नेपालको पर्यटन कुनै न कुनै रुपमा धर्म, इतिहास र संस्कृतिसँग गहिरो गरी जोडिएको छ । विशेष चाडपर्वका अवसरमा तीर्थयात्रामा निस्कने हाम्रो परम्परा नै पर्यटनको एउटा सुन्दर रुप हो । इतिहास, धर्म र संस्कृति बिना त कुनै पनि यात्रा अधुरो हुन्छ । पर्यटनको क्षेत्रमा धार्मिक अथवा आध्यत्मिक उद्देश्यले गरिने यात्रा तीर्थाटन पर्यटन हो । धार्मिक पर्यटनको सुरुवात मानव सभ्यताको प्रारम्भिक कालदेखि भएको मानिन्छ । मानिसहरूले जबदेखि धार्मिक विश्वासहरू विकास गर्न थाले त्यही समयदेखि तीर्थाटनमा यात्रा गर्न थालेका हुन ।
धार्मिक यात्राले हाम्रो शास्त्रमा शरीर, मन र समाजको लागि, आध्यात्मिक फल घरको दैनिक मोह, लोभबाट केही दिन टाढा भएर मन शुद्ध हुन्छ । त्यसैले भनिएको हो (तीर्थे स्नाने, जपे होमे …) तीर्थमा गरेको सानो पुण्य पनि ठूलो हुन्छ किनभने मन एकाग्र हुन्छ । मानसिक र शारीरिक फल निरन्तर हिँडनु, उकालो ओरालो गर्नु, नयाँ हावापानीमा जानुले शरीरको शुद्धि र मनको तनाव कम हुन्छ । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा अर्थात ऋषि तर्पणी पर्वको आफ्नै मौलिक महत्व छ । पछिल्लो समय नदी, ताल र पोखरीमा स्नान गरी गुरु पुरोहितबाट रक्षासूत्र बाँद्धै तीर्थयात्रा गर्ने प्रचलन बढदो छ । जनै पूर्णिमामा तीर्थयात्री जाने धेरै धाम छन । मानसरोवर, रसुवाको गोसाइँकुण्ड, मुस्ताङको मुक्तिनाथ, प्युठानको स्वर्गद्वारी, मुगुको छायाँनाथधाम जस्तै सुदूरपश्चिम बाजुराको बडिमालिका पनि धेरै पर्यटक पुग्दछन ।

सुदूरपश्चिमको बाजुराको शिरमामा एउटा यस्तो धाम छ, जहाँ पुग्नलाई पाइलाले बाटो खोज्नुपर्छ, तर मनले मोक्ष पाउँछ । बडिमालिका जहाँ तीर्थ र स्वर्गको अनुभुति हुने एकै ठाउँमा भेटिन्छ । आजभोलि तीर्थयात्रीको खोजी केवल मन्दिरमा मात्र सीमित छैन, नपुगेको, मौलिक ठाउँको खोजीमा हुन्छन । समुद्र सतहबाट ४२०० मिटर उचाइमा, बादलभन्दा माथि रहेको पवित्र बडिमालिकाको भूमिमा पुग्न तीन दिनको पदयात्रा गर्नुपर्छ । तर यो थकान होइन, तपस्या हो । बाटोभरि फुलेका बुकीफूल, चराचुरुङ्गीको संगीत, हिमालको काखमा लुकामारी खेल्ने कुहिरो र चिसो बतासले पर्यटकहरूलाई स्वागत गरिरहेका हुन्छन । बडिमालिका पुगेपछि पर्यटकहरूलाई मालिका देवीको दर्शन मात्र होइन, दृष्यकोसमेत तीर्थ हुन्छ । एकातिर देवीको शक्तिपीठको आशीर्वाद, अर्कातिर आँखै अगाडि लहरै फैलिएको सेताम्मे हिमश्रृखला र हरियाली फाँट ।
पर्यटनको लागि बडिमालिकाको यात्रा केवल भौतिक मात्र हुदैन, आत्मा, श्रद्धा र विश्वासको यात्रा हुन्छ । बडिमालिका ५१ शक्ति पीठमध्ये एक मानिन्छ । यो शक्तिपीठ मात्र होइन, प्रकृतिले मानव जातिलाई दिएको अनुपम उपहार पनि हो । पाँच महिना हिउँले र चार महिना कुहिरोले ढाकिने बडिमालिकाको पदयात्रामा बाजुरा, अछाम, बझाङ, डडेल्धुरा, डोटी मात्र होइन, कालीकोट र मुगुका मनोरम भूदृश्यहरू पनि नियाल्न पाइन्छ । वर्षमा दुई पटक गंगा दशहरा र जनै पूर्णिमाको अघिल्लो दिन बडिमालिकामा भव्य मेला लाग्छ । बाजुरा र कालीकोटको सिमानामा रहेको यो भूस्वर्गमा श्रावण शुक्ल द्वादशीदेखि चतुर्दशीसम्म विशेष पूजा हुन्छ । बडिमालिकाको यात्रा आत्मज्ञान र परमसत्यको खोज पनि हो । आधुनिक जीवनशैलीले भौतिक सुख त दिएको छ । तर मानसिक शान्ति र आत्मिक सन्तोष हराउँदै गएको बेला धार्मिक पर्यटकहरू शान्तिको खोजीमा आध्यात्मिक यात्रामा रुचि राख्दछन । बडिमालिकाको यात्राले म को हुँ ? जीवनको अर्थ के हो ? जस्ता गहिरा प्रश्नहरूको उत्तर खोज्न प्रेरित गर्छ । त्यसैले आज शिक्षित र आधुनिक वर्गमा पनि आध्यात्मिक पर्यटन लोकप्रिय बन्दै गएको छ ।

बडिमालिका पूजाआजा गर्ने थलो मात्र होइन, प्राकृतिक सौन्दर्य, सांस्कृतिक परम्परा, योग, ध्यान र तान्त्रिक साधनाको केन्द्र पनि हो । यहाँ पुग्ने हरेक पर्यटकले आध्यात्मिक उर्जाको प्रत्यक्ष अनुभूति गर्छन । बडिमालिकाको उत्पत्तिसँग धेरै पौराणिक कथाहरू जोडिएका छन । श्रीमदभागवत, स्कन्दपुराण र स्थानीय जनश्रुतिअनुसार दक्ष प्रजापतिको यज्ञमा निम्ता नपाएकोमा आहत भएर सतीदेवीले आत्मदाह गरिन । क्रोधित शिवले सतीको शव बोकेर ताण्डव गर्न थालेपछि सृष्टिमा शंकट आउन थाल्यो । तब भगवान विष्णुले सुदर्शन चक्रले सतीको शरीरलाई खण्ड खण्ड पारिदिए । जहाँ जहाँ अंग खसे, त्यहाँ शक्तिपीठ बने । सतीदेवीको बायाँ हातको पाखुरा खसेको स्थान बडिमालिका भएको धार्मिक विश्वास गरिन्छ ।
बडिमालिका डाँडाको चुचुरोमा रहेको मुख्य मन्दिरलाई ऋषिमुनिहरूको तपोभूमि मानिन्छ । काठ, ढुंगा र सुर्कीले बनेको यस मन्दिरमा मूर्ति नराखी कालो ढुंगालाई नै देवीको स्वरुप मानेर पूजा गरिन्छ । त्यसैले देवीलाई निर्मोही माता पनि भनिन्छ । मन्दिर वरिपरिका ढुंगाहरूलाई ऋषिहरूको स्वरुप मानेर पूजा गर्ने चलन छ । इतिहास अनुसार बडिमालिकाको पहिलो देउरो अर्थात मन्दिर बाजुराका दीपराज छत्यालले बनाएका थिए । पछि शाके १५९१ मा जुम्लाका कल्यालवंशी राजा वीरभद्र शाहीले कालापानीबाट ढुंगा बोकाएर मन्दिर बनाउन लगाए । शाके १६७९ मा राजा शूरदर्शन शाहले जीर्णोद्धार गरी मूर्ति स्थापना गरे । २०३६– ३७ सालमा तत्कालीन जिविस सभापति छत्रबहादुर शाह र पैमाका पुजारीहरूको सक्रियतामा मन्दिर पुनः निर्माण भयो । गत बर्ष नेपाली सेनाले कलात्मक मन्दिर र हवनकुण्ड पुनः निर्माण गरेको छ । नेपाली सेनाको इष्टदेवीको रुपमा पूजिने बडिमालिकासँग अमरसिंह थापाकै पालादेखि सेनाको नाता जोडिएको छ ।

बडिमालिका सुदूरपश्चिमको सभ्यता, संस्कृति, प्रकृति र आध्यात्मिकताको संगम हो । जनै पूर्णिमा मेलामा सुदूरपश्चिम, कर्णाली र भारतको उत्तराखण्ड, हिमाञ्चल प्रदेशसम्मबाट तीर्थयात्री पर्यटकहरू पुग्दछन । बडिमालिकाको यात्रामा तीन नदीको संगमस्थल त्रिवेणीधामको विशेष महत्व छ । त्रिवेणीमा स्नान र पूजा गरी तीर्थयात्री पर्यटकहरू बडिमालिका उक्लिन्छन र भोलिपल्ट बिहान पूजा गरी बाजुराकै नाटेश्वरी मन्दिरमा फर्किन्छन । नाटेश्वरीमा पूजा गरेपछि मात्र बडिमालिका दर्शनको चक्र पूरा हुने मान्यता छ । बडिमालिकाको पूजा परम्परा पनि निकै रोचक छ । तत्कालीन सिँजा राज्यको प्रतिनिधित्व गर्दै जुम्लाबाट डोली र डोटी राज्यको प्रतिनिधित्व गर्दै डोटीबाट पेटारो सहित सरकारी पूजा सामग्री पठाउने परम्परा अहिलेसम्म कायमै छ । जुम्लाबाट नागपञ्चमीका दिन चन्दननाथको डोली नेपाली सेनाको सलामीसहित प्रस्थान गर्छ भने डोटीबाट अमरसिंह थापाकै पालादेखि डोली पठाउने चलन छ । गत वर्षदेखि धनगढी उपमहानगरपालिकाले समेत पूजा सामग्री पठाउन थालेको छ । कालिकोट र बाजुराबाट पनि प्रशासनले औपचारिक टोली पठाउने गरेको छ ।
इतिहास खोज्ने हो भने, बडिमालिकामा बि.सं.१८८३ मा राजा रणबहादुर शाहले मत्गल्य अर्थात माङ्गल्य गोत्रका ब्राह्मणलाई मूल पुजारी तोकी बक्सेको लालमोहरको प्रमाण अझै पनि पुजारी परिवारसँग सुरक्षित छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहदेखि वीर अमरसिंह थापा, भीमसेन थापा हुँदै राणा शासकहरूसम्मले यस पवित्र धामको तीर्थयात्रा गरेको गौरवमय इतिहास छ । त्यसैगरी २०३६ सालमा राजा वीरेन्द्रले चढाउनु भएको विशाल घण्टा आज पनि बडिमालिका परिसरमै रहेको छ । जुन घण्टा यति ठूलो छ कि एक हातले हल्लाउन समेत मुस्किल पर्छ । बडिमालिकामा सेतो धोती लगाएका पुजारीले मन्त्रोच्चारण गर्दै पूजा गराउँछन । यहाँ परेवा उडाउने र घण्टा चढाउने चलन छ । मेलाको समयमा बडिमालिकाको वातावरण अत्यन्तै आध्यात्मिक र भावुक बन्छ ।

बडिमालिका धार्मिक तीर्थ मात्र होइन, प्रकृति प्रेमी पर्यटकका लागि पनि भूस्वर्ग मानिन्छ । यहाँको विशाल पाटन, जैविक विविधता, पाटनमा फुलेका रंगीचंगी फूल, लस्करै चरिरहेका भेडाका बथान र घोडाहरूले पदयात्रा गर्ने पर्यटकहरूलाई मन्त्रमुग्ध बनाउँछ । वैशाखदेखि असोजसम्म कालीकोट, बाजुरा, हुम्ला, मुगु, अछामका गोठहरू त्रिवेणी क्षेत्रमा रहन्छन । पर्यटकले यात्राभरि भेटिने ससाना मठमन्दिर, कञ्चन हिमाली खोला, अविरल झरना, घाँसे मैदान, नीलो आकाश, आँखाले भ्याएसम्म देखिने पहाड पर्वत र कुहिरोको लुकामारीसँगै गुञ्जने देउडा भाकाले यात्रालाई रोमाञ्चक बनाउँछ । पर्यटकहरूलाई मौसमअनुसार रुप फेर्ने पाटनहरू हिउँदमा सेताम्मे र वर्षामा हरिया फूलले ढकमक्क हुुने कुनै कुशल चित्रकारको हस्तकला जस्तै लाग्छन । नजिकै रहेका बूढीनन्दा, कैलाश ताल, राक्षस ताल, कालाजग्रा गुफाताल, दउने ताल जस्ता तालहरुले बडिमालिकाको पर्यटकीय महत्व अझ बढाएको छ । पौराणिक कालमा राक्षस र भगवतीबीचको लडाइँमा बगेको रगतको अवशेष मानिने स्थानहरू हेर्न बडिमालिकामा भारतीय पर्यटकहरू समेत पुग्दछन । सुदूरपश्चिमका सात बहिनी भगवती शैलेश्वरी, उग्रतारा, निगलाशैनी, त्रिपुरासुन्दरी, डिलाशैनी र मेलौलीमध्ये बडिमालिकालाई कान्छी बहिनी मानिन्छ ।

बडिमालिकाको सबैभन्दा ठूलो आकर्षण भनेको जनैपूर्णिमामा लाग्ने मेला हो । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाको अवसरमा यहाँ ३ दिनसम्म ठूलो मेला लाग्छ । यो मेलामा नेपालका बाजुरा, अछाम, बझाङ, डोटी, कैलाली, कञ्चनपुर लगायत देशभरबाट र भारतको उत्तराखण्ड, उत्तर प्रदेश लगायतका क्षेत्रबाट हजारौं तीर्थयात्री पुग्ने गर्दछन ।बडिमालिकालाई धार्मिक स्थल मात्र भन्नु अन्याय हुन्छ, यो प्राकृतिक स्वर्ग हो । बडिमालिका को यात्रामा मुख्य आकर्षण भनेको यहाँका २२ वटा पाटनहरू हुन । घना जंगल सकिएपछि एक्कासी सुरु हुने फराकिला, हरिया पाटनहरूले स्वागत गर्छन । वर्षायाममा यी पाटनहरूमा सयौं थरीका फूलहरू फुल्छन । जसले गर्दा पाटनहरू प्राकृतिक फूलबारी जस्तै देखिन्छन । त्यही पाटनमा चरिरहेका घोडा,खच्चड, भेडा, च्याङ्ग्राका बथानले दृश्यलाई अझ जीवन्त बनाउँछन । बडिमालिकाबाट बिहान सूर्योदयको समयमा हिमालमा पर्ने सुनौलो घामको दृश्य अविस्मरणीय हुन्छ । साथै बडिमालिकाबाट बादलहरू आफूभन्दा तल देखिन्छन । जसले गर्दा मान्छे साँच्चै बादलभन्दा माथिको स्वर्गमा पुगेको अनुभूति हुन्छ ।
बडिमालिकाको यात्रा कठिन अवश्य छ, तर हरेक पाइलामा प्रकृतिले थकान बिर्साउँछ । यो यात्रा केवल देवी दर्शन होइन, आत्माले प्रकृतिसँग साक्षात्कार गर्ने अवसर पनि हो । त्यसैले बडिमालिका धार्मिक पर्यटनको अनुपम केन्द्र बन्दै गएको छ । बडिमालिका केवल ढुंगाको मन्दिर होइन । यो हाम्रो आस्था, हाम्रो पहिचान र हाम्रो प्राकृतिक सम्पदा हो । बडिमालिकाको यात्रा शारीरिक रुपमा कठिन भए पनि मानसिक र आध्यात्मिक रुपमा मान्छेलाई अत्यन्तै शान्ति दिने यात्रा हो । जहाँ पुगेपछि मान्छेले आफ्नो दुःख, थकान सबै बिर्सन्छ र प्रकृतिको काखमा आफूलाई समर्पित गर्दछ । त्यसैले राज्यले बडिमालिकालाई केवल बाजुराको मात्र नभई नेपालकै प्रमुख धार्मिक पर्यटन गन्तव्यको रुपमा विकास गर्नुपर्छ । बाटो, खानेपानी, स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गर्ने हो भने बडिमालिका पशुपतिनाथ र मुक्तिनाथ जस्तै विश्वप्रसिद्ध तीर्थस्थल बन्न सक्छ ।

बडिमालिका धार्मिक आस्थाको केन्द्र मात्र होइन, प्राकृतिक सौन्दर्यका लागि पनि आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ । यहाँ धार्मिक पर्यटकसँगै प्रकृतिको मनोरम दृश्यमा रमाउन चाहनेहरूको संख्या पनि बढदो छ । विशेषगरी तीनदिने पदयात्राका क्रममा विशाल पाटन, हरियाली डाँडाकाँडा र हिमश्रृखलाको मनमोहक दृश्यले पर्यटकलाई लोभ्याउने गर्दछ । पछिल्लो समय युवापुस्तामा बडिमालिकाको प्राकृतिक सौन्दर्यलाई भिडियो, टिकटक र तस्बिरमार्फत कैद गर्ने आकर्षणसमेत बढेको छ । यसले बडिमालिकालाई धार्मिक पर्यटनसँगै प्राकृतिक तथा साहसिक पर्यटनको उत्कृष्ट गन्तव्यका रुपमा चिनाउन थप मद्दत पु¥याएको छ । बडिमालिका यात्राका क्रममा विषफूल, हिमचितुवा, हिमाली भालुको जोखिम हुन सक्छ । त्यो क्षेत्रमा हिमचितुवा, हिमाली भालुका साथै नाउर, कस्तुरी मृग, वनकुकुर आदिको बासस्थान पर्दछ ।
सडक यातायातको सहज पहुँच नहुँदा बडिमालिका अझै पनि धेरै पर्यटकको पहुँचभन्दा बाहिर छ । पदयात्रामा होटल लजको व्यवस्था छैन । कम्तीमा तीन दिनको पदयात्राका लागि पर्यटकले न्यानो कपडा, टेन्ट, स्लिपिङ ब्याग, तयारी खाना, औषधि, पानीको बोतल, छाता र रेनकोट, जस्ता आवश्यक सामग्री साथमा लैजानुपर्छ । लेक लाग्नबाट जोगिन खुर्सानी र अमिलो साथमा राख्दा राम्रो हुन्छ । समूहमा यात्रा गर्नु सबैभन्दा उत्तम मानिन्छ । बडिमालिकामा पानी र शौचालयको उचित व्यवस्थापन, सडक र पूर्वाधार विकासमा राज्यको ध्यान जान जरुरी छ । किनकि पूर्वाधार बिना विकास र विकास बिना समृद्धि सम्भव छैन । बडिमालिका आस्था, साहसिक यात्रा र प्रकृतिको संगम हो । त्यसैले धार्मिक पर्यटक मात्र होइन, एडभेन्चर र फोटोग्राफी मन पराउने पर्यटकहरुले पनि पुग्नै पर्ने ठाउँ हो ।

अब बडिमालिकाको पर्यटन विकासलाई खप्तड र रामारोशनसँग जोडन पर्दछ । बडिमालिकालाई खप्तड र रामारोशनसँग जोडने पद मार्गले पर्यटनको नयाँ सम्भावना हुन्छ । सुदूरपश्चिम प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, जैविक विविधता र मौलिक संस्कृतिले भरिपूर्ण भूगोल हो । बडिमालिका, खप्तड र रामारोशन पर्यटनका लागि प्रकृति र संस्कृतिको अनुपम संगम हो । बडिमालिका धार्मिक आस्था र हिमाली प्राकृतिक सौन्दर्यका कारण विशेष महत्व बोकेको क्षेत्र हो । खप्तड आफ्नै शान्त, हरियालीपूर्ण र मनमोहक भू–दृश्यका कारण प्रकृतिप्रेमीका लागि आकर्षणको केन्द्र हो भने रामारोशन ताल, हरियाली र डाँडाकाँडाले भरिएको अनुपम गन्तव्य हो । यी तीन क्षेत्रलाई एउटै पदयात्रा सञ्जालमा जोडदा पर्यटकले सिंगो सुदूरपश्चिमको प्राकृतिक र सांस्कृतिक यात्रा गर्न सक्नेछन ।
तर, यस्तो पदमार्ग केवल बाटो निर्माण गर्ने योजना मात्र हुनुहुँदैन । बाटोमा आवश्यक विश्रामस्थल, खानेपानी, शौचालय, सुरक्षित आवास, स्थानीय होमस्टे, सूचना केन्द्र, संकेत बोर्ड, उद्धार तथा प्राथमिक उपचारको व्यवस्था पनि गर्नुपर्छ । स्थानीय युवालाई गाइड, भरिया, आतिथ्य सेवा तथा पर्यटन व्यवसायमा जोडेर रोजगारी सिर्जना गर्न पर्दछ । स्थानीय उत्पादन, कला, संस्कृति र परम्परागत खानालाई पर्यटनसँग जोडन सके गाउँ–गाउँमा आर्थिक गतिविधि बढछ । सबैभन्दा महत्वपूर्ण कुरा, यस्तो पदयात्रा मार्गले बडिमालिका, खप्तड र रामारोशनलाई छुट्टाछुट्टै गन्तव्यका रुपमा नभएर एकीकृत पर्यटन सर्किट का रुपमा स्थापित गर्नेछ । बडिमालिकाको आस्था, खप्तडको शान्ति र रामारोशनको प्राकृतिक सौन्दर्यलाई एउटै पदयात्रामा गाँस्न सकियो भने सुदूरपश्चिम केवल घुम्ने ठाउँ होइन, जीवनमा एकपटक पुग्नैपर्ने गन्तव्य बन्न सक्छ ।

कसरी पुग्ने ?
बडिमालिका पुग्ने मुख्य चार रुट छन । मार्तडी फूलचढाउना त्रिवेणी हुँदै, कालीकोटको सान्नीत्रिवेणी हुँदै, नाटेश्वरी हुँदै र पैमाको भण्डार गृह हुँदै । परम्परागत रुपमा त्रिवेणी भएर जानु उत्तम मानिन्छ । कोर्धको बाटो भएर जाँदा बूढा कोर्ध, लादे पाटन, सोता, घोडा पाटन, भितो चिर्ना हुँदै करिब अढाई घण्टामा त्रिवेणी पुगिन्छ । त्रिवेणीमा बास बसी बिहानै हिँडेपछि करिब चार घण्टामा बडिमालिका पुग्न सकिन्छ । हिँडन नसक्नेहरूका लागि मार्तडी र त्रिवेणीको पैमा गाउँमा समेत बडिमालिकाको मन्दिर स्थापना गरिएको छ ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८३ श्रावण ३०, शनिबार ११:५० गते