प्रधानमन्त्री शाह नुवाकोटमा : सम्पर्कविहीन पर्यटक संख्या ६४४ पुग्यो, ज्यान गुमाउने १८८, ७३ घाइते, चितवनमा शव पहिचान गृह

प्रधानमन्त्री शाह नुवाकोटमा : सम्पर्कविहीन पर्यटक संख्या ६४४ पुग्यो, ज्यान गुमाउने १८८, ७३ घाइते, चितवनमा शव पहिचान गृह

एजेन्सी

@antaranganews

२०८३ भदौ १० गते बिहिबार ०४:०८

उद्धार कार्यमा हेलिकप्टरको प्रयोगलाई तीव्रता दिइएको छ । हालसम्म ३०५ जनाको हवाई उद्धार गरिएको छ । उद्धारका लागि ३७ वटा हवाई उडान भइसकेका छन्। बिहान ११ः१५ बजेको समयमा थप ११ वटा हेलिकप्टर उद्धार कार्यमा खटिएका छन् । आज बिहान स्थलमार्गबाट ६३ जनाको उद्धार गरिएको छ ।

खोज तथा उद्धारका लागि ७ हजार ४५१ जना सुरक्षाकर्मी परिचालन गरिएको छ र ३०५ जनाको हवाई उद्धार गरिएको छ ।

विदुर– प्रधानमन्त्री बालेन शाह नुवाकोट पुग्नु भएको छ । तिब्बती क्षेत्रबाट आएको विनाशकारी बाढीको क्षति, राहत र उद्धार कार्यबारे जानकारी लिन र अनुगमनका लागि नुवाकोट प्रधानमन्त्री भदौ ११ गते यहाँ आउनु भएको हो ।
प्रधानमन्त्री शाह सडकमार्ग हुँदै यहाँ आउनु भएको हो । प्रधानमन्त्री शाहले नुवाकोटमा बाढीको ब्रिफिङका साथै उद्धार र राहतका कार्यको समेत जानकारी लिने र अनुगमन गर्ने गर्नु भएको छ ।
प्रधानमन्त्रीले यहाँ आउनेबित्तिकै त्यहाँ रहेको श्री नं १ सैन्य तालिम केन्द्रमा प्रशासन र सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिने काम गर्नु भएको थियो ।
प्रधानमन्त्रीको टोलीलाई नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्ला प्रहरी प्रमुख विपिन रेग्मीलगायतले मानवीय र भौतिक क्षतिको अवस्थाबारे जानकारी गराउनु भएको हो ।
ब्रिफिङमा पूर्वाधारविकास मन्त्री सुनील लम्साल, सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना, बागमती प्रदेश मुख्यमन्त्री किरण थापामगर, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललगायत सहभागी हुनुहुन्छ ।
हिजो बिहानको भीषण बाढीपछि सरकार राहत र उद्धारका कार्यमा सक्रियतापूर्वक सहभागी भइरहेको छ ।
खोज तथा उद्धारका लागि ७ हजार ४५१ जना सुरक्षाकर्मी परिचालन गरिएको छ र ३०५ जनाको हवाई उद्धार गरिएको छ ।
सयौँ मानिस अझै बेपत्ता :
बाढीमा परेर ज्यान गुमाउने संख्या १८८ पुगेको प्रहरीले पुष्टि गरेको छ । नवलपुरमा ४९, चितवनमा ६४, धादिङमा २५, गोरखामा २०, नुवाकोट १२ जना, तनहुँमा ९ जना, नवलपरासीमा ५ र रसुवामा २ जनाको शव फेला परेको प्रहरीले जनाएको हो ।
सम्पर्कविहीन पर्यटक संख्या ६४४ पुग्यो :
यो क्षेत्रमा आएको बाढीका कारण सम्पर्कविहीन पर्यटकको संख्या ६४४ पुगेको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार सबैभन्दा धेरै १७८ भारतीय, १२७ नेपाली, ६५ अमेरिकी र ५३ युक्रेनी पर्यटक सम्पर्कविहीन छन् । यसैगरी, मलेसियाका ५१, अष्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ पर्यटक पनि वेपत्ता रहेर्का छन् ।
चितवनमा १ सय ८ शव फेला, भरतपुर अस्पतालमा पहिचान केन्द्र स्थापना :
यसैबीच, चितवनको भरतपुर अस्पतालमा शव राख्ने ठाउँको अभाव भएपछि त्रिपाल टाँगेर बाहिरै शव राख्न थालिएको छ । पीडित परिवारलाई निःशुल्क होटेल र २४ सै घण्टा एम्बुलेन्स सेवा सञ्चालनमा छ । प्रशासनले शव पहिचान गर्न एसीसहितको कोठा तयारी गर्दै गरेको जनाएको छ । पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइने प्रशासनको भनाइ छ ।
ती शवलाई सुरुमा भरतपुर अस्पतालको मर्चरीमा लगेर सफा गर्ने, ट्याग लगाउने र बडी ब्यागमा राख्ने काम हुँदैछ । त्यसपछि, माइनस डिग्री सेल्सियस तापक्रम भएको पहिचान केन्द्रको विशेष कुलिङ हलमा शव राखिने भरतपुर अस्पतालका सूचना अधिकारी गाोपालप्रसाद पौडेलले बताउनु भयो । उहाँका अनुसार हालसम्म ६४ वटा शव अस्पतालमा ल्याइएको छ । उहाँले भन्नुभयो, ‘अस्पतालमा १२ जनासम्म राख्ने क्षमता छ, त्यो ठाउँ भरिईसक्यो ।’ उहाँले थप भन्नुभयो, ‘हाम्रोमा ६ वटा फ्रिजर हो । एउटामा २–२ जना राख्दा १२ जना राख्न मिल्छ, पहिल्यै बेवारिसे शव पनि छन् । यस्तो हताहतमा हामीले धान्न सक्ने क्षमता छैन ।’
गर्मीको मौसममा धेरै समय शव घाममा राख्दा बिग्रने, गन्हाउने समस्या हुन्छ अस्पतालका सूचना अधिकारी गाोपालप्रसाद पौडेल बताउनु हुन्छ । उहाँका अनुसार जिल्ला सुरक्षा समितिको बैठकले शव गृहमा नअटेका शव एसीसहितको कोठामा राख्ने तयारी गर्ने काम भएको छ । उहाँले भन्नुभयो, ‘आफन्त वा परिवारले शव प्रहरीमार्फत सनाखत गरेपछि अस्पतालले पोष्टमार्टम गरेर जिम्मा लगाइने छ ।’
भरतपुरस्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको एउटा पुरानो भवनमा ‘पीडित परिवार सम्पर्क परामर्श केन्द्र’ (शव पहिचान केन्द्र) स्थापनाको काम अहिले भइरहेको चितवनका एसपी रामेश्वर पौडेलले बताउनु भयो । उहाँका अनुसार पाँच सयसम्म शव राख्न मिल्ने गरी पहिचान केन्द्र तयार भइरहेको छ ।
आफन्त र परिवारका सदस्यले यहाँ राखिएका शव नेपाल प्रहरीको वेबसाइट र सामाजिक सञ्जालमार्फत फोटो हेरेर पहिचान गर्न सक्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेपत्ताको खोजीका लागि सबैभन्दा पहिले जिल्ला प्रहरी कार्यालय चितवनमा निवेदन दिनुपर्नेछ । शव पहिचान भएपछि ट्याग नम्बर अनुसार शव गृहबाट निकालेर कानुनी प्रक्रिया पूरा गरी परिवारलाई जिम्मा लगाइनेछ ।
यसैबीच, पीडित परिवारका लागि निःशुल्क होटेल र २४ सै घण्टा एम्बुलेन्स सेवा दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पीडित परिवारका लागि होटल व्यवसायी संघ चितवन र सौराहाको समन्वयमा निःशुल्क बस्ने व्यवस्था गरिएको छ ।
कुनै समस्या परेमा १०० मा फोन गरेर सहयोग माग्न सकिने चितवनका एसपी पौडेलले बताउनु भयो । उहाँका अनुसान शव सनाखतपछि घरसम्म लैजान करिब २२ वटा एम्बुलेन्स तयारी अवस्थामा छन् ।
टिचिङ अस्पतालमा २६ घाइते उपचाररत, एक पुरुषको मृत्यु :
तिब्बती क्षेत्रबाट रसुवातर्फ आएको बाढीमा घाइते भएका २६ जनालाई आज बिहानसम्म त्रिवि शिक्षण अस्पतालमा ल्याइएको टिचिङ अस्पतालले जनाएको छ । सो अस्पतालका अनुसार उपचारका क्रममा २५ वर्षीय एक पुरुषको मृत्यु भएको छ र ६ जनाको आईसीयूमा उपचार भइरहेको छ ।
थप ५० देखि ६० जना घाइते आउन सक्ने अनुमान गर्दै उपचार टोली र आवश्यक सेवा तयारी अवस्थामा राखेको अस्पतालले जनाएको छ ।
बाडीमा फसेकाहरूको खोज तथा उद्धारका लागि ७ हजार ४५१ जना सुरक्षाकर्मी परिचालन गरिएको छ भने यो बीचमा ३०५ जनाको हवाई उद्धार गरिएको छ । उद्धारका लागि खट्ने सुरक्षाकर्मीहरूमा नेपाल प्रहरीका ३ हजार ३१८, नेपाली सेनाका २ हजार ३९१ र सशस्त्र प्रहरी बलका १ हजार ७४२ जना छन् ।
विपद्मा परी ८२६ जना अझै सम्पर्कविहीन छन्, जसमा ५७९ जना पर्यटक छन् । त्यसबाहेक नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना सुरक्षाकर्मी समेत बेपत्ता रहेको बताइएको छ । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्यांकअनुसार रसुवाबाट १६१ र नुवाकोटबाट १ जना सम्पर्कविहीन रहेको पुष्टि भएको छ ।
बाढीमा परी ७३ जना घाइते भएका छन् । घाइते हुनेमा रसुवाका ४३, नुवाकोटका २७ र धादिङका ३ जना छन् ।
उद्धार गर्न हेलिकप्टरको प्रयोगलाई तीव्रता :
उद्धार कार्यमा हेलिकप्टरको प्रयोगलाई तीव्रता दिइएको छ । हालसम्म ३०५ जनाको हवाई उद्धार गरिएको छ । उद्धारका लागि ३७ वटा हवाई उडान भइसकेका छन्। बिहान ११ः१५ बजेको समयमा थप ११ वटा हेलिकप्टर उद्धार कार्यमा खटिएका छन् । आज बिहान स्थलमार्गबाट ६३ जनाको उद्धार गरिएको छ ।
नेपाल सरकारले प्रभावित जिल्लाका लागि नगद राहतको घोषणा गरेको छ । रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ प्रदान गर्ने सरकारको घोषणा अनुसार सो रकम उपलब्ध गराइएको छ । राहत सामग्री बोकेका १० वटा ट्रक प्रभावित क्षेत्रतर्फ पठाइएको छ । ती ट्रकमा चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस र ब्ल्याङ्केटलगायतका खाद्य सामग्री रहेको बताइएको छ । सञ्चार सम्पर्क सहज बनाउन प्रभावित क्षेत्रमा सञ्चार सेटहरू पनि पठाइएको बताइएको छ ।

प्रकाशित मिति २०८३ भाद्र ११, बिहीबार १६:०८ गते
हजुरको प्रतिक्रिया