दिवंगत शिक्षा तथा समाजसेवी. काँग्रेसका नेता कँडेलको शव काठमाडौं लगियो, छोराहरू आएपछि मात्र अन्तिम संस्कार

दिवंगत शिक्षा तथा समाजसेवी. काँग्रेसका नेता कँडेलको शव काठमाडौं लगियो, छोराहरू आएपछि मात्र अन्तिम संस्कार

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ भदौ ५ गते शनिवार ०६:५०

उहाँले राजनीतिक सिद्धान्त तथा भाषण छाटेर मात्र समाज परिवर्तन हुन सक्दैन सर्वसाधारणलाई परिवर्तनको अनुभूति दिलाउन उनीहरूको आवश्यकता अनुसार दिल छुने र आर्थिक हैसियत बृद्धि गर्ने कार्य गर्नु पर्छ भन्दै समाजसेवामार्फत समाजसँग जोडिने प्रयत्न गरिरहनु भयो । उहाँले ‘कोपाडेस’ स्थापना गर्नुको मुख्य उद्देश्य त्यही भएको बेलाबखत सुनाउने गर्नु हुन्थ्यो ।

कम्युनिष्टहरूको पटक पटक आक्रमण (हातपात)को निसानामा पर्ने गर्नु भएको उहाँ त्यसैकारणले २०३६ सालमा विस्थापित भई काठमाडौं बस्न थाल्नु भएको हो ।

बेसीशहर– लमजुङका प्रतिष्ठित शिक्षा तथा समाजसेवी, नेपाली काँग्रेसका नेता डिकेन्द्र कँडेलको असामयिक निधन भएको छ । उहाँ ७४ वर्षका हुनुहुन्थ्यो । उहाँको बेसीशहर नगरपालिका– ८ को सेरामा रहेको डेरामा भदौ ६ गतेको गए राती निधन भएको प्रहरीले पुष्टि गरेको थियो ।
उहाँको स्वास्थ्य स्थितिका बारेमा अस्पतालबाट घोषणा गर्नु पर्ने भएको हुँदा प्रहरीले घट्नास्थल मुचुल्का गरी यहाँ स्थित प्रदेश अस्पताल, लमजुङबाट प्रक्रिया पुरा गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले बताउनु भयो । उहाँका अनुसार प्रहरीले आफ्नो प्रक्रिया पुरा गरेर परिवारजनलाई शव बुझाएका छ ।
उहाँका दुई भाइ छोराहरू अमेरिकाबाट आउन समय लाग्ने भएको हुँदा शव पोष्टमार्टम समेतको कार्यका लागि काठमाडौं लगिने भएको नेपाली काँग्रेसका नेता हरिप्रसाद बरालले बताउनु भयो । उहाँले भन्नुभयो, ‘पार्टी अफिसमा श्रद्धाञ्जलीका लागि केही बेर राखेर, काठमाडौं पठाइएको हो ।’
प्रजातान्त्रिक आन्दोलनका अभियन्ता कँडेल लमजुङको राइनास नगरपालिका– ४ को अल्काटारका स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ अंग्रेजी विषयका ज्ञाता हुनुहुन्थ्यो । लमजुङको विचौर स्थित बागिश्वरी मावि प्रधानाध्यापक हुनुभएका उहाँ आफ्नो जन्म गाउँमै रहेको सौभाग्योदय मावि, अल्काटारकोसमेत प्रधानाध्यापक हुनुभयो । २०३२ सालमै नेपाली काँग्रेसको सदस्य बन्नुभएका उहाँका विरुद्धमा पञ्चायतकालमा पनि कम्युनिष्टहरूको पटक पटक आक्रमण (हातपात)को निसानामा पर्ने गर्नु भएको त्यो बेलाका भुक्तभोगी तथा उहाँका परिजारजनहरू बताउँछन् । त्यसैकारण उहाँले २०३६ सालमा विस्थापित भई काठमाडौं बस्न थाल्नु भएको हो ।
तर पनि उहाँमा ‘आफ्नो जन्म जिल्ला तथा गाउँठाउँमै बसेर केही गर्नु पर्छ’ भन्ने सोच एवम् चिन्तन र चिन्ता सधैं रही रह्यो । त्यसै सोच, चिन्ता र चिन्तनलाई मुर्त रुप दिन उहाँले प्रजातन्त्रको पुनः स्थापना २०४६ सालमा भएपछि २०४७ सालमै तत्काल राइनासको सातबीसेमा कार्यालय रहने गरी जन चेतना अभिबृद्धि तथा अध्ययन समिति ‘कोपाडेस’ नामक गैरसरकारी संस्था खोलेर संस्थापक अध्यक्ष हुनुभयो । लामो समयसम्म खासगरी आफ्नै निर्वाचन(पूर्वी लमजुङ) क्षेत्रमा समाजसेवाका विविध कार्यहरू, त्यसमा महिला सशक्तिकरणका लागि विशेष योगदान रहेको छ ।
उहाँले राजनीतिक सिद्धान्त तथा भाषण छाटेर मात्र समाज परिवर्तन हुन सक्दैन सर्वसाधारणलाई परिवर्तनको अनुभूति दिलाउन उनीहरूको आवश्यकता अनुसार दिल छुने र आर्थिक हैसियत बृद्धि गर्ने कार्य गर्नु पर्छ भन्दै समाजसेवामार्फत समाजसँग जोडिने प्रयत्न गरिरहनु भयो । उहाँले ‘कोपाडेस’ स्थापना गर्नुको मुख्य उद्देश्य त्यही भएको बेलाबखत सुनाउने गर्नु हुन्थ्यो ।
सो संस्थामार्फत ग्रामीण(महिला) साक्षरता र स्वावलम्बन कार्यक्रम सञ्चालन गरी महिलाहरूलाई समूहमा आवद्ध गराउनु भयो । उहाँले २०५४ साल ताका ‘कोपाडेस’ मार्फत आफ्नो गाउँक्षेत्रमा जन शक्ति, चक्रतीर्थ लगायतका नाम गरेका एक साथ १४ वटा सहकारी संस्थाको स्थापना गर्नु भयो । ती सहकारी संस्थामार्फत समाज आर्थिक रुपान्तरणको प्रयास उहाँले गरेको पाइन्छ ।
ती संस्था कतिपय आज पनि राम्रो स्तरमा सञ्चालनमा छन् । सो सँस्थाका नाउँमा उहाँले बेसीशहर नगरपालिका– ८ को सेराफाँटमा भवन समेत निर्माण गर्नु भएको थियो । जसमा पत्रकार महासंघको लमजुङ जिल्ला शाखा कार्यालयसमेत करिब एक वर्ष निःशुल्क रुपमा उहाँले प्रदान गर्नु भएको थियो ।
पार्टीहरूको प्रतिवन्धित अर्थात पञ्चायत कालमा नेपाली काँग्रेसको जिल्ला समिति सदस्य रहनु भएका डिकेन्द्र कँडेल २०४८ पछि भने एक पटक महाअधिवेशन प्रतिनिधि र त्यसपछि लगातार महासमिति सदस्य रहिरहेको नेता हरिप्रसाद बरालले जानकारी दिनु भयो । बरालका अनुसार उहाँ ऐले पनि महासमितिको सदस्य हुनुहुन्छ । उहाँ अफिसमा नबसी डेरामा बस्ने गर्नु भएको थियो ।
हिजो साँझको खाना खाएर सुत्ने तरखरमा लाग्दा उहाँ आज विहानमा कोठामा सरसफाई गर्ने महिला जाँदा कुर्चीमै बसीरहेको, पंखा चलिरहेको तर बोलाउदा नबोले पछि उहाँले छिमेकी र प्रहरीलाई खबर गरेकी थिइन् ।
उहाँलाई काठमाडौं लग्दै गर्दा नेपाली काँग्रेसको जिल्ला पार्टी आफिसमा केही बेर सडकमै रोकेर काँग्रेसका जिल्ला सभापति एवम् गण्डकी प्रदेशका निवर्तमान अर्गमन्त्री डा. टकराज गुरुङ, काँग्रेसका निवर्तमान जिल्ला सभापति एवम् गण्डकी प्रदेशका निवर्तमान वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल, प्रदेश सभासदूस्य पार्वती तामाङलगायत जिल्लाका काँग्रेस नेता तथा कार्यकर्ताहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
उहाँका जेठो छोरा दिनेश र कान्छो छोरा सुवर्ण अमेरिकाबाट फर्केपछि अन्तिम संस्कार गरिने भएको उनका भतिज प्रकाश कँडेलले बताउनु भयो ।
स्वर्गीय कँडेलका श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ ।

प्रकाशित मिति २०८३ भाद्र ६, शनिबार १८:५० गते
हजुरको प्रतिक्रिया