अब सरकारी भवन अपाङ्ग मैत्री मात्र भएर पुग्दैन, मानवमैत्री हुनुपर्छ : जिवनकुमार बस्नेत, अध्यक्ष, अल्बिनो समाज

अब सरकारी भवन अपाङ्ग मैत्री मात्र भएर पुग्दैन, मानवमैत्री हुनुपर्छ : जिवनकुमार बस्नेत, अध्यक्ष, अल्बिनो समाज

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ साउन २९ गते शनिवार ०१:४०

अल्बिनो पीडितहरू पनि अपाङ्गको परिभाषा भित्र पर्ने भएमा आफूहरूले पालिकाबाट हुन सक्ने सहयोगका लागि बिना भेदभाव सहयोग गर्ने प्रतिबद्धता कार्यक्रमका प्रमुख अतिथि गुरुङले व्यक्त गर्नुभयो । प्रशिक्षक परशुराम भट्टले मानव शरीरमा...

अल्बिनो पीडितहरू पनि अपाङ्गको परिभाषा भित्र पर्ने भएमा आफूहरूले पालिकाबाट हुन सक्ने सहयोगका लागि बिना भेदभाव सहयोग गर्ने प्रतिबद्धता कार्यक्रमका प्रमुख अतिथि गुरुङले व्यक्त गर्नुभयो ।
प्रशिक्षक परशुराम भट्टले मानव शरीरमा मेलानिन नामक पदार्थको कमी हुँदा अवस्था यस्तो हुन्छ र यो जन्मजात स्थिति हो र यस्तो समस्या भएकोहरूमा जन्मदै दृष्टि कमजोर हुन्छ भन्नुभयो ।
बेसीशहर– लमजुङमा अल्बिनो समाज नेपालको दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । सो कार्यक्रमको बेसीशहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक कार्यक्रमका बीच साउन ३० गते उदघाटन गर्नु भएको हो ।
अल्बिनो समाज नेपाल गोरखाका अध्यक्ष जिवनकुमार बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उहाँले अब सरकारी कार्यालयका भवनहरू अपाङ्ग मैत्री मात्र भएर पुग्दैन, मानवमैत्री हुनुपर्छ भन्नेमा जोड दिनुभयो । उहाँले जुनकुनै पनि कार्यालयमा जादा त्यो अपाङ्ग मैत्रीमात्र नभई मानव मैत्री हुनुपर्छ किनकि, त्यहाँ जाने जेष्ठनागरिक वा बालबालिका, महिलाहरूका समस्याहरू पनि राम्रोसँग सुनुवाई हुने र सम्बोधन हुने हुनुपर्छ भन्नु भयो ।
उहाँले आफ्नो जीवनका भोगाइको अनुभव सुनाउँदै सानोमा स्कूल जादा आफ्नो निवास क्षेत्र गोरखाको पर्यटकीय यात्राको पैदल मार्गमा पर्ने भएको हुँदा त्यो बाटोमा हिड्ने दाताले दिएको पैसा र कपि कुनै कुनै दिनको बेलुका त समाल्ही नसक्नु हुन्थे उहाँले सुनाउनु भयो । यसरी अल्बिनो पीडितका समस्यालाई नसुन्ने गरिएकोमा पछिल्ला वर्षमा केही त भएको छ तर यो पर्याप्त छैन थप प्राप्तिका लागि हामी आफैले पनि पहल गर्नुपर्छ उहाँले भन्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि बेसीशहर नगरपालिकाका उपमेयर पदमा गुरुङले अल्बिनो पीडितहरूको छुट्टै पहिचान भएको भए त्यसको बारेमा सरकार संघ वा प्रदेशस्तरबाट आजका दिनसम्म किन जानकारी दिइएन ? भन्दै आफूहरूलाई त्यसबारे जानकारी नआएको उल्लेख गर्नुभयो । अल्बिनो पीडितहरू पनि अपाङ्गको परिभाषा भित्र पर्ने भएमा आफूहरूले पालिकाबाट हुन सक्ने सहयोगका लागि बिना भेदभाव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तो आधिकारिक जानकारी दिनका लागि आयोजकसँग उहाँले आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा विशेष अतिथि रहनु भएकी बेसीशहर नगरपालिका– ८ का वडाध्यक्ष पवित्रा थापा रानाले यतिबेला तपाईहरूको आवाज सुनिन थालेको अवस्था छ भन्नुभयो । उहाँले तपाईहरूले आय आर्जनका लागि कुनै प्रकारको तालिम लिन चाहेमा आफूले सञ्चालनको प्रयास गर्ने उल्लेख गर्नुभयो ।
पत्रकार महासंघ लमजुङका संस्थापक जिल्ला अध्यक्ष नवराज पहाडीले यताउता हिड्ने सेतो छाला तथा कपाल हुनेहरू देखिने गरेको भए पनि यसरी परिभाषित गरेर अपाङ्गता श्रेणी भित्र राखिनु पर्ने तहको अवस्था हो भन्ने ज्ञान थिएन, आज जानकारी पाउँदा खुशी लाग्यो, साथै आजका दिनसम्म परिभाषित १० प्रकारको अपाङ्गतामा थप यो पनि परिभाषित हुँदैछ भन्ने जानकारी पाउदा थप खुशी लागेको छ भन्नुभयो । अपाङ्गताका आवाजलाई आफूहरूले पत्रकारिताका माध्यमले प्राथमिकतामा राखेर समाचार लेख्दै आएको र भोलिका दिनमा पनि त्यो क्रम जारी राखिने छ भन्नुभयो ।
उक्त कार्यक्रमका प्रशिक्षक परशुराम भट्टले अल्बिनो के कसरी हुन्छ भन्ने जानकारी दिदै सहायता सामग्री समेत उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो । उहाँले मानव शरीरमा मेलानिन नामक पदार्थको कमी हुँदा अवस्था यस्तो हुन्छ र यो जन्मजात स्थिति हो र यस्तो समस्या भएकोहरूमा जन्मदै दृष्टि कमजोर हुन्छ भन्नुभयो । उहाँले अल्बिनो पीडितका लागि सहायता सामग्रीमा कालो चश्मा, लाहुरे टोपी, छाता, सनक्रिम लगायतका वस्तु चाहिने उल्लेख गर्नुभयो ।
नेत्रहीन संघ तनहुँका संस्थापक अध्यक्ष कृष्ण अधिकारीले शुभकामना मन्तव्यका क्रममा अबको शंसोधन हुने ऐनमा अल्बिनो र द्वन्द्व पीडित अपाङ्गता थप गरेर १२ प्रकारका अपाङ्गताको पहिचान हुने गरी परिभाषित गरिएको छ, त्यो कानुन बनेर छिट्टै आउने भन्ने विश्वास व्यक्त गर्नुभयो ।
नेत्र हीन संघ लमजुङका जिल्ला सचिव विष्णु पोखरेलले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा एकीकृत सेवा कार्यालयका प्रमुख मीताकुमारी थापा, माइक्रो काउन्टरका इन्चार्ज खुशी बराल, बेसीशहर नगरपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख दुर्गा अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
आयोजक संस्थाका सचिव प्रमीला बस्नेतले स्वागत गर्दै २०७९ सालमै यो संस्थाको स्थापना भएता पनि लमजुङमा भने भरखर भरखर आफूहरूले जानकारी पाएको बताउनु भयो । उहाँले यसको पीडा आफूहरू भोग्नेलाई मात्र थाहा छ भन्दै आफ्नो अवस्थाको बारेमा पनि परिभाषित गरेर ११ औं नंबरमा थप गरिनु पर्छ भन्ने माग छ भन्नुभयो । उहाँका अनुसार सो अभिमुखीकरण कार्यक्रममा ४० जनाले भाग लिएका छन् ।

प्रकाशित मिति २०८३ श्रावण ३०, शनिबार १३:४० गते
हजुरको प्रतिक्रिया