
काठमाडौं– रसुवा, नुवाकोट नदी किनारमा अहिलेसम्म सातजनाको शव फेला परेको छ । भोटेकोसी नदीमा भदौ १० गते विहान आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ । वाग्मती प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीले रसुवामा चार र धादिङमा तीनजनाको शव फेला परेको बताउनु भयो । उनीहरूको पहिचान हुन बाँकी छ ।
घाइतेहरूको निःशुल्क उपचार :
यसैबीच, सरकारले भोटेकोसी बाढीमा परेका घाइतेहरूको निःशुल्क उपचार गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले उपचारको प्रबन्धका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई जिम्मेवारी तोकेको छ । त्यस्तै, नेपाली सेना र सरकारी अस्पतालहरूले पनि पूर्वतयारीसहित उपचारको व्यवस्था मिलाउने मन्त्रिपरिषद्ले भनेको छ ।
विपद् संकटग्रस्त क्षेत्र घोषणा : सरकार
यसैबीच, सरकारले तिब्बत क्षेत्रबाट आएको बाढीले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको बताउनु भएको हो । उहाँका अनुसार घाइतेको निःशुल्क उपचार गर्ने र मृत्यु भएकाको परिवारलाई कानुनमा उल्लेख भएअनुसारको राहत प्रदान गर्ने निर्णय भएको छ ।
भोटेकोशी–त्रिशूलीका १९ वटा पुलमा क्षति :
भोटेकोशी–त्रिशूलीमा गएको बाढीका त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति भएको सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेले बताउनु भयो । उहाँका अनुसार बाढीका कारण हालसम्म त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको र कम्तीमा ४० किलोमिटर सडक भत्किएको छ । क्षतिग्रस्त क्षेत्रमा सडक विभागले भारी उपकरण तथा मेसिन परिचालन गरी सडक तथा पुलको अवस्था सुधार गर्ने काम अघि बढाएको न्यौपानेले बताउनु भयो ।
२९ जनाको हवाइ उद्धार :
रसुवाको बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाले २९ जनाको हवाइ उद्धार गरेको छ । दिउँसो २ः४५ बजेसम्मको अपडेट अनुसार २९ जनाको हवाइ उद्धार भएको नेपाली सेनाले जनाएको हो । उद्धारका लागि नेपाली सेनाको ६ वटा हेलिकप्टर खटाइएको छ । पछि थप दुई वटा हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको सेनाले जनाएको छ ।
उद्धार कार्यको सहजताका लागि तीन वटा ड्रोन समेत परिचालन गरेको छ ।
१० सेकेन्डले बाँचे : स. हवल्दार सन्तोष रिजाल
रसुवाको बाढीमा परी अहिलेसम्म सात जनाको शव संकलन गरिएको छ भने केही घाइतेको उद्धार गरी उपचार सुरु गरिएको छ । उक्त बाढीका कारण नेपाल प्रहरीका ३२ र सशस्त्र प्रहरीका ९ जना बेपत्ता भएकाले ४१ सुरक्षाकर्मी सम्पर्कविहीन छन् ।
बेत्रावतीमा माइकिङ गर्दै हिँडिरहेका बेला एक्कासी आएको बाढीले धेरै घर र मानिस बगाएको सहायक हवल्दार सन्तोष रिजालले बताएका छन् ।
सुरक्षाकर्मीतर्फ पनि ठूलो क्षति भएको छ । अहिलेसम्म नेपाल प्रहरीका ३२ जना बेपत्ता रहेको प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्ले बताउँछन् । सशस्त्र प्रहरीतर्फ पनि ९ जना अहिलेसम्म सम्पर्कविहीन छन् ।
४१ सुरक्षाकर्मी अहिलेसम्म सम्पर्कविहीन छन् । बाढीमा परी बालबाल बाँचेका प्रहरी सहायक हवल्दार सन्तोष रिजाल सम्पर्कमा आउनु भएको छ । उहाँका अनुसार ‘बाढी आउँदै छ भनेर माइकिङ गर्दागर्दै एक्कासी ठूलो बाढी आयो । उहाँले भन्नुभयो, ‘म बेत्रावतीमा कार्यरत छु । बाढी आउँदै छ भनेर हामी माइकिङ गर्न निस्केका थियौं । सडक किनार तथा नदी किनारका बासिन्दाहरूलाई सुरक्षित ठाउँतर्फ जान भनेर माइकिङ गरिरहेका थियौं ।’
उहाँले थप भन्नुभयो, ‘असईसाप रामकाजी पौडेलको कमान्डमा हामी माइकिङ गर्न खटिएको बेला एक्कासी यति ठूलो बाढी आयो, सोच्नै सकिएन । घरमा सुतेका मान्छे, बसेका मान्छे, खाँदै गरेका मान्छे बाढीमा बगे । कतिलाई बगायो यकिन छैन ।’
उहाँले थप जानकारी दिदै भन्नुभयो, ‘म बाइकमै थिएँ । १० सेकेन्डले बाँच्न सफल भएँ । बाइक छाडेर जंगलतर्फ भागेर ज्यान जोगाएको हुँ । सँगै माइकिङ गर्न जानुभएका असईसाप सम्पर्कविहीन हुनुहुन्छ । उहाँको अवस्था के छ थाहा पाइएको छैन । अहिले म जंगलमा बसिरहेको छु । कतै जाने ठाउँ छैन ।’
यहाँ करिब ७० जति घरहरू थिए होलान् । अहिले ती घरहरू कुनै पनि सग्ला छैनन् । कति बालबालिका बगायो, कति विद्यार्थी बगायो यकिन छैन । आँखै अगाडि धेरै मान्छे बगायो । हाम्रा धेरै प्रहरी पनि सम्पर्कविहीन हुनुहुन्छ ।
रसुवा बाढी : ३८४ पर्यटक सम्पर्कविहीन
रसुवामा आएको बाढीका कारण ३ सय ८४ आन्तरिक तथा बाह्य पर्यटक सम्पर्कविहीन भएका छन् । तीमध्ये २ सय ९१ विदेशी र ९३ नेपाली पर्यटक रहेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार ट्राभल एजेन्सी, गाइड, स्थानीय निकाय र सुरक्षा निकायसँग पुष्टि गरेर यी विवरण सार्वजनिक गरिएको हो ।
रसुवा भन्सारका १४ कर्मचारी बेपत्ता :
यसैबीच, रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवागढी भन्सार कार्यालयका १४ कर्मचारी बेपत्ता भएका छन् । रसुवागढी भन्सार कार्यालयमा ३६ जना स्थायी कर्मचारी दरबन्दीमा रहेका थिए जसमा ११ कर्मचारी बेपत्ता भएको भन्सार कार्यालयका प्रशासक प्रमुख राजेन्द्र ढुंगानाले बताउनु भयो । उहाँका अनुसार म आफूसहित २५ जना कर्मचारी सम्पर्कमा छौ । उहाँले भन्नुभयो, ‘बेपत्ता हुनेमा ११ जना स्थायी तथा ३ जना करार÷ज्यालादारी कर्मचारी रहेका छन् ।’
बाढीपछि बेपत्ता कर्मचारीको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको उहाँको भनाइ छ ।
सरकारले हालसम्म बाढी प्रभावितको उद्धारका लागि १२ वटा हेलिकप्टर परिचालन गरेको छ ।
विभिन्न एजेन्सीबाट ।
प्रकाशित मिति २०८३ भाद्र १०, बुधबार १६:१८ गते