कांग्रेस इतर पक्षको राष्ट्रिय भेला आजबाट, कांग्रेसमा देउवाको अभिभावकत्व कति सम्भव ?

कांग्रेस इतर पक्षको राष्ट्रिय भेला आजबाट, कांग्रेसमा देउवाको अभिभावकत्व कति सम्भव ?

एजेन्सी

@antaranganews

२०८३ साउन २८ गते शुक्रबार ०७:०३

कांग्रेसले आफ्ना सांसदहरूलाई संसद् र संसदीय समितिको उच्च मर्यादा कायम राख्दै तथ्यमा आधारित भएर सुशासन, पारदर्शिता, जनजीविका तथा नागरिक अधिकारका विषयमा जिम्मेवार ढङ्गले प्रस्तुत हुन निर्देशन दिएको छ ।

‘हाम्रो खिलापमा मुद्दा हाल्यो । अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टमा पनि मुद्दा हालेका थिए तर शेरबहादुर र आरजुलाई पक्रेर काम छैन भनिदियो । यहीँ (नेपाल) मा पनि मुद्दा लगाएको छ, यस्तो फटाहाहरू छन् यहाँ !’ : देउवा

काठमाडौं– नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज साउन २९ गतेबाट काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुँदै छ । भेलाको बिहान साढे ११ बजे भेलाको उद्घाटन तत्कालीन सभापति शेरबहादुर देउवाले गर्ने हुनु भएको छ ।
भेला साउन ३१ गतेसम्म चल्ने प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले बताउनु भयो । उहाँका अनुसारभेलाको संयोजक पूर्वमहामन्त्री डा. शशांक कोइराला रहनु भएको छ ।
सर्वोच्च अदालतले हालै मात्र कांग्रेसको नेतृत्व र आधिकारिता विवादमा पुनरवलोकन गर्ने अनुमति दिएपछि यो समूह पछिल्लो समय झनै उत्साहित बनेको छ ।
निवर्तमान सभापति देउवा ५ महिना लामो उपचारपछि विदेशबाट स्वदेश फर्कना साथ कांग्रेस संस्थापन इतर पक्षले उहाँलाई स्वागत गरेर चुनदेवीस्थित सम्पर्क कार्यालय पुर्याएको थियो । सो कार्यालयमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका लागि बेग्लै कोठाको प्रबन्ध गर्दै उहाँको नेमप्लेटमा ‘सभापति’ लेखिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेता कार्यकर्ताहरूले बाजागाजासहित उहाँलाई चुनदेवी सम्पर्क कार्यालय पुर्याएका थिए ।
सम्पर्क कार्यालयमा राष्ट्रिय भेला आयोजक समिति संयोजक पूर्वमहामन्त्री शशांक कोइरालाका लागि बेग्लाबेग्लै कक्ष छ ।
गत पुसमा भएको विशेष महाधिवेशनमा देउवा पक्ष सहभागी भएका थिएनन् । उनीहरूले चुनदेवीमा सम्पर्क कार्यालय खोलेर समानान्तर गतिविधि गर्दै आएका छन् ।
मलाई राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ ?
यसैबीच कांग्रेसका निवर्तमान सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेश फर्किएलगत्तै चुनदेवीस्थित संस्थापनइतर पक्षले खोलेको सम्पर्क कार्यालयमा भेला भएका नेता तथा कार्यकर्ताहरूलाई संक्षिप्त सम्बोधन गर्नु भयो ।
त्यस क्रममा पूर्वप्रधानमन्त्री देउवाले पछिल्लो पटक जेनजी आन्दोलनपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आफू र परिवारमाथि गरेको अनुसन्धानतर्फ संकेत गर्दै पक्राउ पुर्जी लिएर पक्राउ गर्न खोजेकोसमेत उल्लेख गर्नु भएको थियो ।
भदौ २४ गते देउवा दम्पतीमाथि कुटपिट हुनुका साथै उहाँको बूढानीलकण्ठस्थित घरमा आगजनी भएको थियो । आगजनीका क्रममा जलेका टुक्रा नोट फेला परेको सामाजिक सञ्जालमा भिडिओ आएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुचुल्कासमेत उठाएको थियो ।
अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टमा पनि मुद्दा हालेको स्मरण :
देउवालाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी जारी गरे पनि सर्वोच्च अदालतले उक्त पक्राउ पुर्जीका आधारमा देउवालाई पक्राउ नगर्न भनेको थियो ।
पूर्वप्रधानमन्त्री देउवाले यी घटनाक्रम बारेमा संक्षेपमा भन्नुभयो, ‘हाम्रो खिलापमा मुद्दा हाल्यो । अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टमा पनि मुद्दा हालेका थिए तर शेरबहादुर र आरजुलाई पक्रेर काम छैन भनिदियो । यहीँ (नेपाल) मा पनि मुद्दा लगाएको छ, यस्तो फटाहाहरू छन् यहाँ, सर्वोच्चले पनि शेरबहादुर र आरजुलाई पक्राउ नगर भन्ने आदेश दियो । तैपनि बदमासी ग¥यो ।’
उहाँले थप भन्नुभयो, ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग छ यहाँ पनि, एक पटक आयो, केही छैन भन्यो, दोस्रो पटक आयो केही छैन भन्यो । उसलाई निकालिदियो। यतिसम्म बदमासीपूर्ण काम गरेको छ, तर मलाई बदलाको भावना लिनु छैन ।’
सम्पत्ति शुद्धीकरण अनुसन्धान आयोगले आफूहरूमाथि पटक पटक अनुसन्धान उहाँको कथन थियो ।
उहाँले आफूलाई असजिलोमा पार्न पूर्वराजा ज्ञानेन्द्र शाहले त केही गर्न नसकेको भन्दै अरूले सक्छ ? भन्दै प्रश्न गर्दै आफूले जनतालाई मालिक ठानेकोले कसैले केही गर्न नसक्ने भन्नुभयो ।
देउवाले थप भन्नुभयो, ‘म धेरै कुरा गर्ने पक्षमा छैन, संविधान सभाको पहिलो बैठकले नेपालमा गणतन्त्र ल्याएको हो, गणतन्त्र । मैले मात्रै चाहेर ल्याएको हो ? संविधानसभाले ल्याएको हो गणतन्त्र । मैले मात्र चाहेको भए आउने पनि थिएन, मैले चाहेर जाने पनि होइन । नेपाली जनता सबैभन्दा ठूलो हो । जनता मालिक हो । मालिकले जे भन्यो त्यही हुन्छ ।’
चुनदेवी सम्पर्क कार्यालय पुगेपछि देउवाले नेता कार्यकर्ताहरूलाई संक्षिप्त सम्बोधन पछि उहाँका लागि तय गरिएको कोठामा बसेर नेताहरूसँग कुराकानी गर्नु भएको थियो ।
कांग्रेसमा देउवाको अभिभावकीय भूमिका कति सम्भव ?
नेपाली कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवाको स्वास्थ्यलाभको कामना गर्दै उहाँको अभिभावकीय भूमिकाको प्रशंसा गरेको छ । कांग्रेसले आफ्ना सांसदहरूलाई संसद् र संसदीय समितिमा मर्यादित व्यवहार गर्न निर्देशन दिएको छ ।
पार्टीले प्रेस स्वतन्त्रता हनन, संसदीय मर्यादा उल्लंघन र रोल्पाको पहिरोमा भएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै सरकारसँग तत्काल राहत र उद्धारको माग गरेको छ ।
कांग्रेसको केन्द्रीय समितिले देउवाको राजनीतिक योगदानको प्रशंसा गर्दै पार्टीको वैधानिक परिवर्तनलाई संस्थागत गर्न र समयसापेक्ष तथा गतिशील कांग्रेस निर्माणमा निवर्तमान सभापतिका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ ।
सभापति गगन थापाको अध्यक्षतामा साउन २४ गतेदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकले विशेष महाधिवेशनमार्फत पार्टीमा आएको वैधानिक परिवर्तन संस्थागत गर्न देउवाको भूमिका रहने अपेक्षा गरेको छ ।
तर देउवा निवर्तमान सभापतिका रुपमा रहन यो समाचार तयार गर्दासम्म तयार देखिनु भएको छैन ।
सो बैठकले प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पाको पहिरोमा भएको जनधनको क्षतिबारे समेत निर्णय गरेको छ । कांग्रेसले संवैधानिक विधि र स्थापित प्रक्रियालाई बेवास्ता गर्दै पत्रकार पक्राउ गर्ने, सञ्चारगृहमा खानतलासी गर्ने र हत्कडी लगाउने कार्यलाई गलत र अवाञ्छित भनेको छ ।
कांग्रेसले आफ्ना सांसदहरूलाई संसद् र संसदीय समितिको उच्च मर्यादा कायम राख्दै तथ्यमा आधारित भएर सुशासन, पारदर्शिता, जनजीविका तथा नागरिक अधिकारका विषयमा जिम्मेवार ढङ्गले प्रस्तुत हुन निर्देशन दिएको छ ।
बैठकमा केन्द्रीय सदस्य एवं संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसहित १८ जना केन्द्रीय सदस्यले २८ गते धारणा राखेका थिए । छलफल जारी रहेकाले केन्द्रीय कार्यसमितिको अर्को बैठक आज साउन २९ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनु भयो ।
इतरपक्षबाट आज साउन २९ गतेदेखि साउन ३१ गतेसम्म राष्ट्रिय भेलाको आयोजना गरिएको छ ।

प्रकाशित मिति २०८३ श्रावण २९, शुक्रबार ०७:०३ गते
हजुरको प्रतिक्रिया