कहिलेकाहीँ केही व्यक्तिहरूको उपस्थितिले जीवनमा यस्तो न्यानोपन भरिदिन्छ कि उनीहरू आफ्नै परिवारका सदस्यझैँ लाग्न थाल्छन् र त्यस्ता व्यक्तिको बिछोड केवल एउटा व्यक्तिको निधन हुँदैन, आफ्नै जीवनको एउटा भरोसाको छानो ढलेझैँ हुन्छ । श्रद्धेय नगेन्द्रराज शर्मा दाइको निधनको खबरले मलाई यस्तै अनुभूति गरायो, जसरी आफूलाई जन्म दिने पिता गुमाउँदा भएको थियो ।
नेपाली साहित्यिक पत्रकारिता जगतका धरोहर, अभिव्यक्ति साहित्यिक द्वैमासिक पत्रिकाका संस्थापक, सम्पादक तथा संरक्षकका रूपमा उहाँले नेपाली साहित्यमा पुर्याउनुभएको योगदान शब्दमा बयान गर्न सकिँदैन । पाँच दशकभन्दा लामो समयदेखि निरन्तर अभिव्यक्ति प्रकाशन गरेर उहाँले असङ्ख्य स्रष्टालाई अभिव्यक्तिको मञ्च दिनुभयो । उहाँका लागि साहित्य केवल सिर्जना थिएन, नयाँ प्रतिभालाई खोज्ने, हुर्काउने र उनीहरूलाई निरन्तर लेखिरहन प्रेरित गर्ने एउटा जीवनधर्म थियो ।
मेरो उहाँसँगको परिचय आज सम्झँदा अत्यन्त आत्मीय लाग्छ । विभिन्न साहित्यिक कार्यक्रममा भेटघाट त पहिले पनि भइरहन्थ्यो तर वि. सं २०७९ सालमा जगदीश घिमिरे प्रतिष्ठानले आयोजना गरेको जगदीश घिमिरे स्मृति पुरस्कार तथा सम्मान कार्यक्रममा उहाँसँग अझ नजिकबाट चिनजान हुने अवसर मिल्यो । काठमाडौँदेखि मन्थलीसम्मको यात्रामा आफ्नो प्राइभेट गाडीमा सजिलोसँग बस्न छोडेर हामीसँग माइक्रो बसमा बसेर यात्रा गर्नुभयो उहाँले । यात्राभरि आफ्नोभन्दा धेर अरूको चासो लिनुभयो । उहाँको यस्ता किसिमका आत्मीयताले मलाई लेखनमा झन् उर्जा मिल्यो । त्यसपछि त उहाँसँगको सम्बन्ध एउटा वरिष्ठ साहित्यकार र कनिष्ठ स्रष्टाको औपचारिक सम्बन्धमा सीमित रहेन; त्यो क्रमशः अभिभावक र सन्तानबिचको स्नेहमा रूपान्तरित हुँदै गयो ।
हामी दुवैको जन्मथलो रामेछाप भएकाले उहाँले मलाई सधैँ ‘रामेछापकी चेली’ भनेर सम्बोधन गर्नुहुन्थ्यो । त्यो सम्बोधनमा मलाई अपनत्व, आत्मीयता र गर्व मिसिएको महसुस हुन्थ्यो । उहाँका ती शब्दहरू आज पनि कानमा गुञ्जिरहेका छन् । म उहाँका लागि कुनै औपचारिक परिचय मात्र थिइनँ, उहाँकै बहिनी अथवा छोरी जस्तै थिएँ ।
उहाँसँग भेट हुँदा वा फोनमा कुराकानी हुँदा सधैँ एउटै कुरा भनिरहनुहुन्थ्यो, ‘जीवनभर लेखिरहनु है ।’ उहाँको त्यो आग्रह मेरा लागि प्रेरणा बन्यो÷बनिरहेको छ ।
बेलाबेलामा अभिव्यक्तिका लागि रचना माग्नुहुन्थ्यो । उहाँको विश्वासले मलाई अझ जिम्मेवार भएर लेख्न प्रेरित गथ्र्यो । वरिष्ठ स्रष्टा भएर पनि उहाँमा अहङ्कारको कुनै छायाँ थिएन । सरलता, विनम्रता र नयाँ पुस्ताप्रतिको अथाह माया उहाँको सबैभन्दा ठूलो परिचय थियो ।
वि. सं. २०८२ साल पुस महिनाको सुरुमा मलाई नगेन्द्र दाइको फोन आयो । उहाँले भन्नुभयो, ‘तिम्रो बायोडाटा मलाई पठाऊ । कारण पछि भन्छु ।’ मैले हस् भनेर उहाँलाई तुरुन्तै मेरो बायोडाटा पठाएँ । उहाँले मलाई गर्नुभएको त्यो फोन आज झन् जीवन्त भएर सम्झनामा आएको छ । त्यसपछि केही दिनपछि फेरि उहाँको फोन आयो । उहाँले भन्नुभयो, ‘जगदीश घिमिरे स्मृति पुरस्कार २०८१ का लागि छनोट भएकोमा तिमीलाई बधाई छ ।’ म अचम्ममा परेँ । ‘रामेछापमै जन्मेर नेपाली भाषा र साहित्यको सेवामा एक दशकभन्दा लामो समयदेखि निरन्तर लागिरहेकोले तिमी यो पुरस्कारको लागि योग्य छौ । तिम्रा प्रकाशित कृति अभिव्यक्तिको कार्यालयमा ल्याएर छोडिदिनु ।’ यसरी मलाई उहाँले जानकारी गराउँदा म त अवाक बनेकी थिएँ । यसरी २०८२ सालका लागि वरिष्ठ साहित्यकार पवन आलोक र २०८१ सालका लागि मलाई छनोट गरिएको खबर सुनाउँदा उहाँको स्वरमा मेरो सफलताप्रतिको खुसी स्पष्ट सुनिन्थ्यो ।
वि.सं २०८१ मा जगदीश घिमिरे स्मृति पुरस्कार तथा सम्मानको कार्यक्रम केही समस्याका कारण हुन नसकेकाले वि.सं २०८२ माघ ३ गते शनिबार गरिएको थियो । पेप्सिकोलाको मनोहरा पुलमा सबैजना भेला भएर मन्थली जाने जानकारी मलाई नगेन्द्र दाइले नै बेला बेलामा फोन गरेर गराइरहनु भएको थियो । त्यस कार्यक्रमका लागि काठमाडौबाट माघ २ गते शुक्रबार हामी एउटा माइक्रो बस र अन्य २–३ वटा निजी सवारीसहित मन्थलीतर्फ प्रस्थान गरेका थियौँ । बाटोमा खाजा, खानासहित नगेन्द्र दाइको माया पाएर निकै रमाइलोसँग हामी मन्थली पुग्यौँ । आफू विभिन्न रोगसँग सामना गरिरहे पनि मेरो स्वास्थ्य र खानपानबारे पनि दाइले चासो लिनुभएको थियो । नगेन्द्र दाइ मधुमेह, उच्च रक्तचाप र मुटुसम्बन्धी समस्याले पीडित हुनुहुन्थ्यो । म पनि मुटुरोगी भएकाले यात्रामा उहाँले मेरो निकै चासो लिनुभएको थियो । केही हुन्न नानी, चिन्ता पटक्कै गर्नु हुँदैन । सब ठिक हुन्छ । उहाँको यस्तो माया पाएर म आधा सञ्चो भएको महसुस गर्थे ।
पुरस्कार वितरण समारोहमा उहाँले सार्वजनिक रूपमै भन्नुभएको थियो, ‘मीना चौलागाईं जस्ता सर्जक रामेछापले जन्माएको छ । उनलाई मैले खोजी गरेर भेट्टाएको हुँ । उनले अझै साहित्यको क्षेत्रमा धेरै गर्न सक्छिन् भन्ने विश्वास लिएको छु ।’ नगेन्द्र दाइको यी वाणीहरू मेरो कानमा अझै गुञ्जिरहेका छन् ।
उहाँका यी वाणीहरूले म अत्यन्त भावुक भएकी थिएँ । आफूले श्रद्धा गर्ने यति ठूलो व्यक्तित्वबाट प्राप्त त्यो विश्वास र आशीर्वाद कुनै पुरस्कारभन्दा कम थिएन । उहाँको त्यो स्नेहले मेरो लेखकीय यात्रामा थप आत्मविश्वास भरेको थियो र जगदीश घिमिरे स्मृति पुरस्कारले मेरो साहित्यको गोरेटो झन् फराकिलो बनाउन सहयोग गरेको थियो ।
उहाँको अर्को विशेषता भनेको मानिसको सुखदुःखमा सधैँ चासो राख्ने बानी पनि हो । मानव शरीरमा समस्या त आइरहन्छन् । हरेस खानु हुन्न है । आत्मबल नै ठूलो ओखती हो । मेरा लागि उहाँका यी शब्दहरूमा केवल सान्त्वना मात्रै थिएनन्, जीवनलाई सकारात्मक ढङ्गले हेर्ने ऊर्जा थियो । एक दशकदेखि मुटुसम्बन्धी समस्याले पीडित म उहाँका यस किसिमको हौसलाले आफूलाई निरोगी महसुस गर्थेँ । आफ्ना अनुभवबाट अरूलाई बाँच्ने हिम्मत दिने उहाँको स्वभाव असाधारण थियो ।
आज उहाँ हाम्रो बीचमा हुनुहुन्न तर उहाँले दिएका ती हौसला, ती माया, ती आत्मीय शब्द र ती अमूल्य सुझावहरू सधैँ मेरा साथमा रहनेछन् । उहाँले नयाँ पुस्ताका स्रष्टाप्रति देखाउनुभएको विश्वास नै उहाँको सबैभन्दा ठूलो विरासत हो । यस्ता व्यक्तित्वहरू शारीरिक रूपमा बिदा भए पनि उनीहरूले छोडेका संस्कार, मूल्य र प्रेरणाले पुस्तौँसम्म उज्यालो फैलाइरहन्छन् ।
आज उहाँको अनुपस्थितिमा आफूलाई साँच्चै अभिभावकविहीन महसुस गरिरहेकी छु । फोन गरेर हालखबर सोध्ने एउटा आवाज सधैँका लागि मौन भएको छ । ‘लेखिरहनू’ भन्ने प्रेरणादायी आग्रह अब प्रत्यक्ष सुन्न पाइने छैन । ‘रामेछापकी चेली’ भनेर माया गर्ने त्यो आत्मीय सम्बोधन अब केवल सम्झनामा बाँकी रहनेछ ।
श्रद्धेय नगेन्द्रराज शर्मा दाइ, तपाईंले दिनुभएको माया, विश्वास, हौसला र आशीर्वाद मेरो जीवनको अमूल्य निधि बनेर सधैँ रहनेछ । तपाईंप्रति हार्दिक श्रद्धाञ्जली ! तपाईंको आत्माले शान्ति पाओस् । नेपाली साहित्य र साहित्यिक पत्रकारिताले एउटा युगपुरुष गुमाएको छ, तर तपाईंले रोप्नुभएको सिर्जनाको बिरुवा अनन्तकालसम्म हराभरा भइरहनेछ । तपाईंका कृतिहरूमा तपाईं सधैँ सधैँ बाँचिरहनुहुनेछ ।
तपाईंप्रति फेरि पनि हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । तपाईंजस्ता मान्छेले परलोकमा पनि राम्रै स्थान पाउनुभयो होला भन्नेमा पनि विश्वस्त छु । अल बिदा नगेन्द्रराज शर्मा दाइ !
काभ्रे, रामेछाप ।
प्रकाशित मिति २०८३ श्रावण २८, बिहीबार १७:५४ गते