
बेसीशहर– लमजुङका धु्रवराम प्रधान र सञ्जोग लामिछाने गण्डकी प्रदेश साइक्लिङ संघको सदस्यमा निर्विरोध चयन हुनु भएको छ । पोखरामा सम्पन्न गण्डकी प्रदेश साइक्लिङ संघको प्रथम वार्षिक साधारण सभा तथा पहिलो अधिवेशनबाट उहाँहरू साउन ३१ गते सदस्य चयन हुनु भएको हो ।
पोखरा महानगरपालिका– १० को रङ्गशालामा रहेको गण्डकी प्रदेश खेलकुद विकाश परिषदमा भएको अधिवेशनले नयाँ समिति चयन गरेको हो । लमजुङका प्रधान साइक्लिङ संघ लमजुङका अध्यक्ष हुनुहुन्छ भने लामिछाने सदस्य हुनुहुन्छ । उहाँहरू गण्डकी प्रदेश साइक्लिङ संघको पहिलो अधिवेशनबाट सदस्य पदमा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
गण्डकी प्रदेशस्तरीय समितिको अध्यक्षमा अशोक चालिसे चयन हुनु भएको छ । १३ सदस्यीय समितिको उपाध्यक्षमा प्रमिला गुरुङ र भीमबहादुर सुनार, सचिवमा वामन चालिसे, कोषाध्यक्षमा रविस्वर आचार्य र सहसचिवमा डा. पदम घले चयन हुनुभएको छ ।
सो समितिको सदस्यहरूमा लमजुङका ध्रुर्वराम प्रधान र सञ्जोग लामिछाने सहित केबी शाही, अरुण पौडेल, धीरज थापालगायत निर्वाचित हुनुभएको छ ।
प्रदेश कार्यसमितिमा लमजुङका दुई जना प्रतिनिधित्व भएसँगै जिल्लामा साइक्लिङ खेलको विकास, प्रवद्र्धन तथा खेलाडी उत्पादनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यसैगरी, गोरखाबाट उपाध्यक्षमा पालुङटार नगरपालिका– २ आँपपिपलकी प्रमिला गुरुङ्ग राना र गोरखा– ५ का धिरज थापा सदस्यमा चयन भएको संघले जनाएको छ ।
कुल १७ सदस्यीय उक्त समितिमा अन्य सदस्यहरू आवश्यकताका आधारमा पछि मनोनित गरिने बताइएको छ ।
संघले प्रदेश भित्र रहेको ११ जिल्लामा साइक्लिङ्ग विकाशका लागि काम गर्ने गरी गठन जनाएको हो ।
प्रकाशित मिति २०८३ भाद्र १, सोमबार ०९:४३ गते