तिब्बतमा हिमपहिरोका कारण भोटेकोशीमा भीषण बाढी : चीनले दियो जानकारी

तिब्बतमा हिमपहिरोका कारण भोटेकोशीमा भीषण बाढी : चीनले दियो जानकारी

एजेन्सी

@antaranganews

२०८३ भदौ ९ गते बुधबार ०२:०२

सो बैठकमा नेता आङ्दाम्वेले सरकारले तत्कालै क्रियाशीलता देखाएकोमा धन्यवाद दिदै भन्नुभयो यस्तो बेलामा पक्ष–विपक्षभन्दा पनि शंकटको घडीमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीका लागि दुई दिनको भ्वाइस कल निःशुल्क गर्ने भएको छ। प्रभावित क्षेत्रका सेवाग्राहीले दुई दिनसम्म निःशुल्क भ्वाइस कलसँगै प्रतिदिन २ जीबी डाटा र ५० वटा एसएमएससमेत निःशुल्क पाउनेछन् ।

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको अकस्मात् बाढीको मुख्य कारण तिब्बतमा गएको हिमपहिरो रहेको चीनले नेपाललाई जानकारी दिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चीनतर्फ तिब्बत क्षेत्रमा हिमपहिरो खसेका कारण भोटेकोशीमा भीषण बाढी आएको प्रारम्भिक जानकारी भदौ १० गते प्राप्त भएको हो ।
यस्तो जानकारी चीनबाट अनौपचारिक रूपमा आएको र यसबारे थप बुझ्ने प्रयास भइरहेको प्राधिकरणकी उपसचिव एवं प्रवक्ता शान्ति महतले बताउनु भयो । उहाँका अनुसार त्यो क्षेत्रमा रहेका प्राविधिकहरूको प्रारम्भिक अध्ययनले तिब्बतको हिमपहिरोलाई नै बाढीको मुख्य कारण देखाएको र यसमा थप अनुसन्धान जारी रहेको छ ।
विपद्मा सरकारलाई सघाउँछौं : विपक्षी दल
यसैबीच, भोटेकोसी नदीमा आएको बाढीले निम्त्याएको विपद्को समयमा प्रतिनिधिसभाका विपक्षी दलका नेता भीष्मराज आङ्दाम्वेले सरकारलाई सघाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनु भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रतिनिधिसभाका विपक्षी दलका नेता आङ्दाम्वेले यस्तो प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।
सो बैठकमा नेता आङ्दाम्वेले सरकारले तत्कालै क्रियाशीलता देखाएकोमा धन्यवाद दिदै भन्नुभयो यस्तो बेलामा पक्ष–विपक्षभन्दा पनि शंकटको घडीमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा बाढीले अहिलेसम्म पुर्याएको क्षतिको विवरणबारे ब्रिफिङ गरिएको थियो । प्रधानमन्त्री शाहले उद्धार तथा राहत कार्यमा सक्रिय भएर जुट्न सरोकारवाला सबैलाई निर्देशन दिइसक्नु भएको छ ।
एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान :
यसैगरी, राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा र नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा २० गते बिहान अकस्मात् आएको बाढीबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । उहाँले बाढीले पुर्याएको विनाशको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बताउनु भएको हो ।
राष्ट्रपति पौडेलले विपद्को यस कठिन घडीमा उद्धार र राहतको कामलाई तीव्रता दिन सम्बद्ध सबै पक्षसँग अपिल गर्नु भएको छ । उहाँले सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षा निकाय र आम नागरिकलाई एक भएर उद्धारमा खटिन आग्रह गर्नु भएको हो ।
रसुवामा १६ जना प्रहरी कर्मचारी सम्पर्कविहीन :
चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढी भोटेकोसीमा मिसिँदा रसुवामा ठूलो भौतिक क्षति भएको छ । रसुवाको टिमुरे बजार र नुवाकोटको त्रिशूली बजारमा रहेको घरहरू बाढीले बगाएको छ ।
रसुवास्थित नेपाल– चीन सिमाना स्थित रसुवागढी प्रहरी चौकीमा कार्यरत १६ जना प्रहरीहरू सम्पर्कविहीन भएका छन् । रसुवागढी हुँदै टिमुरे क्षेत्रका ३ वटा प्रहरी युनिटमा कार्यरत ती प्रहरी सम्पर्कबिहिन् भएको बागमती प्रदेशका डीआईजी दीपक रेग्मीले जानकारी दिनुभयो ।
रसुवागढी प्रहरी चौकीमा असईको कमान्डमा ९ जना प्रहरी कार्यरत थिए । प्रहरी चौकी स्याफ्रुवेशीमा पनि असईको कमान्डमा ९ जना प्रहरी कर्मचारी कार्यरत थिए । इलाका प्रहरी कार्यालय टिमुरेमा इन्स्पेक्टरको नेतृत्वमा प्रहरी कर्मचारी कार्यरत छन् ।
रसुवा बाढीले बैंकका शाखा पनि बगाया : टेलिफोन नहुँदा यकिन विवरण सङ्कलनमा बाधा :
आज बिहान भोटेकोसीमा आएको बाढीले बस्ती नै बगाउँदा बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालयसमेत बगाएको स्थानीयको भनाइ छ ।
त्यहाँ रहेका धेरै बंैकका शाखाहरूमा क्षति पुगेको नेपाल बैंकर्स संघmले जनाएको छ । संघका अनुसार फोन सम्पर्क नहुँदा यकिन विवरण सङ्कलनमा समस्या भएको बैँकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताउनु भयो । उहाँका अनुसार बाढी आएको थाहा भएसँगै बिहान बैंकर्स संघको आकस्मिक बैठक बसेर सबै विवरण सङ्कलन र उद्धारको विषयमा छलफल भएर कार्यान्वयन भएको छ ।
उहाँका अनुसार बैंकका कुनै पनि कर्मचारी सम्पर्कमा छैनन् । टेलिफोन अवरुद्ध भएकाले क्षतिको विवरण सङ्कलन गर्न कठिन भएको छ । संघले सम्पर्क भएसम्म विवरण लिइरहेका छौँ । बैठकले उद्धारका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरेको छ । उनले भने,‘ उद्धारका सरकारसँग अनुरोध गरिसकेका छौँ ।
दुई दिनको भ्वाइस कल, दैनिक २ जीबी डाटा र ५० एसएमएस निःशुल्क : टेलिकम
उता, नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीका लागि दुई दिनको भ्वाइस कल निःशुल्क गर्ने भएको छ।
टेलिकमका अनुसार प्रभावित क्षेत्रका सेवाग्राहीले दुई दिनसम्म निःशुल्क भ्वाइस कलसँगै प्रतिदिन २ जीबी डाटा र ५० वटा एसएमएससमेत निःशुल्क पाउनेछन् ।
बाढी प्रभावित क्षेत्रका नागरिकलाई सावधानी अपनाउन आग्रह गर्दै टेलिकमले एसएमएसमार्फत सचेत गराइरहेको छ। साथै, सेवाग्राहीलाई आवश्यक सूचना प्रवाह गर्न सचेतनामूलक रिङब्याक टोनसमेत बजाइरहेको जनाएको छ।
धादिङ सदरमुकाम जोड्ने पुल बाढीले बगायो :
रसुवा हुँदै त्रिशुली नदीमा आएको बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल हेर्दाहेदै बगाएको स्थानीयले बताएका छन् । पृथ्वी राजमार्गबाट धादिङतर्फ जाने त्रिशूली नदीमाथिको उक्त पुल बाढीले बगाएपछि यातायात आवागमन प्रभावित भएको छ । गजुरी गाउँपालिकाका अध्यक्ष गोपाल श्रेष्ठले बाढीले पुल बगाएको पुष्टि गर्नु भएको छ ।
गोसाईंकुण्ड यात्रामा हिँडेको ११ जनाको टोली बाढीमा फस्यो :
त्यसैगरी, गोसाईंकुण्डको यात्रामा हिँडेको ११ जनाको टोली नुवाकोटको विदुर नगरपालिका– १ सिम्मुटारमा बाढीका कारण फसेको उनीहरूका आफन्त पूर्ण खड्काले बताउनु भयो । उहाँका अनुसार टोली चढेको गाडी बाढीले बगाएपछि उनीहरू भागेर सुरक्षित स्थानमा पुगेका थिए । यसअघि सम्पर्क भए पनि अहिले टोलीसँग राम्रोसँग सम्पर्क हुन सकेको छैन उहाँले भन्नुभयो ।
टोलीमा अप्सरा खड्का, प्रमिला श्रेष्ठ, टुनेबहादुर राउत, गेयल विष्ट, असोका राउतलगायत ११ जना रहेको जनाइएको छ । टोलीको उद्धारका लागि सम्बन्धित निकायमा जानकारी गराइसकिएको छ ।
प्रभावित क्षेत्रमा चिकित्सक टोली परिचालन :
भोटेकोसीमा आएको भीषण बाढीपछिको विपद् व्यवस्थापन, उद्धार तथा घाइतेहरूको द्रुत उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना संयन्त्रहरूलाई पूर्ण रूपमा सक्रिय हुन निर्देशन दिएको छ । स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई एक्टिभेट गरी उच्चस्तरीय छलफल र अस्पतालहरूसँगको समन्वयलाई तीव्रता दिइएको छ । बाढी प्रभावित क्षेत्रमा हुनसक्ने स्वास्थ्य जटिलतालाई ध्यानमा राख्दै स्थानीय, प्रदेश तथा केन्द्रीयस्तरका स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा राखिएको मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनु भयो ।
उहाँका अनुसार बाढी प्रभावित क्षेत्रमा तत्काल आपत्कालीन स्वास्थ्य सेवा पुर्याउन राष्ट्रिय ट्रमा सेन्टरका ६ जना चिकित्सक सम्मिलित ‘इमरजेन्सी मेडिकल टिम’ गठन गरी त्रिभुवन विमानस्थल पठाइसकिएको छ । उक्त विशेषज्ञ टोलीलाई हवाई मार्गमार्फत प्रभावित क्षेत्र रसुवातर्फ पठाउने भएको छ ।
मलेखु बजार पुग्यो विनाशकारी बाढी :
रसुवा हुँदै त्रिशुली नदीमा आएको बाढी मलेखु बजार आसपास पुगेको छ । बाढी पूर्वानुमान महाशाखाले बाढी अबको करिब आधा घण्टामा मुग्लिन पार गर्ने क्रममा रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाले भदौ १० गते बिहान ११ः५० बजे एसएमएस अलर्ट जारी गर्दै पृथ्वी राजमार्ग, मुग्लिन, नारायणगढलगायत त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्र खाली गर्न अनुरोध गरेको छ । बाढीको जोखिम रहेका नदी छेउछाउका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान तथा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो ।
टिबेटमा हिमताल फुटेर आएको बाढीले तिमुरे, रसुवागढी र स्याफ्रुबेसीमा अत्यधिक क्षति पुगेको छ ।
बाढीले २०० मेगावाट क्षमताका जलविद्युत आयोजनाहरूमा पूर्ण क्षति पुगेको छ भने उद्धारका लागि ११ हेलिकप्टर खटाइएको छ ।
मन्त्री महावीर पुनले आठ वटा बुँदामा जानकारी :
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले रसुवाको भोटेकोसी बाढीबारे जानकारी गराउनु भएको छ । ती हुन् ः
१. तिब्बतमा हिमताल फुटेर बाढी आएको ।
२. टिमुरे, रसुवा गढी र स्याफ्रुबेसीमा अत्यधिक क्षति पुगेको ।
३.२०० मेगावाट जति जलविद्युत आयोजनाहरू पूर्ण रूपमा क्षति भएको
४. उद्धारको लागि ११ वटा हेलिकप्टर खटाइएको ।
५.घाइतेहरूलाई त्रिशूली जिल्ला अस्पतालमा ल्याएर उपचार गर्ने र अरूहरूको लागि धुन्चेमा बस्ने व्यवस्थापन गरेको ।
६. उद्धारको लागि नेपाली सेना, सशस्त्र र जनपद प्रहरी त्यता हिँडेको ।
७. भोटोकोसीको शिरतिर बाढी घट्दै छ तर तलतिर बाढी मुगलिन पुग्न लागेको छ ।
८. विपद् व्यवस्थापनको लागि आवश्यक बजेटको व्यवस्था सरकारले गरेको छ । आदि ।

प्रकाशित मिति २०८३ भाद्र १०, बुधबार १४:०२ गते
हजुरको प्रतिक्रिया