‘फूलको आँखामा, फूलै संसार’का सिर्जनाकार जनकवि दुर्गालाल श्रेष्ठको अन्तिम संस्कार आज

‘फूलको आँखामा, फूलै संसार’का सिर्जनाकार जनकवि दुर्गालाल श्रेष्ठको अन्तिम संस्कार आज

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ भदौ १ गते मङ्गलबार ०७:११

उनका नेपाल भाषाका एक दर्जन भन्दा बढी कृति प्रकाशित छन् । उनी पछिल्लो सात दशकदेखि लगातार साहित्य सिर्जनामा सक्रिय थिए । उनले नेपाल भाषासहित नेपालीमा पनि कविता र गीतसँग अन्य विधामा पनि कलम चलाएका छन् ।

नेपालभाषामा एक दर्जनभन्दा बढी कृति प्रकाशित गरेका लेखक श्रेष्ठलाई नेपाल भाषा परिषद्ले ‘२०६० सालमा ‘जनकवि’को उपाधिले सम्मानित गरेको थियो ।

काठमाडौं– गीतकार तथा जनकवि दुर्गालाल श्रेष्ठको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज भदौ २ गते सार्वजनिक स्थानमा राखिने भएको छ । त्यसपछि श्रेष्ठको अन्तिम संस्कार आजै हुने भएको छ । ९३ वर्षका उनको साउन ३१ गते राति बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको थियो ।
परिवारका सदस्य विदेशबाट आउनुपर्ने भएकोले श्रेष्ठको शवलाई अन्तिम श्रद्धाञ्जलीका आज मात्र सार्वजनिक स्थानमा राखिने भएको साहित्यकार तथा चलचित्र समीक्षक प्रकाश सायमीले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसपछि श्रेष्ठको अन्तिम संस्कार आजै हुने छ ।
पछिल्लो सात दशकदेखि लगातार साहित्य सिर्जनामा लागेका श्रेष्ठले नेपाल भाषासहित नेपालीमा पनि कविता र गीतसँग अन्य विधामा पनि कलम चलाएका छन् । पछिल्लो ५ वर्ष यता उनी बिरामी थिए ।
उनको पहिलो कविता दुई थोपा सन् १९५२ मा सुस्केरा पत्रिकामा प्रकाशित भएको थियो । पछिल्लो सात दशकदेखि नेपाली तथा नेपाल भाषा साहित्यमा कलम चलाएका श्रेष्ठले थुप्रै कालजयी गीत र कविताहरू सिर्जना गरेका छन् । संगीतज्ञ र कविका रुपमा दुर्गालाल श्रेष्ठको कद अग्लो छ । पञ्चायतविरुद्धको लडाइँमा उनले नेपाली साहित्य र संगीतमा बलिया र मर्मस्पर्शी काव्य र गीत पस्किए ।
उनका नेपाल भाषाका एक दर्जन भन्दा बढी कृति प्रकाशित छन् । उनी पछिल्लो सात दशकदेखि लगातार साहित्य सिर्जनामा सक्रिय थिए । उनले नेपाल भाषासहित नेपालीमा पनि कविता र गीतसँग अन्य विधामा पनि कलम चलाएका छन् ।
गायिका आनि छोइङ डोल्माले गाएको चर्चित गीत ‘फूलको आँखामा, फूलै संसार’ सरल शब्दमा गहिरो जीवनदर्शन र मानवीय संवेदना व्यक्त गर्न सफल मानिन्छ । ‘फूलको आँखा फूलै संसार’ त नेपाली भाषाभन्दा पर पनि रुचाइएको गीतमध्ये पर्छ । यसले बोकेको विश्वब्यापी अपिलिङ, मिठास, भाव र आध्यात्मिक चेतना यो गीतको सुन्दर पक्ष हो । यो गीतको शक्ति मूलतः दुर्गालालका सरल शब्दभित्र रहेको गहिरो जीवनदर्शनमा छ ।
उनकै गीत गाएर लोकप्रिय बन्नु भएकी गायिका आनीले मेरो जीवनका सबैभन्दा अमूल्य व्यक्तिमध्ये एकलाई गुमाउँदा म अत्यन्तै मर्माहत छु भन्नु भएको छ । उहाँले लेख्नु भएको छ– ‘फूलको आँखामा लगायत मेरा धेरै प्रिय नेपाली गीतहरूका पछाडि रहेको त्यो कवि–हृदय अब हामीमाझ भौतिक रूपमा रहनुभएन । कविता, गीत तथा बालसाहित्यका माध्यमबाट उहाँले दशकौँसम्म नेपाली साहित्यमा पु¥याउनुभएको योगदान पुस्तौँपुस्तासम्म श्रद्धा र प्रेमका साथ स्मरण गरिनेछ ।’
आनीले थप लेख्नजु भएको छ, ‘मेरो जीवनमा उहाँका सुन्दर गीत र शब्दहरूको आशीर्वाद रहनु मेरो लागि सधैँ एउटा अमूल्य सौभाग्य रहनेछ । उहाँप्रति म सधैँ कृतज्ञ र ऋणी रहनेछु ।’
दुर्गालाल श्रेष्ठका गीत, कविता र अन्य साहित्यिक कृतिको मुख्य विशेषता सरल शब्दभित्र गहिरो दर्शन र मानवीय संवेदना व्यक्त गर्न सक्ने क्षमता हो । उनको सिर्जनालाई केही प्रमुख विशेषताबाट बुझ्न सकिन्छ ।
गहिरो दर्शन र मानवीय संवेदना ः
उनका गीत र कवितामा कठिन शब्दको बोझ कम पाइन्छ । सामान्य पाठक वा श्रोताले सहजै बुझ्ने भाषामा गम्भीर जीवनदर्शन प्रस्तुत गर्नु उनको विशेषता हो । ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ यसको उत्कृष्ट उदाहरण हो ।
श्रेष्ठ मूलतः कवि भएकाले उनका गीतमा काव्यात्मकता बलियो छ । शब्दको लय, भाव, प्रतीक र बिम्बले संगीतसँग सहज सम्बन्ध स्थापित गर्छन् । त्यसैले उनका गीत पढ्दा कविता र सुन्दा संगीत दुवैको अनुभूति हुन्छ ।
प्रेम, करुणा, सहअस्तित्व, शान्ति, आशा र सकारात्मक दृष्टिकोण उनका सिर्जनाका महत्वपूर्ण आधार हुन् । मानिसले संसारलाई हेर्ने दृष्टिकोणले नै उसको अनुभूति निर्माण गर्छ भन्ने दर्शन उनका धेरै रचनाहरूमा भेटिन्छ । उनका कृति केवल प्रेम वा सौन्दर्यमा केन्द्रित छैनन् । सामाजिक असमानता, अन्याय, गरिबी, मानवीय पीडा र समाजका विसंगतिप्रति पनि उनको लेखन संवेदनशील छ ।
श्रेष्ठका सिर्जनामा प्रेम थियो, पीडा थियो, विद्रोह थियो, क्रान्ति थियो, दर्शन थियो र अन्ततः जीवन तथा मृत्युबोध पनि थियो । उनी कवि मात्र थिएनन्– गीतकार, नाटककार, बालसाहित्यकार तथा नेपालभाषा र भाषिक पहिचानका अथक अभियन्ता पनि थिए ।
नेपालभाषामा एक दर्जनभन्दा बढी कृति प्रकाशित गरेका लेखक श्रेष्ठलाई नेपाल भाषा परिषद्ले ‘२०६० सालमा ‘जनकवि’को उपाधिले सम्मानित गरेको थियो ।
खेतमा काम गर्ने युवतीसँगको आत्मीयताका क्रममा उनले किसानको दुःख, श्रम र अभावलाई नजिकबाट देखे। त्यही अनुभव उनका गीत र कवितामा रूपान्तरित भए । त्यसैले कवि श्रेष्ठका कविता कल्पनाको मात्र विषय बनेनन् । समाज रुपान्तरणमा टेवा पु¥याउने गतिला ज्ञान पनि बने ।
प्रेमका अनुभूतिबाट सुरु भएको उनको कविता क्रमशः समाज, गरिबी, श्रम, अन्याय, आन्दोलन र पहिचानको प्रश्नसम्म पुग्योको बताउँछन् लेखक समीक्षकहरू ।
कवि श्रेष्ठका निकटस्थ र जीवनीकार आर. मानन्धरका अनुसार उनी योजनाबद्ध रूपमा कविता लेख्नेभन्दा तत्कालीन संवेदनाबाट कविता जन्माउने कवि थिए । कुनै दृश्य, घटना, भेट, पीडा वा मानिसको व्यवहारले छोएपछि उनी तत्काल लेखिहाल्ने बानी थियो ।
त्यसैले उनलाई ‘तत्काल संवेदनाको कवि’ पनि भनियो । साथै संगीतकार न्ह्यु बज्रचार्यले कम्पोज गरेको संगीत सुनेर उनले शब्द कोरेका थिए । उनको जीवनबारे लेखिएको कवि–कविताको छवि ः श्रेष्ठमा प्रेमदेखि आन्दोलनसम्म र बाल्यकालको गरिबीदेखि वृद्धावस्थाको मृत्युबोधसम्मका अनेक प्रसंग समेटिएका छन् ।
मानन्धरले दुर्गालालसँगको करिब चार दशक लामो सान्निध्य, अनुसन्धान र विभिन्न सामग्रीको अध्ययनबाट उनको जीवनलाई पुस्तकमा उतारेका थिए ।
श्रेष्ठको जन्म एक निम्न–मध्यमवर्गीय नेवार परिवारमा सन् १९३५ (१९९२) मा काठमाडौँमै भएको थियो । उनले पद्मोदय माध्यमिक विद्यालयबाट विद्यालय तहको शिक्षा हासिल गरेका थिए । उनले सन् १९४९ मा आफ्नो लेखन करियर सुरु गरेका थिए ।
उनले नरोत्तमदास–इन्दिरा पुरस्कार, अभियान पुरस्कार, नूर–गंगा पुरस्कार, राष्ट्रिय बाल साहित्य पुरस्कार, जेएए सर्वश्रेष्ठ नाटककार पदक (१९९१), हरिहर शास्त्री–सावित्री देवी साहित्य पुरस्कार (२००६) आदि जस्ता धेरै पुरस्कारहरू प्राप्त गरेका छन् । उनी सन् १९९५ मा नेपाल प्रज्ञा–प्रतिष्ठानको मानार्थ सदस्यमा पनि नियुक्त भएका थिए । उनलाई २०१० मा जगदम्बा श्री पुरस्कार प्रदान गरिएको थियो ।
आफ्नो सिर्जनामा अनन्त बाँचिरहने कवि श्रेष्ठले भाषा, सांस्कृतिक पहिचानको आन्दोलन र साहित्य कर्ममा निरन्तर लागे । श्रेष्ठको निधन प्राकृतिक हो तर नेपाली साहित्यले एउटा युग गुमाएको छ ।

प्रकाशित मिति २०८३ भाद्र २, मंगलवार ०७:११ गते
हजुरको प्रतिक्रिया