
भार्ते(लमजुङ)– लमजुङका किसानहरू अम्रिसो खेतीतर्फ आकर्षित हुन थालेका छन् । बजारका लागि गाउँपालिकाले जिम्मा लिने र खेतीका लागि एक लाख रुपैयाँ समेतको सहयोग पाएपछि लमजुङको दोर्दी गाउँपालिका– १ भार्ते, सिरुवारीका किसानहरू अम्रिसो खेतीतर्फ आकर्षित भएका हुन् । उनीहरूले यो वर्ष अब गाउँभर अम्रिसो खेती गर्ने भएका छन् ।
अम्रिसो खेतीलाई बाँदरले पनि नोक्सान नगर्ने भएको कारणले पनि सो खेती किसानहरूको प्रिय बन्न थालेको हो । यो खेतीको अवधारणा नेपाली सेनाका जमदार नोकरी गरी २०६२ सालमै निवृत्त हुनु भएका सोही गाउँका स्थानीय नारायण अधिकारीले ल्याउनु भएको हो । जागिरको क्रममा उहाँले पाँच वर्षसम्म पूर्वी नेपालको इलाममा बस्ने मौका पाउनु भएको रहेछ । त्यहाँ बस्दा त्यहाँका किसानले गरेको अम्रिसो खेतीलाई निजकबाट नियाल्ने मौका पाएका नारायणले बताउनु भयो । उहाँले भन्नुभयो, ‘त्यहाँबाट अम्रिसोको ५०– ६० वटा विरुवा ल्याएर परीक्षणका लागि खेत– बारीको कान्लाहरूमा लगाए थिए ।’ उहाँका अनुसार त्यसले राम्रो उत्पादन दिन थाल्यो । नोकरीबाट निवृत्त भएपछि विदेश जाने सपना त्यागेर गाउँमै बस्ने र केही नमूनायुक्त काम गर्ने सोच र योजनाले अम्रिसोको व्यवसायिक खेती सुरु गरेको उहाँले बताउनु भयो । उहाँले थप जानकारी दिदै भन्नुभयो, ‘आउँदो वर्षदेखि सबै गाउँलेलाई यो खेतीमा समेट्ने लक्ष्य छ ।’
उहाँका अनुसार पाँच वर्ष अगाडि पाँच रोपनी जग्गामा लगाइएको अम्रिसोको खेतीले व्यावसायिक रुपमा राम्रो आम्दानी दिन थालेको छ, यसले थप उर्जा पलायो । उहाँले भन्नुभयो ‘सन्तुष्ट छु ।’ उहाँले अम्रिसो खेतीका लागि आफूमात्र हैन गाउँलेहरूलाई समेत सो अवधारणा अनुसार खेती गर्न उत्प्रेरित गरेको उहाँले जानकारी दिनुभयो । त्यसका लागि उहाँले नेपाल भूपू सैनिक कृषि सहकारी संस्थानै खोलेर आफू त्यसको संस्थापक अध्यक्ष भई २०६७ सालमा सहकारी दर्ता गरेको जानकारी दिनुभयो ।
सुरुका दिनमा त्यस सहकारीमार्फत यो क्षेत्रमा हुँदै आएका परम्परागत खेती केरा, कफि तथा कागती, सुन्तला खेती गरिआएका उहाँहरूले गएको आर्थिक वर्षमा सामुहिक रुपमा २० रोपनी जग्गामा अम्रिसो खेती लगाएको सो सहकारीका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अब आउँदो वर्षबाट हामी सय रोपनीमा अम्रिसोको खेती गरेर जिल्लामै नमूना कृषि फार्म बनाउने सोचमा छौं र यसलाई पर्यटनसँग पनि जोड्ने योजना छ ।’
यो वर्ष आफूहरूलाई प्रोत्साहन स्वरुप दोर्दी गाउँपालिकाले एक लाख रुपैयाँ सहयोग गरेको समेत उक्त सहकारीका अध्यक्ष नारायण अधिकारीले बताउनु भयो । उहाँले भन्नुभयो ‘गाउँपालिकाले बजारको प्रवन्ध गरिदिने भएको छ ।’ उहाँका अनुसार लोड (ट्रकका लागि भारी) पुर्याउन सक्ने हो भने चितवनबाट मिनी ट्रक लिएर अम्रिसो खरिदका लागि गाउँमै आउँछौं भन्ने ठेकेदारहरू पनि भेटेका छौं, त्यसैले बजारको समस्या हुँदैन भन्ने लाग्छ अध्यक्ष अधिकारीले भन्नुभयो ।
सहकारीका अध्यक्ष अधिकारीले अम्रिसोको एउटा विरुवाको पाँच रुपैयाँ ५० पैसा पर्छ नर्सरीमा, मसँग आजका दिनमा पनि बिक्री योग्य पाँच हजार विरुवा छन् भन्ने जानकारी दिनुभयो । उहाँका अनुसार विरुवा किन्नेहरूको खोजीमा छु । उत्पादनको बारेमा जानकारी दिदै भन्नुभयो, यसको खेती राम्रो ठाउँमा गरेमा एकै वर्षमा पनि उत्पादन दिने हुन्छ । नभए पनि दोस्रो वर्षबाट उत्पादन दिन्छ उहाँले भन्नुभयो । ‘२० वटा अम्रिसोको डाँठको यौटा कुचो बन्छ । एउटा कुचोको मूल्य आफ्नो पसल र घरबाट सय रुपैयाँमा दिने गरेको छ ।’ उहाँले जानकारी दिनुभयो, ‘तर अन्य भाडा पसलेहरूले १५० रुपैयाँसम्ममा बेचेको थाहा पाएको छु ।’ उहाँका अनुसार मैले किन्न आउने पसलेहरूलाई होलसेलमा प्रतिगोटा ७५ रुपैयाँमा दिने गरेको छु । धेरैजसो भाडा पसलेहरूले लग्ने गरेछन् उहाँले भन्नुभयो ।
अम्रिसोको खेती एक पटक लगाएपछि बर्षौंसम्म उत्पादन दिइरहने हुन्छ । यसको उत्पादनलाई हरेक वर्ष लिन(काट्न) सकिन्छ । बोट काटिसकेपछि त्यसमा डढेलो लगाई दियो राम्रो भएर पलाएर आउँछ, मल पनि खासै चाहिन्न उहाँले उल्लेख गर्नु भयो ।
अम्रिसो खेतीका बारेमा बुझ्न दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीसँग सम्पर्क गर्दा गाउँका खेत, बारी प्रतिवर्ष बाझा हुँदै गए, त्यो रोक्न्का लागि यो खेती उपयुक्त देखियो उहाँले भन्नुभयो । यो खेतीमा बाँदर पनि नलाग्ने, जत्ति उत्पादन गर्न सक्दा पनि बजारको पनि समस्य नहुने, मलजल, सिंचाईसमेत धेरै नचाहिने देखियो उहाँले भन्नुभयो । उहाँका अनुसार त्यसैले यसलाई व्यवसायिक खेतीतर्फ किसानलाई सहयोग गर्ने नीति गाउँपालिकाले तय गरेर गाउँसभाबाट पारित गरेर नै आर्थिक सहयोग गरिएको हो । सो सहकारीका सचिव विकास अधिकारीले भन्नुभयो, ‘यो खेती त झन् भिरपाखाहरू खेती नगरी मिल्किएका जग्गाहरूमा लगाउँदासमेत हुने रहेछ, त्यसैले यो कार्य उपलब्धिपूर्ण हुन्छ भन्ने देखिएको हुँदा गाउँपालिकाले लगानी गरेको हो ।’
कृषि साझेदारी कार्यक्रम अन्तरगत ५० प्रतिशत साझेदारीको लागतमा यो कार्यक्रम गरिएको सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले बताउनु भयो । उहाँका अनुसार ऐले २० रोपनी जग्गामा अम्रिसो खेती गर्ने गरी नेपाल राष्ट्रिय भूपू सैनिक सहकारीमा आवद्ध भएका किसानहरूका लागि दुई लाखको योजना सञ्चालनमा ल्याएको हो । उहाँले भन्नुभयो, ‘गाउँपालिकाको बेष्ट क्वालिटीको योजनामा यो एक नंबरमै छ भन्दा हुन्छ ।’ यसको परिणाम राम्रो आउने वाला छ उहाँले उल्लेख गर्नुभयो ।
‘एक पटक लगाएपछि बर्षौंवर्षसम्म आम्दानी दिइरहन्छ गोडमेल स्याहार त चाहिन्छ तर अन्य धान, मकैमा जस्तो मेहनत गर्नु पर्दैन, उक्त भूपू कृषि सहकारीका अध्यक्ष नारायण अधिकारीले बताउनु भयो । उहाँका अनुसार अम्रिसोको खेर जाने भन्ने केही पनि हुँदैन पात राम्रो घाँस हुन्छ, डाठको नेपाली कागज पनि राम्रो बन्छ भन्ने छ हाम्रोमा नजिक त्यस्तो कारखाना छैन । उहाँले भन्नुभयो, ‘इलामतिर त डाठ पनि प्रति केजी १० रुपैयाँमा बिक्री हुन्छ भन्छन् ! यसको मुढा पनि निकै राम्रो र टिकाउ बन्छ ।’ यसको जरा उप्काएपछि नयाँ विरुवा बन्छ उहाँले भन्नुभयो । उहाँका अनुसार यसको बोटबाट कलमी गरेर पनि नयाँ विरुवा उत्पादन गर्न सकिने हुन्छ ।
सो गाउँपालिकाको कृषि शाखाका प्रमुख निराजन पौडेलले बाझो खेतबारी न्यूनिकरण कार्यक्रम अन्तरगत यो कार्यक्रम नमूनाका रुपमा सञ्चालन गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘व्यवसायिक कृषि खेती विस्तारको यो कार्यक्रमले किसान मात्र हैन हामी पनि उत्साहित छौं, यो कार्यक्रम विस्तार गर्नु पर्छ भन्ने आजसम्मको परिणामले देखाएको छ ।’
प्रकाशित मिति २०८३ भाद्र ८, सोमबार ०८:०० गते