
काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारसँगको वार्तापछि आन्दोलन स्थगित गरेको छ । व्यवसायीहरू सरकारले माग सम्बोधन गर्ने सहमति दिएसँगै आफ्नो नियमित कार्यमा फर्किएको मन्त्रालयले भदौ १ गते जनाएको छ । वैदेशिक रोजगार व्यवसायी संघको साउन २२ गतेदेखि सुरु भएको थियो ।
वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रिया शीघ्र टुंग्याउन मन्त्रालय र संघले सहमति जनाएका छन् । संघले आज १ गतेदेखि आन्दोलनलाई थप शसक्त बनाउने घोषणा गर्दै गन्तव्य मुलुकमा श्रमिक नपठाउन घोषणा गरेको थियो ।
आजै युवा, श्रम तथा रोजगार मन्त्रालयसँग भएको छलफलपछि सहमति गर्दै संघले आन्दोलनका कार्यक्रम स्थगित भएको मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरले बताउनु भयो । उहाँद्वारा जारी विज्ञप्तिमा व्यवसायीहरू आफ्नो नियमित काममा फर्किएको उल्लेख छ ।
उहाँले भन्नुभयो, ‘मन्त्री र सचिवसहित संघका अध्यक्ष, सल्लाहकार तथा पदाधिकारीबीच भएको छलफलमा संघले अघि सारेका १५ बुँदे मागबारे विस्तृत छलफल भएको थियो ।’
वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउन ऐन तथा नियमावली संशोधन प्रक्रिया यथाशीघ्र टुंग्याउन मन्त्रालय र संघले अधिकतम प्रयास गर्ने सहमति भएको छ । उक्त सहमतिमा ४५ दिनभित्र माग सम्बोधन गर्ने भनिएको छ ।
वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधन प्रक्रियामार्फत व्यवसायीका नीतिगत माग सम्बोधन गर्ने विषयमा मन्त्रालय र संघबीच समझदारी जुटेको महासचिव हरि डाँगीले बताउनु भयो । उहाँका अनुसार सहमतिसँगै व्यवसायीले भोलिदेखि नै कार्यालय सञ्चालन गर्ने र आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिइएको छ । उहाँले भन्नुभयो, ‘आजको वार्तापछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिईएको छ ।’
मन्त्रालयले संघका अधिकांश माग नीतिगत विषयसँग सम्बन्धित रहेको र ती माग वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समावेश गर्ने समझदारी भएको छ ।
विभागबाट समस्या समाधान हुन नसकेमा सम्बन्धित विषयमा मन्त्रालयमा पुनरावेदन गर्न सकिने कानुनी व्यवस्था रहेकाले सोही प्रक्रियाअनुसार समस्या समाधान खोज्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।
सहमतिका आधारमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सञ्चालन गरेका सम्पूर्ण दबाबमूलक कार्यक्रमहरू भदौ १ गतेकै मितिबाट अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेको श्रम मन्त्रालयका सहसचिव एवं प्रवक्ता पिताम्बर घिमिरेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति २०८३ भाद्र १, सोमबार १६:११ गते