
काठमाडौं– जिल्ला अदालत काठमाडौंले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई दोस्रो पटक चार दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ । प्रहरीको माग बमोजिम श्रेष्ठलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले भदौ १ गते आदेश दिएको हो ।
यसअघि श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो । प्रहरीले श्रेष्ठलाई थुनामा राख्न म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।
थुना म्याद सकिएपछि अनुसन्धान नसकिएको भन्दै पुनः थुना म्यादको माग गरिएको थियो । गत साउन २७ गते पक्राउ गरिएका श्रेष्ठको थुनामुक्तीको माग राखेर उनकी पत्नी सरस्वती श्रेष्ठले साउन २८ गते सर्वोच्चमा रिट दर्ता गरेकी थिइन् । श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइको पेशी तय भएको छ ।
श्रेष्ठ वैयक्तिक गोपनीयता हननको कसुर आरोपसहित पक्राउ परेका थिए । उनलाई महाराजगञ्ज प्रहरीको हिरासतमा राखिएको छ ।
यसअघि साउन २९ गते सर्वोच्चले श्रेष्ठ र उनका बरामद सामानसहित भदौ १ गते सोमबार सर्वोच्चमा उपस्थित गराउन आदेश दिएको थियो ।
सर्वोच्च अदालतको आदेश अनुसार, उनलाई बिहान १० बजे जफत भएका सामग्रीसहित सर्वोच्च लैजानुपर्नेमा प्रहरीले जिल्ला अदालत लगेको हो । जिल्लाबाट म्याद लिएपछि मात्रै प्रहरीले बन्दीप्रत्यक्षीकरणको मुद्दामा उपस्थित गराउन सर्वोच्च लगेको हो । सर्वोच्च अदालतले उनको थुनाको औचित्यबारे सुनुवाइ गरी आदेश दिनेछ ।
श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गत साउन २७ गते पक्राउ गरेको थियो । उनी विरुद्ध वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति २०८३ भाद्र १, सोमबार १४:३२ गते