डिडिसीद्वारा साना किसानसँग दैनिक ६० हजारभन्दा बढी दुध किन्न : त्रिपक्षीय सम्झौता

डिडिसीद्वारा साना किसानसँग दैनिक ६० हजारभन्दा बढी दुध किन्न : त्रिपक्षीय सम्झौता

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ साउन २७ गते बिहिबार १०:४३

नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.का अध्यक्ष एकराज उप्रेतीले अहिले केन्द्रीय संघको सञ्जालमा रहेका संस्थाहरूले दैनिक ४७ हजार लिटर दूध उत्पादन गर्दै आएको, यस उत्पादनलाई बढावा दिँदै जाने यस सम्झौताले प्रेरणा थपेको, अहिले तत्कालका लागि थप १५ हजार लि. दूध डिडिसीलाई दिने र यसलाई बढाएर यसै वर्ष ६० हजारभन्दा बढी लिटर दूध डिडिसीलाई दिने उप्रेतीले बताउनुभयो । उहाँले दूध बेचेको पैसा समयमै प्राप्त गर्ने सुनिश्चितता हुनेमा आफू विश्वस्त रहेको समेत बताउनुभयो ।

सम्झौतापछि संस्थानका महाप्रबन्धक डा. सरन कुमार पाण्डेले दुग्ध क्षेत्रको विकास प्रवद्र्धन गर्न यो सम्झौता कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो

काठमाडौँ– दुग्ध विकास संस्थान(डिडिसी) र नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.का बीच दैनिक ६० हजारभन्दा बढी दूध खरिदबिक्री गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ । सो सम्झौता भदौ १ गतेदेखि लागू हुने साउन २७ गते गरिएको सम्झौता पत्रमा उल्लेख गरिएको हो ।
सम्झौता पत्रमा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का महाप्रबन्धक डा. रुद्र बहादुर श्रेष्ठ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत बासु अधिकारी, दुग्ध विकास संस्थानका महाप्रबन्धक डा. सरन कुमार पाण्डेले हस्ताक्षर गर्नुभएको छ ।
डिडिसीको लैनचौर स्थित कार्यालयमा भएको सम्झौता अनुसार आउँदो भदौ १ गतेदेखि केन्द्रीय संघ र साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.का साझेदार दुग्ध उत्पादक सहकारी संस्था एवम् सदस्य किसानहरूले अहिले दिँदै आएको दूधबाहेक यसै आर्थिक वर्षमा दैनिक ६० हजारभन्दा बढी लिटर दूध डिडिसीलाई उपलब्ध गराउने सहमतिका साथ सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
डिडिसीले यी दुई संस्थाका सञ्जालमार्फत यसअघि दूध लिएर तिर्न बाँकी रकम आउँदो एक महिनाभित्र भुक्तान गरिसक्नु पर्ने, दूधको मात्रा र गुणस्तर सुरुवाती सङ्कलन केन्द्रमा मापन गर्दाकै कायम हुनुपर्ने, दूधको कन्भर्जको व्यवस्था गर्नुपर्ने, पशुपालन र दूध उत्पादन बढाउन तालिम, क्षमता विकास लगायतका कार्यक्रम सञ्चालन गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
सम्झौतापछि संस्थानका महाप्रबन्धक डा. सरन कुमार पाण्डेले दुग्ध क्षेत्रको विकास प्रवद्र्धन गर्न यो सम्झौता कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सहकारीको मूलमर्मलाई स्थापित गर्न साना किसान कृषि सहकारी संस्थाहरूले गरेको योगदानप्रति उच्च प्रशंसा गर्दै यस सञ्जालसँग जोडिएर डिडिसीले काम गर्न पाउँदा आफूहरूलाई खुसी लागेको बताउनुभयो ।
उहाँले किसानको जीवनस्तर सुधारसँगै आर्थिक सामाजिक रूपान्तरणमा सुधार ल्याउन सके समग्र अर्थतन्त्रमा सुधार गर्न सकिने बताउनुभयो । महाप्रबन्धक डा. पाण्डेले भन्नुभयो, ‘दुग्ध सङ्कलन र बजारीकरण मात्र नभई पशुपालन र दुग्ध उत्पादनको बहुआयामिक क्षेत्रमा काम गर्ने छौं ।’ डिडिसीमा विगतमा देखिएका भुक्तानी लगायतका समस्याहरू अब नदोहरिने भन्दै महाप्रबन्धक पाण्डेले नियमित भुक्तानीको ग्यारेन्टी गरेरै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महाप्रबन्धक पाण्डेले यस सम्झौताले साझा प्रयास र पहलबाट मात्र समृद्धि सम्भव रहेको भन्दै यी सबै बाटो खुलेको बताउनुभयो ।
यसैगरी सम्झौता पत्र आदानप्रदान पछि साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष खेम बहादुर पाठकले सरकारले अगाडि बढाएका नीति तथा कार्यक्रममा विगतका वर्षदेखि नै आफूहरूले साथ सहयोग गर्दै अगाडि बढेको भन्दै यो सम्झौताले सहकार्यको अर्को ढोका खोलेको बताउनुभयो । उहाँले किसानको आयआर्जन बढाउने, उत्पादन बढाउने र आत्मनिर्भरता बढाउने कार्यमा यो सम्झौताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
डिडिसीप्रतिको विगतको धारणा बदल्दै सुधारको सुरुवात भइसकेको स्पष्ट देखिसकिएको भन्दै अध्यक्ष पाठकले अब नयाँ पहलमा दुग्ध उत्पादक किसानहरू ढुक्क भएर यस अभियानमा जोडिन आग्रह गर्नुभयो । पाठकले कहीँकतै कुनै कमी कमजोरी भएको देखे तत्काल सुधारका लागि सुझाव दिन सबैलाई अनुरोध गर्नुभएको छ ।
उहाँले दूधमा देशलाई आत्मनिर्भर बनाउने बाटोमा अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । अध्यक्ष पाठकले प्रधानमन्त्रीको समेत प्राथमिकतामा परेको डिडिसीलाई माथि उठाउन किसान तहबाटै सबैको साथ सहयोग आवश्यक रहेको बताउनुभयो ।
सो अवसरमा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.का अध्यक्ष एकराज उप्रेतीले डिडिसीसँग भएको सम्झौताले नेपाली दुग्ध उत्पादक किसानहरूका लागि ऐतिहासिक दिन भएको उल्लेख गर्नुभयो ।
उहाँले सबै किसानहरूको जीवनमा आर्थिक रूपमा सबलता ल्याई मुहारमा खुसी थप्दै जान यो सम्झौताले सहयोग पुग्ने स्पष्ट पार्नुभयो ।
अहिले केन्द्रीय संघको सञ्जालमा रहेका संस्थाहरूले दैनिक ४७ हजार लिटर दूध उत्पादन गर्दै आएको भन्दै उहाँले यस उत्पादनलाई बढावा दिँदै जाने विषयमा समेत यस सम्झौताले प्रेरणा थपेको अध्यक्ष उप्रेतीले बताउनुभयो ।
अहिले तत्कालका लागि थप १५ हजार लि. दूध डिडिसीलाई दिने र यसलाई बढाएर यसै वर्ष ६० हजारभन्दा बढी लिटर दूध डिडिसीलाई दिने उप्रेतीले बताउनुभयो । उहाँले दूध बेचेको पैसा समयमै प्राप्त गर्ने सुनिश्चितता हुनेमा आफू विश्वस्त रहेको समेत बताउनुभयो ।
उक्त सम्झौता पत्र आदान प्रदान कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. नायब प्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराई, वरिष्ठ प्रबन्धक दिपाकर रुपाखेती, डिडिसीका उपमहाप्रबन्धक, कर्मचारी लगायतको सहभागिता थियो ।

प्रकाशित मिति २०८३ श्रावण २८, बिहीबार १०:४३ गते
हजुरको प्रतिक्रिया