
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समिति बैठकले सचिवालय विस्तार गरेको छ । पार्टी केन्द्रीय कार्यालय चःमतीमा बसेको केन्द्रीय समिति बैठकले नौजना केन्द्रीय सदस्य मनोनीत गर्दै सचिवालय विस्तार भदौ ५ गते गरेको हो । रास्वपाको सचिवालय विस्तार, शिशिर खनालदेखि मनिष झासम्म अटाउनु भएको छ ।
केन्द्रीय समिति बैठकले केही महत्वपूर्ण निर्णय गरेको छ । जसमा ११ जना सचिवालय सदस्य, ९ जना केन्द्रीय सदस्य र केही विभाग प्रमुखमा नेताहरूलाई मनोनीत गरेको हो । ५१ जना केन्द्रीय सदस्य मनोनित गर्नुपर्नेमा आज जम्मा ९ जनामात्रै मनोनित भएको बताइएको छ ।
सचिवालय सदस्यहरू :
सचिवालय सदस्यमा परराष्ट्रमन्त्री शिशिर खनाल, संसदीय दलका उपनेता गणेश पराजुली, पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटी, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बाँस्कोटा, शिव नेपाली, इन्दिरा रानामगर र मनिष झा समेटिएको बताइएको छ । केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेको प्रस्तावमा समिति विस्तार भएको हो । 
यसअघि बसेको पहिलो पार्टी केन्द्रीय समिति बैठकले निर्वाचित पदाधिकारी रहेको सचिवालय गठन गरेको थियो । पार्टी सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्य, सहमहामन्त्री असिम शाह, हरि ढकाल र निशा डाँगी सचिवालय सदस्य हुनुहुन्थ्यो ।
महामन्त्री आचार्य ‘राइट टु रिकल कार्यदल’को संयोजक :
त्यस्तै, रास्वपाले महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा ‘राइट टु रिकल कार्यदल’ गठन गरेको छ । कार्यदलले आजैदेखि काम सुरु गर्नेसमेत बताइएको छ ।
त्यस्तै, पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने भएको महामन्त्री आचार्यले जानकारी दिनु भएको छ ।
गृहमन्त्री सुधन गुरुङलगायत केन्द्रीय सदस्य :
यसैगरी, केन्द्रीय सदस्यमा गृहमन्त्री सुधन गुरुङदेखि भूपदेव शाहसम्म मनोनीत हुनु भएको छ । केन्द्रीय सदस्यमा मनोनीत हुने अन्य नेताहरूमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, पुरुषोत्तम यादव, बसुमाया तामाङ, सुरेन्द्र चौधरी र डा. भक्तबहादुर राई हुनुहुन्छ ।
संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने, प्रवक्तामा जगदीश खरेल :
रास्वपाको केन्द्रीय समिति बैठकले संगठन विभाग प्रमुखमा प्रमोद न्यौपानेलाई मनोनित गरेको छ भने प्रवक्तामा पूर्व सञ्चारमन्त्री जगदीश खरेललाई चयन गरेको छ । त्यस्तै, पार्टीले प्रवक्तामा पूर्वमन्त्री जगदीश खरेललाई मनोनित गरेको छ ।
ललितपुर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनु भएका खरेल त्यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा सञ्चार मन्त्री हुनुहुन्थ्यो ।
केन्द्रीय सदस्यमा पराजित भएका चौधरी सहप्रवक्ता :
यसैगरी, रास्वपा सहप्रवक्तामा सुरेन्द्र चौधरीलाई मनोनीत गरिएको छ । पार्टीले महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका सुरेन्द्र चौधरीलाई सहप्रवक्ताको जिम्मेवारी दिएको छ ।
स्मरणीय छ, रास्वपाले आज केन्द्रीय सदस्यमा मनोनीत गरेका सुरेन्द्रबाहेक अरू कोही पनि महाधिवेशनमा उम्मेदवार बनेका व्यक्ति परेका छैनन् ।
महाधिवेशनमा पराजित भएकाहरूलाई पदाधिकारी बनाउन नहुने पार्टी भित्रैको आवाज उठृको थियो । तर त्यो गुनासोको नजिर बस्न सकेन । चौधरी समानुपातिक तर्फबाट सांसदसमेत हुनुहुन्छ ।
सुरेन्द्र चौधरी निर्वाचनअघि रास्वपाबाट उम्मेदवार बन्नु भएको हो । उहाँका दाजु योगेन्द्र चौधरी नेपाली कांग्रेस पार्टीबाट प्रत्यक्ष तर्फका उम्मेदवार बन्नु भएको थियो । उहाँ पनि कांग्रेसमा सहमहामन्त्री हुनुहुन्छ ।
चितवनमा भएको महाधिवेशनबाट सहमहामन्त्री पदमा ३ जना निर्वाचित भएका थिए । सहमहामन्त्री २ जना मनोनीत हुने व्यवस्था छ ।
बैठकले डा. मनोहर प्रधानलाई कोषाध्यक्षमा मनोनयन गरेको छ ।
यसैगरी विभागतर्फ, सार्वजनिक सेवा तथा जनगुनासो विभागमा विजय जैरु र जनस्वास्थ्य विभागमा डा. तोसिमा कार्कीलाई जिम्मेवारी दिएको छ ।
यसैगरी, पुर्वाधार विभागमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभागमा परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनाल, अर्थ विभागमा लीमा अधिकारी तोकिनु भएको छ ।
पहिलो महाधिवेशनपछि बसेको यो तेस्रो बैठक हो । बिहान ११ बजे बोलाइएको बैठक साढे १२ बजेपछि मात्र सुरु भएको थियो ।
प्रकाशित मिति २०८३ भाद्र ५, शुक्रबार १९:५७ गते