
काठमाडौँ– ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल (टीआई नेपाल)को अध्यक्षमा मदनकृष्ण शर्मा पुनः निर्वाचित हुनु भएको छ । संस्थाको यहाँ सम्पन्न ३१औँ वार्षिक साधारणसभाले शर्मालाई दोस्रो कार्यकालका लागि अध्यक्षमा भदौ १० गते निर्वाचित गरेको हो । वरिष्ठ चार्टर्ड एकाउण्टेन्ट शर्मा यसअघिको एक कार्यकाल अध्यक्षमा काम गरी अनुभव हासिल गर्नु भएको व्यक्तित्व हो ।
सदाचार, पारदर्शिता, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा आवाज उठाउँदै आएको टीआई नेपालको आगामी दुई वर्षे कार्यकालका लागि नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि निर्वाचन गर्नु परेको हो ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको २९ औं साधारण सभाबाट १३ औं अध्यक्षमा शर्मा निर्वाचित हुनु भएको निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले बताउनु भयो । उहाँका अनुसार शर्माले २९ मत ल्याउँदा उनका प्रतिस्पर्धी किरन थापाले १५ मत प्राप्त गर्नु भएको छ ।
मतदानमा जम्मा ४६ मत खसेको थियो । अध्यक्षसँगै ७ जना सदस्यहरू निर्विरोध निर्वाचित हुनु भएको छ ।
शर्मा विगत १३ वर्षदेखि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसँग आबद्ध रहँदै आउनु भएको छ । उहाँले यसअघि संस्थाको महासचिवको जिम्मेवारीसमेत सम्हाली सक्नु भएको छ ।
साधारणसभाले कार्यसमिति सदस्यमा राष्ट्रिय व्यावसायिक पहलका प्रतिनिधि सुरेन्द्रवीर मालाकारसहित सरोजप्रसाद पाण्डे, शरदचन्द्र न्यौपाने, सुष्मा कर्ण, चन्द्रकिरण श्रेष्ठ (जोशी), दीपकराज जोशी, सुरेश प्रधान र डा. प्रकाशचन्द्र भट्टराईलाई निर्वाचित गरेको निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनु भयो ।
नव निर्वाचित अध्यक्ष तथा कार्यसमिति सदस्यलाई निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो ।
आज संस्थाको ३१औँ स्थापना दिवस तथा साधारणसभापछि नयाँ कार्यसमिति चयनका लागि निर्वाचन भएको थियो । एक साताअघि अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेपछि निर्वाचनमार्फत नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाइएको थियो ।
भ्रष्टाचार नियन्त्रण, सार्वजनिक जवाफदेहिता, सुशासन र संस्थागत पारदर्शिताका पक्षमा निरन्तर खबरदारी गर्दै आएको टीआई नेपालको नयाँ नेतृत्व चयनलाई चासोका साथ हेरिएको थियो ।
अध्यक्ष पदसँगै कार्यसमितिको सदस्य पदमा समेत मत बराबरी भएको बताइएको छ । त्यसको टुंगो पनि संस्थाको निर्वाचन प्रक्रिया अनुसार लगाइने छ ।
यसअघि अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष मदनकृष्ण शर्मा, संस्थापक डा. पोषराज पाण्डे र टंकमणि दाहालबीच प्रतिस्पर्धा भएको थियो । कुल ४७ मत खसेको निर्वाचनमा शर्मा र पाण्डेले समान १९– १९ मत प्राप्त गर्नु भएको थियो भने दाहालले ९ मत प्राप्त गर्नु भएको थियो ।
टीआई नेपालको कार्यसमिति ९ सदस्यीय हुने व्यवस्था छ । यसपटक नेतृत्व चयनका लागि भएको प्रतिस्पर्धाले संस्थाभित्र नेतृत्वप्रतिको चासो र आगामी कार्यदिशाबारे देखिएको फरक धारणालाई समेत सतहमा ल्याई दिएको छ ।
नव निर्वाचित पदाधिकारीहरूले आजै पदभार ग्रहण गरेका छन् । अब अध्यक्षले उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष निर्वाचित सदस्य मध्येबाट चयन गर्नु हुनेछ । नव निर्वाचित कार्यसमितिको कार्यालय दुई वर्षको हुनेछ ।
साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र वित्तीय प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ । प्रगति प्रतिवेदनमा संस्थाले सुशासन, सदाचार, पारदर्शिता तथा जवाफदेहिता प्रवद्र्धनका लागि जनचेतनामूलक, अनुसन्धानात्मक, नीतिगत तथा संस्थागत गतिविधि सञ्चालन गरेको उल्लेख छ ।
साधारणसभामा सहभागी सदस्यहरूले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा संस्थाका अभियान, कार्यक्रम तथा वकालतका गतिविधिलाई थप प्रभावकारी, परिणाममुखी र व्यापक बनाउनुपर्नेमा जोड दिएका थिए ।
स्मरणीय छ, टीआई नेपालको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्ष पदका दुई उम्मेदवारको मत बराबरी भएपछि पुनः निर्वाचनभएको हो । यसअघिको निर्वाचनमा दुई उम्मेदवारको मत बराबरी भएपछि तत्काल अध्यक्ष चयन हुन नसकेको हो ।
प्रकाशित मिति २०८३ भाद्र १०, बुधबार १९:२८ गते