बेसीशहर– लमजुङको मध्यनेपाल नगरपालिका– ४ दुईपिप्ले बगैंचा रिस्ती खोला पुल नजिकै रहेको आदिकवि भानु र घाँसी संवाद पार्क भित्र निर्माण गरिएका तोडफोड गर्ने व्यक्तिलाई लमजुङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । उक्त संवाद पार्कमा निर्माण गरिएका आदिकवि भानुभक्त र उहाँका प्रेरणा पुरुष मानिने घाँसीको शालिक फेरेको अभियोग लागेर पक्राउ परेको व्यक्तिलाई साउन २७ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो ।
पुर्पक्षका लागि थुनामा पठाइएका व्यक्ति जिल्ला तनहुँ व्यास नगरपालिका– ७ मा स्थायी वतन भएका बर्ष ३४ का रोशन कुँवर भएको जिल्ला अदालतले जनाएको छ । अदालतले पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी ऐलेका लागि आजै भएको थुनछेक बहस पछि पुर्पक्षमा पठाउने आदेश भएको हो ।

सरकारवादी उक्त मुद्दामा कुँवरका विरुद्धमा जिल्ला न्यायाधिवक्ताको कार्यालयमार्फत ‘अपराधिक उपद्रो’ मुद्दा दर्ता भएको थियो । सो मुद्दामा फोरिएका ती शालिक पुनः निर्माणका लागि दुई लाख १७ हजार रुपैयाँ विगो दावी गरिएको भए पनि जिल्ला न्यायाधिश शिशिरराज ढकालको इजलासले कुँवरलाई पुर्पक्षमा पठाएको हो ।
उक्त स्थानमा रहेको भानु घाँसी संवाद पार्क भित्र निर्माण गरिएका आदिकवि भानुभक्त आचार्य र प्रेरणादायी घाँसी (खड्क बहादुर ठाडा मगर)का दुई शालिकमा अज्ञात व्यक्तिहरूले साउन ७ गते तोडफोड गरेका थिए । त्यो घट्नाको जानकारी हुनासाथ प्रहरीले शालिकमा क्षति पुर्याइएको घटनाको अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानको शिलशिलामा उक्त घटनाको अनुसन्धान गर्दै जाने क्रममा ती शालिक तोडफोड गरी क्षति पुर्याउनेमा व्यास नगरपालिका– ७, तनहुँमा स्थायी वतन भएका बर्ष ३४ का रोशन कुँवर भएको पुष्टि भएको थियो ।

त्यसरी ती शालिक तोडफोड भएको यो दोस्रो पटक हो । यसअघि लमजुङकै एक व्यक्तिले तोडफोड गरेकोमा त्यतिबेला एक लाख रुपैयाँ धरौटीमा उनी छुटेका थिए । त्यसपछि शालिक मर्मतको काम पनि भएको थियो ।
यसपटक पहिलो पटकको भन्दा बढी क्षति पुर्याइएको छ । तोडफोड गर्ने व्यक्ति फरक भएता पनि घट्ना दोहोरिएको हुँदा आपराधिक मनसायका व्यक्तिलाई निरुत्साहित गर्न अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हुन सक्ने जिल्लाका साहित्य एवम् संस्कृतिकर्मीहरूले आंकलन गर्दै उनीहरूले खुशी व्यक्त गरेका छन् ।
पुर्पक्षमा जेल चलान भएका कुँवरलाई ईलाका प्रहरी कार्यालय भोर्लेटारका प्रमुख प्रहरी निरीक्षक धुर्वप्रसाद शर्माको कमान्डमा खटिएको टोलीले यही साउन ८ गते पक्राउ गरेको थियो ।
उनका विरुद्धमा जिल्ला प्रहरी कार्यालय, लमजुङमा ल्याइएका उनलाई जिल्ला अदालत, लमजुङबाट आपराधिक उपद्रो मुद्धामा पटक पटक म्याद थप गर्दै अनुसन्धान कार्य गरेको जिल्ला न्यायाधिवक्ताको कार्यालयकातर्फबाट मुद्दा दर्ता गरिएको हो ।
सो मुद्दामा सरकारका पक्षबाट जिल्ला न्यायाधिवक्ताको कार्यालयका प्रमुख श्रीकला पौडेलले वहस पैरवी गर्नुभएको थियो ।
फोटो सौजन्य : सुरज गुरुङ ।
प्रकाशित मिति २०८३ श्रावण २७, बुधबार २०:०६ गते