
पोखरा– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) निजी भ्रमणका क्रममा यहाँ आउनु भएको छ । निजी भ्रमणमा निस्कनु भएका प्रधानमन्त्री निजी गाडीमै आज भदौ ५ गते पोखरा आइपुग्नु भएको हो ।
प्रधानमन्त्री वालेन पोखरानजिकै अस्ताम गाउँस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बास बस्ने कार्यक्रम तय भएको छ । उक्त रिसोर्ट र आसपास सुरक्षा व्यवस्थाको प्रवन्ध गरिएको छ ।
प्रधानमन्त्री शाह स्थलमार्ग हुँदै बिहान पोखराका लागि प्रस्थान गर्नु भएको हो । तर उहाँको साथमा को को रहेका छन् भन्नेसम्म पनि जानकारी दिइएको छैन ।
प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले प्रधानमन्त्रीले काठमाडौंबाहिर भ्रमण गरेका विषयहरू हरसम्भव लुकाउने प्रयास गरिदै आएको छ । त्यसैले यो भ्रमणका बारेमा पनि बिना तामझाम उहाँ यहाँ आउनु भएको हो ।
तर प्रधानमन्त्री शाह काठमाडौंबाहिर जाँदा घुम्ने स्थानहरू, भेटघाट गर्ने व्यक्तिहरू लगायतका कार्यक्रममा सचिवालयले औपचारिक रुपमा सार्वजनिक गरिएको हुँदैन । प्रधानमन्त्री शाह पोखरा भएर मुस्ताङ जाने सूचना आइसकेपछि पनि पोखराको बसाइँबारे सचिवालयले केही जानकारी गराएन ।
यतिसम्म कि प्रधानमन्त्री पोखरा र मुस्ताङ जाने विषय त्यहाँका जिल्लाका प्रशासन प्रमुखलाई समेत थाहा नदिइएको बताइएको छ । मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले प्रधानमन्त्री आउने मिडियामार्फत जानकारी पाएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हिजोदेखि नै यो खबर आइरहेको छ कि ! प्रधानमन्त्री मुस्ताङ भ्रमणमा आउँदै हुनुहुन्छ तर, औपचारिक जानकारी, कार्यक्रम तालिका हामी कहाँ आइपुगेको छैन ।’
प्रधानमन्त्री स्थलमार्गबाट पोखरा जान लागेको विषयको पुष्टिका लागि सचिवालयका सम्पर्क गर्दा सुरक्षा कारणले भन्न नमिल्ने एक सदस्यले बताए । उनी भन्छन्, ‘स्थलमार्ग वा हवाई मार्गबाट पोखरा जानुभएको हो भन्ने विषय सुरक्षा कारणले भन्न मिल्दैन ।’
त्यति हुँदा हुँदै पनि प्रधानमन्त्री शाहसहित सुरक्षाकर्मीका गाडीको लस्करको भिडियो धादिङमा देखिएको थियो । पोखरा आउने क्रममा प्रधानमन्त्री शाहको टोली धादिङमा केही बेर रोकिएको बताइएको छ ।
प्रधानमन्त्री पोखरामा बस्ने स्थान निश्चित भएर बस्ने स्थान समेत बुक हुँदा समेत कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले औपचारिक जानकारी नपाएको बताउनु भयो । प्रजिअ गुरुङले पनि मिडियाबाट नै थाहा पाएको हुँ भन्नुभयो ।
उहाँले भन्नुभयो, ‘औपचारिक जानकारी आएको छैन, हामीले पनि मिडियाबाटै थाहा पाइरहेका छौं । प्रधानमन्त्री नै आउने भएपछि पक्कै जानकारी आउला, स्थलमार्ग भएर आउने भन्ने थाहा पाइयो । अरू जानकारी पनि आउछ भन्ने विश्वास छ ।’
प्रधानमन्त्री बालेन बस्नका लागि कास्कीको माछापुच्छ्रे गाउँपालिकाको धिताल अस्तामस्थित अन्नपूर्ण इको भिलेज बुक गरिएको स्रोतले बतायो । स्रोतका अनुसार अन्नपूर्ण इको भिलेजका सबै कोठा बुक गरिएको छ । तर सुरक्षा संयन्त्रले भने अहिलेसम्म पनि खबर भएको बताएको स्थिति छैन ।
स्मरणीय छ, प्रधानमन्त्री भएपछि पहिलो पटक उपत्यका छाड्नु भएका प्रधानमन्त्री शाहले रास्वपाको प्रथम महाधिवेशनको बेला चितवनमा बस्ने स्थानको बारेसमेत प्रधानमन्त्रीको सचिवालयले जानकारी बाहिर ल्याउन चाहेन । त्यो बेलामा चितवनमा तीन दिन बस्दा प्रधानमन्त्री शाह कालिका नगरपालिका– ९ शक्तिखोरस्थित लटौली सेञ्चुरी रिसोर्टमा बस्नु् भएको थियो । त्यो बेलामा रिसोर्टका १६ वटा कोठा बुक गरिएका थिए ।
तर त्यसअघिका प्रधानमन्त्रीहरुको भ्रमणबारे प्रेस र आम जानकारीका लागि बाहिर सूचना दिने चलन थियो ।
प्रकाशित मिति २०८३ भाद्र ५, शुक्रबार १८:३८ गते