
ललितपुर– उपसभामुख रुबी ठाकुरले जनआस्थाका सम्पादक किशोर श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दर्ता गराउनु भएको छ । उपसभामुख ठाकुरले चरित्र हत्या र प्रतिष्ठामा आँच पुर्याएको आरोपमा प्रहरीमा भदौ १ गते जाहेरी दिनु भएको हो ।
यसअघि सांसद अमरकान्त चौधरीसँग सम्बन्धित सामग्री प्रकाशनको विषयमा पक्राउ परेका श्रेष्ठलाई सर्वोच्च अदालतले हाजिरी जवानीमा रिहा गर्न आदेश दिएको थियो ।
उपसभामुख ठाकुरविरूद्ध जनआस्थामा केही दिनअघि प्रकाशित सामग्री बारेमा उजुरी दिनु भएको हो । उपसभामुखले सो पत्रिकाले आफ्नो चरित्र, प्रतिष्ठा र सामाजिक मर्यादामा आँच पुग्नेगरी अनलाइन सामग्री प्रकाशित गरेको भन्दै ठाकुरले श्रेष्ठलाई कारबाही गर्न माग गर्नु भएको छ ।
उपसभामुख ठाकुरले श्रेष्ठविरूद्ध विद्युतीय कसुर ऐन २०६३ अनुसारको कसुरमा अनुसन्धान गर्नुपर्ने जाहेरीमा उल्लेख गर्नु भएको छ ।
उपसभामुख ठाकुरले जाहेरी दिएको ललितपुरका एसएसपी तुल बहादुर कार्कीले पुष्टि गर्नु भएको छ । उहाँले भन्नुभयो, ‘जाहेरी आएको छ । त्यसभित्रको सबै विवरण हेरिसकेका छैनौं, प्रक्रियामा छ ।’ उहाँले कुन कसुरमा जाहेरी परेको हो भन्ने खुलाउनु भएन ।
यसअघि साउन २७ गते साँझ पक्राउ परेका किशोरी श्रेष्ठलाई सर्वोच्च अदालतले हिजो हाजिरी जवानी÷तारेखमा रिहा गर्न आदेश गरेको छ ।
जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर– ३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित एक युवतीको तस्बिर सामग्री साउन २५ गते प्रकाशन भएको थियो । सोही प्रकरणमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको थियो ।
श्रेष्ठविरुद्ध एक महिलाले जाहेरी दिएकी थिइन् । त्यो मुद्दामा सर्वोच्चले कानुन बमोजिम हुनेनै छ भन्ने आफ्नो आदेशमा उल्लेख गरेको छ ।
जनआस्था साप्ताहिकमा आफ्नो मानहानी हुने गरी समाचार प्रकाशन गरेको भन्दै सार्वजनिक रूपमा आपत्ति व्यक्त गर्नु भएकी उपसभामुख रुबीले प्रेस काउन्सिलमा समेत उजुरी गर्नु भएको बताइएको छ ।
पत्रकार श्रेष्ठकी श्रीमतीले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले श्रेष्ठलाई हाजिर जमानी÷तारेकमा राखेर अनुसन्धान गर्न भदौ १ गते नै परमादेश दिएको थियो ।
प्रकाशित मिति २०८३ भाद्र २, मंगलवार ०७:४२ गते