
काठमाडौं– नेपाली काँग्रेसको इतर पक्षको राष्ट्रिय भेलाले पारित गरेको महत्वपूर्ण नीति पनि अवलम्बन गरेको छ । सनातनदेखि चलिआएको धर्म राष्ट्रिय पहिचानका रुपमा स्वीकार गरेको छ । निर्णय नम्बर ३ मा निर्णय गर्दै देउवा समूहले सनातन धर्मलाई राष्ट्रको पहिचानका रुपमा अगाडि बढाउने बताएको छ ।
देउवा समूहले सनातन धर्मलाई राष्ट्रको पहिचानका रुपमा अगाडि बढाउने भन्दै निर्णयमा भनेको छ– ‘नेपालको सनातनदेखि चली आएको धर्म सँस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो। नेपालम रहि आएको धार्मिक सहिष्णुता, सामाजिक सदभाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चितदेखि चलिआएको हिन्दु, वौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायीत्वलाई दृष्टिगत गरि सनातन धर्मलाई राष्ट्रिको पहिचान रुपमा राष्ट्रलाई अघि बढाउने प्रतिवद्धता गर्नेछ ।’
देउवाले भेलामा ‘म हिन्दु हुँ, म हिन्दु हुँ, म हिन्दु हुँ’ भन्दै सनातन हिन्दु धर्मका पक्षमा आफूलाई खुला रूपमा उभ्याउनु भएको थियो ।
समापन सत्रमा भेलाका निर्णयहरू वाचन गर्ने क्रममा पूर्वउपसभापति विमलेन्द्र निधि र निवर्तमान प्रवक्ता डा. प्रकाशशरण महतबीच धर्मसम्बन्धी शब्दावलीलाई लिएर विवाद भएको थियो ।
महतले तयार पारेको निर्णयको मस्यौदामा ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबैलाई स्वतन्त्र हुने’ भन्ने वाक्य समावेश गरिएको थियो । निधिले भने उक्त शब्दावलीप्रति असहमति जनाउँदै त्यसको सट्टा ‘धार्मिक स्वतन्त्रता’ मात्रै उल्लेख गर्नुपर्ने अडान राख्नु भएको थियो ।
यो विषयमा विवाद बढेपछि मञ्चमै दुई नेताबीच निर्णय लेखिएको कागज तानातान भएको प्रत्यक्षदर्शीले बताए । त्यसपछि पार्टी सभापति शेरबहादुर देउवाले हस्तक्षेप गर्न पुग्नु भयो ।
देउवाको हस्तक्षेपपछि महतले तयार पारेकै ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबै स्वतन्त्र हुने’ भन्ने बुँदा वाचन गरिएको थियो ।
वर्तमान संविधानमा देखिएका कतिपय अस्पष्टता र जनअपेक्षालाई सम्बोधन गर्न आवश्यक संशोधनका लागि कांग्रेसले पहल गर्ने भएको छ । संविधानमा व्यवस्था भए अनुसार नै सबै पक्षसँग संवाद गरी निकास दिने प्रस्ताव भेलाले पारित गरेको छ ।
भेलाले पारित गरेको प्रस्तावमा नेपालमा रही आएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति तथा धार्मिक समुदायको आफ्नो धर्म मान्न पाउने अधिकारलाई सुनिश्चित गर्दै सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउन कांग्रेस प्रतिबद्ध रहने उल्लेख छ ।
कांग्रेसले हिन्दु, बौद्ध, किराँत र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गर्दै यी मौलिक पहिचानलाई जोगाउन पार्टीले विशेष भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
भेलाको समापन समारोहमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का उपस्थित भएनन् । निवर्तमान सभापति देउवा स्वास्थ्योपचारका लागि विदेशमा रहेका बेला पार्टीको नेतृत्व सम्हालेका खड्का साउन २९ गते भेलाको उद्घाटन सत्रमा भने सहभागी थिए ।
कांग्रेसका गणतन्त्रवादी नेता : सभापति गगन थापा
नेपाली कांग्रेसका सभापति गगन थापा त्यो दलको पहिलो गणतन्त्रवादी नेता हो भन्दा पनि फरक पर्दैन । त्यसैले इतर पक्षले आज पारित गरेको प्रस्तावले यी दुई खेमा बीचको दुरी झन् बढ्ने देखिएको छ । भलै एकताको रटान दुवै पक्षबाट नछाडिएको किन नहोस् ।
पछिल्लो समय बिपी कोइरालाका विचारलाई आफू अनुकूल व्याख्या गर्ने प्रवृत्ति बढेको सभापति थापाको भनाइ छ । उहाँले पछिल्लो समय कांग्रेसका नेताहरूले आफ्नो राजनीतिक आवश्यकता पूरा गर्न ‘राष्ट्रिय मेलमिलाप’को प्रसंगमा बिपीलाई सम्झने गरेको टिप्पणी गर्नुभयो ।
कांग्रेस इतरपक्षलाई लक्षित गर्दै उहाँले नेताहरूले आफ्ना राजनीतिक निर्णय आफै गर्न नसकेर बिपीको नामको सहारा खोजेको बताउनु भयो । आफूलाई जहाँ चाहिन्छ, त्यहाँ बिपी कोइरालालाई प्रयोग गर्ने प्रवृत्तिले बिपीको वास्तविक विचारलाई कमजोर बनाउने उहाँको भनाइ छ ।
बिपी कोइराला र गणेशमान सिंहलाई कुनै परिवार वा समूहभित्र मात्र सीमित गर्न नहुने सभापति थापाले बताउनु भयो । बिपीको आह्वानमा आफ्नो परिवार र व्यक्तिगत जीवन त्यागेर राजनीतिक आन्दोलनमा होमिएका पुरानो पुस्ताका अभियन्ताहरूले लेख्ने पुस्तक, दिने अभिव्यक्ति र सुनाउने अनुभवले बिपीको वास्तविक विचार र राजनीतिक यात्रालाई बुझ्न महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।
‘म अहिले पनि हेरिरहेको छु, सुनिरहेको छु, ठाउँठाउँमा भएका छलफलहरूमा बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको सन्दर्भ अहिले एकदम व्यापक आइरहेको छ । नेताहरूले फेरि रातारात बिपीलाई सम्झनुभएको छ । रातारात बिपीलाई सम्झिँदा यस्तो ट्रान्ज्याक्सन यहाँ भित्रको अहिले के गर्नुपरेको छ, कोसँग मिलाउनु परेको छ, कोसँग कानेखुसी गर्नुपरेको छ, फेरि हिम्मत छैन फेरि, आफैँ आएर भन्ने । त्यो हिम्मत नभएपछि के हुन्छ भने कसलाई सम्झने भन्दा बीपीलाई सम्झने ।’ थापाको कथन छ ।
टाउको जोड्ने एकताले पुग्दैन : नेता मधु आचार्य
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टीभित्र एकता आवश्यक रहेपनि एजेण्डाका आधारमा एकता हुनुपर्ने बताउनु भएको छ ।
आचार्यले भन्नुभयो, ‘कांग्रेस नवीन नीति, चिन्तन, मिसन र एजेण्डाका लागि एकाकार हुनुपर्छ, कांग्रेसले कांग्रेसलाई मात्र होइन, जेन्जी पुस्ता, पार्टी बाहिर रहेका लोकतन्त्रप्रेमी जनमत, पेशा–ब्यवसायी–बुद्धिजीवी, किसान, श्रमिक सबैलाई जोड्न सक्नुपर्छ ।’
कांग्रेसको संस्थापनइतर समूहको भेलाले विधानसम्वन्धी प्रस्ताव पारित गरेर विशेष महाधिवेशनको औचित्यता र वैधानिकतालाई प्रमाणित गरेको आचार्यले दाबी गरे । ‘क्रियाशील सदस्यताको वितरण र नवीकरणको प्रविधिकरणलाई जायज ठहर्याएको छ । यस प्रस्तावलाई प्रस्तुत गर्ने र पारित गर्न सहयोग पुर्याउने सबै साथीहरूलाई धन्यवाद दिनुपर्छ,’ आचार्यको तर्क थियो ।
यस घटना क्रमले देउवा समूह र संस्थापन पक्षका बीचमा दुरी बढ्ने आंकलन गर्न थालिएको छ ।
नेपालको संविधान २०७२ मा सबै धर्म बराबरका रुपमा व्यवस्था गरिएको छ ।
प्रकाशित मिति २०८३ श्रावण ३१, आईतवार २१:३८ गते