मनोक्रान्तिका योग गुरु डा. योगी विकासानन्द सर्वोदय सेवाश्रम धर्मनाथ धाममा

मनोक्रान्तिका योग गुरु डा. योगी विकासानन्द सर्वोदय सेवाश्रम धर्मनाथ धाममा

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ साउन २४ गते सोमबार ०९:१५

सर्वोदय सेवा आश्रममा आयोजित आजको उक्त विशेष कार्यक्रममा नेपाल चेन्ज मेकर्स (ल्ऋः) का सदस्यहरूले भक्तजन तथा आगन्तुकहरूको सेवामा समर्पित हुँदै सक्रियपूर्वक भाग लिएका थिए ।

हरेक विषय वस्तु, घटना आदिलाई हेर्ने हाम्रो दृष्टिकोण सकारात्मक भयो भने समस्या स्वतः समाधान हुन्छ उहाँले जोड दिदै डा. विकासानन्दले भन्नुभयो ।

पाउँदी(लमजुङ)– मनोक्रान्तिका योग गुरु डा. योगी विकासानन्द लमजुङमा विशेष कार्यक्रम बीच सहभागी हुनुभई सारगर्भित मन्तव्य व्यक्त गर्नु भयो । उहाँले लमजुङको राइनास नगरपालिका– ८ मर्स्र्याङदी नदी किनार पाउदी दोभान स्थित सर्वोदय सेवाश्रम धर्मनाथ धाममा साउन महिनाको अन्तिम सोमाबार २५ गते आयोजित बोलबम यात्राको समापनको प्रमुख आतिथ्यता समेत ग्रहण गर्नु भएको थियो ।
मनोक्रान्तिका योग गुरु डा. योगी विकासानन्दले आफ्नो प्रमुख अभिभावकत्व प्रवचनका क्रममा विशेष जीवन दर्शन प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नु भयो । उहाँले समस्या पनि हामीसंग हामी भित्रै छ र समाधान पनि हामीसंग नै रहेको छ, त्यसको विधि जान्न जरुरी छ भन्नुभयो । उहाँले जुन कुनै पनि घट्ना घट्नु समस्या होइन, त्यसपछि हामी भित्र उत्पन्न हुने भावना तथा विचारले हामीलाई खुशी र दुःखी बनाउँछ । विभिन्न घट्नासँग सम्बन्धित उदाहरण तथा कथा समेत सुनाउँदै उहाँले समस्या देखिने र नदेखिने हुन सक्छ, देखिएको जस्तो त्यसको चुरो नहुन सक्छ, गहिराईमा जादा त्यो भिन्न हुन सक्छ भन्नुभयो । हरेक विषय वस्तु, घटना आदिलाई हेर्ने हाम्रो दृष्टिकोण सकारात्मक भयो भने समस्या स्वतः समाधान हुन्छ उहाँले जोड दिदै भन्नुभएको थियो ।
सो अवसरमा उहाँले सर्वोदय सेवाश्रमको हातामा निर्माण गर्न लागिएको आरोग्य थपको शिलान्यास समेत गर्नु भएको थियो । उक्त आरोग्य थपमा व्यायाम शालादेखि मर्निङ वाक, मनोपरामर्श, आयुर्वेदीक उपचार लगायतका काम हुने सो संस्थाका परिकल्पनाकार एवम् संस्थापक अध्यक्ष कृष्ण राज ओलियाले बताउनु भयो ।
कार्यक्रमको अध्यक्षता समेत गर्नु भएका योग गुरु एवम् सर्वोदय सेवाश्रमका सल्लाहकार योग गुरु कञ्चन घिमिरेले स्वागत मन्तव्यका साथ गुरुहरूको संगतबाट सत्सँगमा जोडिन सकिन्छ र सत्सँगले मानिसमा सकारात्मक भाव पैदा गराउँछ र त्यो पथमा अघि बढ्न प्रेरित गर्दछ, त्यसले जीवन जिउन सहज हुन्छ त्यसैले हामी गुरुहरूको संगत गर्दछौं, हरेक विषयवस्तु वा घट्नाका दुई पाटा हुन्छन् सकारात्मक र नकारात्मक, हाम्रो समाजमा नकारात्मकतालाई बढी प्राथमिकता दिने प्रचलन छ तर अब हामी त्यसको उल्टोबाट हिड््न सक्नु पर्छ जसले जीवनलाई सदपरिणाम दायी बनाउने छ घिमिरेले भन्नुभयो ।
उक्त कार्यक्रममा विशिष्ट अतिथि गण्डकी प्रदेश सभाका सभामुख कृष्ण धितालले धन्यवाद मन्तव्यका साथमा हामी सबै सामाजिक प्राणी हौं । सामाजिक जीवन जीउँदा जीवन जीउने कला जान्न जरुरी छ भन्नुभयो । उहाँले हामी सामाजिक, राजनीतिक वा अन्य पेशागत जीवन विताएकाहरू सबैले गुरुहरूको संगत गर्न जरुरी छ भन्नु भयो । गुरुहरूबाट यस्ता कला, विधि सिक्न सकिन्छ जसले गर्दा हाम्रो जीवनमा सकारात्मक परिवर्तन आउँछ मानिस नैतिक अभ्यासमा लाग्न उत्प्रेरित गर्दछ उहाँले उल्लेख गर्नुभयो । उहाँले गुरुहरूको संगत गर्नु केवल धार्मिक बन्नु मात्र होइन सामाजिक कर्तव्यको दायित्व बोध गरी योगदान गर्नु पनि हो उहाँले भन्नु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति लमजुङका प्रमुख पुर्णबहादुर गुरुङ, राइनास नगरपालिकाका मेयर खड्गबहादुर गुरुङ, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरिक्षक जीतेन्द्र बस्नेत, सशस्त्र प्रहरी बल गण लमजुङका प्रमुख विकास अधिकारी, बोलवम समिति वालिङ स्याङ्जाको समूहको सहभागिता रहेको थियो ।
आयोजक संस्था सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियाले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा इलालाका प्रहरी भोटेओडारका प्रमुख प्रहरी निरीक्षक चन्द्रकला भट्टराई, राइनास नगरपालिका विभिन्न वडाध्यक्षहरू सहित कार्यपालिका सदस्यहरू, विद्यालयका प्रअहरू, सामाजिक , धार्मिक संघ संस्था, सहित सयौं भक्तजन, श्रद्दालुहरूको सहभागिता थियो ।
उक्त अवसरमा धाममा सामुहिक रुद्रीसमेत लगाईएको आश्रमका प्रचार संयोजक एवम् कवि लक्ष्मीप्रसाद मिश्रले बताउनु भयो । उहाँका अनुसार रुद्रीमा विभिन्न समुदायका दर्जन भन्दा बढी कर्ता भएर रहनु भएको थियो । उहाँले भन्नुभयो, ‘मेला भर्न आउनु हुने श्रद्धालुहरूले आश्रममा दान गर्नु भएको नगद रसिदबाट ४९ हजार १७० रुपैयाँ संकलन भएको छ । सो स्थानमा राखिएको दान पेटिका तथा भेटिको आम्दानी पछि सार्वजनिक गरिने मिश्रले जानकारी दिनु भएको छ ।
सो मेलामा नेपाल चेन्ज मेकर्स (NCM)को सेवा÷सहयोग :
सर्वोदय सेवा आश्रममा आयोजित आजको उक्त विशेष कार्यक्रममा नेपाल चेन्ज मेकर्स (NCM) का सदस्यहरूले भक्तजन तथा आगन्तुकहरूको सेवामा समर्पित हुँदै सक्रियपूर्वक भाग लिएका थिए ।
सेवा, समर्पण र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै NCM सदस्यहरूले कार्यक्रमभर सेवा भावका साथ सहयोग गरेका थिए ।
‘सेवामा समर्पित NCM — भक्तजनको सेवामा समर्पित एक दिन’ अभियान अन्तरगत मेला भर्न आएका भक्तजन तथा आगन्तुकहरूको सेवामा समर्पित रहेको सो संस्थाका संस्थापक आयुश ओलियाले बताउनु भयो । उहाँका अनुसार सेवा भनेको केवल सहयोग गर्नु मात्र होइन, आवश्यकताको समयमा कसैको साथमा उभिनु, मुस्कान बाँड्नु र समाजका लागि आफ्नो समय समर्पित गर्नु पनि हो ।
आजको कार्यक्रममा सदस्यहरूको सेवा, समर्पण, अनुशासन र सकारात्मक सोचलाई झल्काएको सो संस्थका सदस्य कृष्ण दुराले बताउनु भयो ।
हाम्रो अभियान केवल कार्यक्रमसम्म सीमित छैन, जहाँ आवश्यकता हुन्छ, त्यहाँ हाम्रो उपस्थिति होस्, जहाँ समस्या हुन्छ, त्यहाँ समाधानको प्रयास होस् । ‘सेवा हाम्रो पहिचान, परिवर्तन हाम्रो अभियान ।’ ओलियाले उल्लेख गर्नुभयो । सो कार्यक्रममा प्रतिमा नराल, शोभित कुँवरलगायतले सेवाको काममा सहभागिता रहेको थियो ।
लक्ष्मीप्रसाद मिश्र र निश्चल रेग्मीको सहयोगमा ।

प्रकाशित मिति २०८३ श्रावण २५, सोमबार २१:१५ गते
हजुरको प्रतिक्रिया