पहिचानसँग जोडिएका यस्ता गीत, संस्कार संस्कृतिहरू बचाउने क्रममा यो संस्थाले ठाडोभाकाको साथमा बाघ चाल प्रतियोगिता, पात बजाउने प्रतियोगिता गर्दै आएको थाहा पाउँदा झनै खुशी लागेको उल्लेख गर्नुभयो । आफूले पनि पात बजाउने कला सिक्नका लागि निकै प्रयास गर्दा पनि नसकेको स्मरण गर्नु हुँदै उहाँले मौलिक लोकभाकाका गीत, संगीत निकै मन पर्छ तर म गुरुङकी छोरी भएर पनि मलाई गला र कला भगवनले दिनु भएन त्यसैले बेलाबेलामा दुःखी बनाउँछ भन्ने गुनासो गर्नुभयो ।
आयोजक प्रतिष्ठानले छात्रबृत्ती दिएर एसइइसम्म पढाइएकी हाल भक्त आदर्श क्याम्पसको कक्षा ११ को विज्ञान संकायमा पढिरहेकी सुजिना भुजेलले गाएको गीत सुन्नु भएकी मन्त्री गुरुङले नयाँ पुस्तामा हस्तान्तरणका लागि गरिएको प्रयास देखेर आफू झनै प्रभावित भएको उल्लेख गर्नुभयो । यो प्रयास राम्रो छ तर यत्तिले पुग्दैन, पुस्तान्तरणका लागि थप प्रयास गर्नु पर्छ, गर्नु होला उहाँले भन्नुभयो । यस्ता कार्यक्रमका लागि गण्डकी प्रदेश सरकार, आफ्नो मन्त्रालय र आफू साथमै रहेको छु र रहने छु भन्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । उहाँले यसका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानसँग समन्वय गर्न समेत आयोजकलाई निर्देशन दिनु भएको थियो ।
सो अवसरमा मुक्तकमणि समेत रहनु भएका तीर्थ अधिकारी, पोखरा (हाल ओहायो, अमेरिका) लाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री गुरुङ, सभाध्यक्ष बुद्धिमान दुरा ‘धम्पु’ प्रतिष्ठानका सल्लाहकारहरूले अधिकारीलाई टीका, दोसल्ला, खदा र सम्मानपत्रद्वारा सम्मान गर्नु भएको थियो । यसैगरी, ठाडोभाकाका ७० वर्ष पार गर्नु भएका अग्रज गायिक गायिकलाई सम्मान गर्ने क्रममा ७८ वर्षीय पदमबहादुर गुरुङ(पुरानोकोट), जालुमाया गुरुङ दोर्दी गापा– ६, विष्णुभक्त अधिकारी सुन्दरबजार नगरपालिका– ५ खहरे र सोही नगरपालिका– १ कुन्छाकी शिवकुमारी दुरा सम्मानित हुनु भएको प्रतिष्ठानकी सहकोषाध्यक्ष तैमाया गुरुङले बताउनु भयो । उहाँका अनुसार अन्य सम्मानितहरू सबै ७२ वर्षीय हुनुहुन्छ ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले संक्षिप्त मन्तव्यमा भाषा, भेष, भुषा संस्कार, संस्कृतिका बारेमा हामीले मात्र जानेर पुग्दैन पुस्तान्तरणको प्रयास जारी राख्नु पर्छ भन्नुभयो । आयोजक संस्थाले गरेका कार्यहरू निकै सराहनीय छन्, पुस्तान्तरणको प्रयास थप सार्थक बनाउनेतर्फ यो संस्थाका पदाधिकारीहरूलाई लाग्न सुझाव दिन चाहन्छु उहाँले भन्नुभयो ।
प्रतिष्ठानका सल्लाहकार दोमोदर अधिकारीले मानिस सुन्तुष्ट हुनका लागि उसलाई सन्तुष्टि चाहिन्छ, त्यो भौतिक विकासले मात्रै दिदैन भन्नुभयो । उहाँले मानिस सन्तुष्ट हुनका लागि स्वर, बाजा, भावभङ्गी जरुरी हुन्छ । त्यसमा यस्ता कार्यक्रमले जोड दिदै आएको छ भन्नुभयो । उहाँले प्रतिष्ठानले गरिरहेका राम्रा काममध्ये असल आमा– बाबाको छनौट गरी सम्मान गर्ने कार्य सजिलो छैन, आमा– बाबामात्र असल भएर भएन, छोराछोरी पनि असल हुन पर्यो, राम्रोसँग पढ्न पर्यो, यस्तो सराहनीय कार्यको पुरस्कारको प्रवन्ध यो प्रतिष्ठानका संरक्षक, आजका सभाध्यक्षबाट भएको छ । संस्कार सार्दै जानेतर्फ सबैको ध्यान जान जरुरी छ उदाहरणसहित उहाँले प्रष्ट्याउनु भएको थियो ।
उक्त कार्यक्रममा सम्मानित व्यक्तित्व अधिकारीले मन्तव्य व्यक्त गर्नुहुँदै लोक संस्कृतिको जगेर्ना गर्ने कार्यमा लमजुङले ऐतिहासिक दायित्व पुरा गर्दै आएको छ भन्नुभयो । लमजुङ अनुशासित छ किनकि, मानिसलाई संस्कारले अनुशासन सिकाउछ त्यो लमजुङसँग छ, उहाँले भन्नुभयो । दूधको धारा बगाएर झगडा नगर्नु भन्ने आमाको आज्ञा शिरोपर गर्ने राजाहरू भएको ठाउँ हो यो भन्ने स्मरण गर्नुहुदै उहाँले हामीले आफ्नो कला, संस्कार, संस्कृति, भाषा, साहित्यप्रति गर्व गर्नु पर्छ भन्नुभयो ।
सम्मानित व्यक्तित्व अधिकारीले हाम्रा पूर्खाले सुरुमा पाइला चाल्दै हिडेको ठाउँ पछि गोरेटो बन्यो, पछि हिड्दा हिड्दै त्यो मूलबाटो बन्यो र त्यही मूलबाटो ऐले सडक/राजमार्ग बनेको हो भन्ने स्मरण गर्नु हुँदै उहाँले त्यसैगरी, कला संस्कृतिलार्ई पनि हामीले राजमार्गमा परिणत गर्न सक्नु पर्छ भन्नुभयो । उहाँले ठाडोभाका गीत गाउन सजिलो छैन, तत्कालै जवाफ दिने विशेष प्रतीभा हुनु पर्छ । जो सबैसँग छैन । नजान्दासम्म ठाडोभाका कठिन पनि लाग्छ, तर जानीसकेपछि भने अन्य गीत पनि के गाउने र ? जस्तो लाग्ने गर्दछ उहाँले उल्लेख गर्नुभयो । उहाँले प्रतिष्ठान खोलेर यस्तो माहोल तयार हुन्छ भन्ने कल्पना नै थिएन, जो प्रत्यक्ष देख्न पाइएको छ । म खुशी छु । प्रतिष्ठानका गतिविधिसँग अमेरिका भए पनि म नजिकै छु, बुझिरहेको हुन्छ उहाँले भन्नुभयो । उहाँले यो प्रतिष्ठानको प्रगति एवम् अक्षयकोषका लागि तत्काल ५० हजार रुपैयाँ प्रदान गर्दछु भन्दै सभाका अध्यक्ष प्रतिष्ठानका संरक्षक धम्पुलाई नगद हस्तान्तरण गर्नुभयो ।
अधिकारी सम्मानित हुनु अघि प्रतिष्ठानका सल्लाहकार रमाराज खनियाले उहाँको जीवनीमा प्रकाश पार्दै उहाँले संघर्षशील जीवन यात्राबारे उल्लेख गर्नु भएको थियो । त्यस्तै, प्रतिष्ठानका आजीवन सदस्य शिवकुमारी अधिकारीले सम्मानित व्यक्तित्वद्वारा रचित लमजुङ चिनाउने, हरिदेवी कोइरालाले गाएको गीत गाउनु भएको थियो ।
सो अवसरमा अन्य सम्मानित व्यक्तित्वहरूले गाउनु भएको ठाडोभाकाको छायांंकन गरिएको थियो ।
उक्त कार्यक्रममा दोर्दी गाउँपालिका– १ भार्तेका ८७ वर्षीय गोपिराम गुरुङ र ठाडोभाका महातारा एवम् प्रतिष्ठानका उपाध्यक्ष सीतादेवी दुरा बीचको घम्साघम्सी निकै रोचक थियो । दमको सिकायत रहेका गुरुङले सास फुल्छ, २ वटा भन्दा गाउदिन भनेर स्टेजमा चढ्नु भएको थियो तर उहाँले झण्डै १० टुक्का ठाडोभाका गाउनु भएर स्रोता दर्शकहरूलाई चकित पार्नु भएको थियो ।
सो अवसरमा आयोजक प्रतिष्ठानबाट एसइईसम्म छात्रबृतीमा अध्ययन गरेकी सुजिना भुजेल(दुराडाँडां) र संरक्षक धम्पु, त्यस्तै आशबहादुर विक र काशीमाया तामाङ, अमरध्वज गुरुङ, शिवकुमारी दुरा, रमाना भण्डारी र हरि रानाभाट, बुद्धिमाया गुरुङ र विष्णुभक्त अधिकारी, मिना गुरुङ र बुद्धिबहादुर खड्कालगायतका टिमको छायांकन गरिएको आयोजक प्रतिष्ठानका महासचिव देवराज गुरुङले बताउनु भयो ।
उहाँका अनुसार उक्त अवसरमा प्रतिष्ठानका सल्लाहकार एवम् पूर्वप्रजिअ रमेशचन्द्र अधिकारी, ठाडोभाका– टिकाकुमार ढुुंगाना स्मृति पुरस्कारका संरक्षक सिता ढुंगाना, ठाडोभाका– देउबहादुर दुरा स्मृति पुरस्कारका संरक्षक छलीमाया दुरा, प्रनाउ जितेन्द्रकुमार बस्नेत, सशस्त्र प्रहरी बल लमजुङका प्रमुख विकाश अधिकारी तथा प्रतिष्ठानका पदाधिकारी एवम् कार्यकारी सदस्यहरू, नमूना तमू समाजका आमा– बाबा समूहका अध्यक्ष पदाधिकारीलगायतको उपस्थिति थियो ।
आयोजक प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले कार्यक्रमको सञ्चालन गर्दै प्रतिष्ठानले गरिआएका कार्यक्रमका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले अक्षयकोष स्थापना गर्दै गर्दा १३ प्रतिशत व्याज पाएकोमा ऐले त्यो झरेर चार प्रतिशतमा पुग्दा भने कार्यक्रम गर्न निकै कठिन भएको उल्लेख गर्नुभयो । उहाँले निकट भविष्यमा एउटा बाघ चालको जिल्लास्तरीय प्रशिक्षण सञ्चालन गर्ने योजना रहेको र मन्त्रीज्यूबाट सहयोग पाउने विश्वास रहेको उल्लेख गर्नुभयो ।
उक्त कार्यक्रममा सम्मानित व्यक्तित्व अधिकारीले प्रदान गर्नु भएको ५० हजार, नमूना तमू समाजबाट छ हजार रुपैया, अमरध्वज गुरुङले वरिष्ठ आजीवन सदस्यताका लागि थप थर्नु भएको १५ हजार, आजीवन सदस्यता वापत विष्णु परियारले पाँच हजार पाँच सय रुपैयाँसमेत कुल २३ लाख छ हजार रुपैयाँ अध्यक्षकोष पुगेको कोषाध्यक्ष सीता गुरुङले बताउनु भयो । उहाँका अनुसार गत असार मसान्तसम्म २२ लाख २५ हजार रुपैयाँ अक्षयकोष पुगेको छ । उहाँले भन्नुभयो, ‘सो अवसरमा बुद्धटोल तमू समाजबाट पाँच हजार ५० रुपैयाँ, सम्मानित व्यक्तित्व पदमबहादुर गुरुङले पाँच हजार रुपैयाँ, ठाडोभाका गायक गोपिराम गुरुङले दुई हजार पाँच रुपैयाँ प्रदान गर्नु भएको थियो ।
उक्त कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ आजीवन सदस्य तथा आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । फोटो फिचर सहित : 

प्रकाशित मिति २०८३ श्रावण २४, आईतवार १३:५६ गते
हजुरको प्रतिक्रिया