जनै पूर्णिमा : हिन्दूहरूको पवित्र यो पर्वको महत्व

जनै पूर्णिमा : हिन्दूहरूको पवित्र यो पर्वको महत्व

के. वि. मसाल

@antaranganews

२०८३ भदौ १० गते बिहिबार ०७:०९

जनैको पनि एक गहिरो रहस्य छ । यसमा एक विशिष्ट अभिप्राय, मर्यादा र पावन सन्देश लुकेको छ । यसमा तीन दण्ड अर्थात तीन डोरा, नौ सूक्ष्म तन्तु र पाँच शिखा वा गांठा हुन्छन, जसलाई पञ्चशिखा भनिन्छ । एउटा जनैमा तीनवटा सूत्र हुन्छन । हाम्रो संस्कृतिमा तीन संख्याको ठूलो महत्व छ । सत्व, रज र तम तीन गुण, पृथ्वी, अन्तरिक्ष र द्युलोक गरी तीन लोक, गार्हपत्य, आहवनीय र दक्षिणाग्नि गरी तीन अग्नि, ईश्वर, जीवात्मा र प्रकृति सत्ता पनि तीन छन । अतः जनैमा तीन डोरा हुनु अत्यन्त सुसंगत छ ।

हिन्दू धर्ममा मानव जीवनलाई चार आश्रममा विभाजन गरिएको छ । ब्रह्मचर्याश्रम  ० देखि २५ वर्षसम्म, गृहस्थाश्रम २५ देखि ५० वर्षसम्म, वानप्रस्थाश्रम ५० देखि ७५ वर्षसम्म र सन्यास आश्रम ७५ वर्षभन्दा माथिकालाई मानिन्छ । रक्षाबन्धन मन्त्र ः ‘‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः । तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।’ 

हिन्दूहरूको पवित्र पर्व जनै पूर्णिमा अर्थात ऋषितर्पणी र रक्षा बन्धनको रुपमा मनाउने गरिन्छ । यस दिन तागाधारीहरूले नदी, तलाउ तथा कुण्डमा स्नान गरी आफ्ना गुरुबाट मन्त्रिएको नयाँ जनै धारण गर्दछन । हिन्दू धर्मशास्त्रअनुसार जनैलाई ब्रह्मसूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ ।
जनै पूर्णिमा केवल एउटा चाड मात्र होइन, यो हाम्रो पवित्र संस्कृति हो । यो पुस्तौंदेखि निरन्तर अभ्यास, अनुशासन र सामाजिक हस्तान्तरणद्वारा निर्मित साझा जीवन पद्धति हो । संस्कृति केवल भौतिक पक्ष मात्र नभई आत्मिक, बौद्धिक र आध्यात्मिक पहिचान पनि हो । संस्कृति नासियो भने कुनै पनि जातिको मौलिक पहिचान, आत्मविश्वास र सामाजिक एकता खण्डित हुन्छ । जनै पूर्णिमाको दिन रक्षाबन्धन पनि गरिन्छ । विशेष गरी तागाधारीहरुबाट सप्तऋषि गौतम, भरद्वाज, विश्वामित्र, जमदग्नि, वशिष्ठ, कश्यप र अत्रिलाई तर्पण दिइने भएकाले यस पर्वलाई ऋषितर्पणी समेत भन्ने गरिन्छ । तराई क्षेत्रमा भने दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै स्नेहको प्रतीकको रुपमा राखी बाँधिदिने प्रचलन छ ।
यस पर्वमा नौ प्रकारका गेडागुडी मिसाएर पकाइएको क्वाँटी खाने चलन छ । क्वाँटीले शरीरमा रोग लाग्दैन, पेट सफा हुन्छ र वर्षातका कारण चिसो भएको शरीरमा तापसञ्चार हुन्छ भन्ने विश्वास गरिन्छ । नेवारी समुदायले भने यस पर्वलाई ‘गुन्हु पुन्ही’को रुपमा मनाउने गर्दछन । व्रतबन्धलाई चूडाकर्म पनि भनिन्छ । यो परम्परागत हिन्दू संस्कार हो । संस्कृत भाषामा व्रत भन्नाले प्रतिज्ञा बुझिन्छ भने बन्ध भन्नाले बन्धन बुझिन्छ । अर्को अर्थमा व्रतबन्ध जनै ग्रहण गर्ने धार्मिक प्रक्रिया पनि हो । हिन्दू धर्ममा मानव जीवनलाई चार आश्रममा विभाजन गरिएको छ । ब्रह्मचर्याश्रम  ० देखि २५ वर्षसम्म, गृहस्थाश्रम २५ देखि ५० वर्षसम्म, वानप्रस्थाश्रम ५० देखि ७५ वर्षसम्म र सन्यास आश्रम ७५ वर्षभन्दा माथिका लाई मानिन्छ ।
बालकको व्रतबन्ध प्रायः बाल्यावस्थामै गरिन्छ । ८ वर्ष पूरा भएपछि बालक ब्रह्मचर्यको कर्म निर्वाह गर्न सक्षम मानिन्छ । त्यसैले प्रायः यही उमेरमा उसको व्रतबन्ध गरिन्छ । यसै कारण यस कार्यलाई उपनयन पनि भनिन्छ । व्रतबन्धको प्रतीक स्वरुप बालकले जनै ग्रहण गर्दछ र त्यसपछि सदैव चोखो खाने, सत्कर्ममा लाग्ने, गायत्री मन्त्रको जप गर्ने, खानुअघि अग्रासन अर्पण गर्ने जस्ता नित्य कर्महरुको पालन गर्ने प्रण गर्दछ । यज्ञोपवीत जनै आर्य संस्कृतिको चिह्न हो, यो विद्याको चिह्न र यज्ञको वेशभूषा हो । मर्यादा पुरुषोत्तम श्रीराम, योगिराज श्रीकृष्ण, कैलाशपति शिव, चतुर्मुख ब्रह्माजी, महाराजा जनक, माता पार्वती, विदुषी गार्गी, सीता, माता दुर्गा, माता रुक्मिणी, माता सरस्वती, देवी कुन्ती, सतीसाध्वी द्रौपदी आदि सबै नरनारीले जनै धारण गर्दथे । यद्यपि आजकल नारीले यो जनै धारण गर्ने परम्परालाई विस्थापित गरिएको छ, जुन न्यायसंगत छैन र वैदिक परम्परा विपरीत पनि छ ।
जनैलाई उपवीत, यज्ञसूत्र, व्रतबन्ध, बलबन्ध, मौञ्जीबन्ध तथा ब्रह्मसूत्रका नामले पनि चिनिन्छ । यसलाई उपनयन संस्कार पनि भनिन्छ । हिन्दू समाजका हरेक वर्गले जनै धारण गर्न सक्छन । जनै धारण गरेपछि मात्र द्विज बालकलाई यज्ञ तथा स्वाध्याय गर्ने अधिकार प्राप्त हुन्छ । द्विजको अर्थ हो अर्को जन्म । जनै धारण गरेर मात्र हुँदैन, त्यसका नियमहरू पनि पालना गर्नुपर्दछ । सनातन धर्मका २४ संस्कारहरूमध्ये एक उपनयन संस्कार अन्तर्गत जनै धारण गर्नु पर्दछ । कपाल मुण्डन गर्नु र पवित्र जलमा स्नान गर्नु पनि यसै संस्कारमा पर्दछ । जनैको पनि एक गहिरो रहस्य छ । यसमा एक विशिष्ट अभिप्राय, मर्यादा र पावन सन्देश लुकेको छ । यसमा तीन दण्ड अर्थात तीन डोरा, नौ सूक्ष्म तन्तु र पाँच शिखा वा गांठा हुन्छन, जसलाई पञ्चशिखा भनिन्छ । एउटा जनैमा तीनवटा सूत्र हुन्छन । हाम्रो संस्कृतिमा तीन संख्याको ठूलो महत्व छ । सत्व, रज र तम तीन गुण, पृथ्वी, अन्तरिक्ष र द्युलोक गरी तीन लोक, गार्हपत्य, आहवनीय र दक्षिणाग्नि गरी तीन अग्नि, ईश्वर, जीवात्मा र प्रकृति सत्ता पनि तीन छन । अतः जनैमा तीन डोरा हुनु अत्यन्त सुसंगत छ ।
जनै ब्रह्मचर्य, गृहस्थ र वानप्रस्थ गरी तीन आश्रममा रहँदामात्र धारण गरिन्छ । चौथो आश्रम अर्थात संन्यास आश्रममा पुगेपछि यसलाई उतारेर विसर्जन गरिन्छ । यस अभिप्रायले पनि जनैमा तीन धागा हुन्छन । जनैका तीन डोराले मन, वचन र कर्मको एकताको शिक्षा दिन्छन । जे मनमा छ, त्यही वचनमा हुनुपर्छ र सोही अनुसार कर्ममा पनि उतार्नुपर्दछ । जब मन, वचन र कर्म एक हुन्छन, मनुष्य महात्मा बन्दछ, अन्यथा त्यो दुरात्मा बन्दछ । यसको अर्को रहस्य पनि छ कार्यदण्ड, वाग्दण्ड र मनोदण्ड अर्थात शरीर, वाणी र मनलाई संयममा राख्नु । कार्यसंयमद्वारा ब्रह्मचर्य पालन, गुरुजनहरूको आदर सत्कार, अहिंसा र तप । वाणी संयमद्वारा सत्य, हितकारी र मधुर भाषण र स्वाध्याय गर्नु । मन संयमद्वारा मनका विकारहरू हटाएर त्यसलाई शुद्ध र पवित्र संकल्पले युक्त बनाउनु एवं सार्थक चिन्तन गर्नु ।
यसैगरी यो संसार त्रिगुणात्मक छ सत्व, रज र तम । यी तीन गुणको पासोमा समस्त प्राणी बाँधिएका छन । जनैका तीन धागाले हामीलाई यसैको स्मरण गराउँछन कि हामीले यस संसारबाट मुक्त हुनु छ । संन्यासी संसारको माया, मोह र ममताबाट निस्केर जाने भएकाले संन्यास आश्रममा जनै फुकालिन्छ । यसैगरी माता, पिता र आचार्य यी तीनै गुरु हुन्। यी तीनै जनाको आदर, सम्मान र सत्कार गर्नुपर्दछ । जनै र गायत्रीको घनिष्ठ सम्बन्ध छ । परमेश्वरको सर्वश्रेष्ठ नाम ॐ मा पनि तीन अक्षर छन अ, उ र म । महाव्याहृति पनि तीन नै छन भूः, भुवः, स्वः र गायत्री मन्त्रमा पनि तीन पाद छन तत्सवितुर्वरेण्य भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात ।
गायत्री मन्त्रलाई महामन्त्र, गुरुमन्त्र र सावित्री मन्त्र पनि भनिन्छ । ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात । भावार्थ सत्यस्वरुप, प्राणस्वरुप, सकल जगत्को जीवनको आधार, प्राणभन्दा पनि प्रिय स्वयम्भू, सर्वज्ञ, सम्पूर्ण दुःखहरूबाट रहित, सबैका दुःख दूर गर्ने, आनन्दस्वरुप, नाना विध जगत्मा व्यापक भएर सबैलाई धारण गर्ने, सबैका आनन्ददाता, सर्वजगत उत्पादक, सर्वैश्वर्य प्रदाता, सकल संसारका शासक, समग्र शुभ प्रेरणा दिने, सर्व सुखप्रदाता, दिव्य गुणयुक्त, स्वीकार गर्न योग्य, अतिश्रेष्ठ, वरणीय, त्यो जगत प्रसिद्ध शुद्धस्वरुप, पवित्रकारक, चैतन्यमय पापनाशक तेजलाई हामी धारण गरौं तथा ध्यान गरौं । जसले हाम्रा बुद्धिहरूलाई शुभ कार्यमा प्रेरणा गरुन अर्थात नराम्रा कर्महरुबाट हटाएर उत्तम कर्ममा प्रवृत्त गरुन ।
जनै पूर्णिमाको दिन रक्षाबन्धन को पनि छुट्टै महत्व हुन्छ । पौराणिक कथन अनुसार ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः । तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।’ अर्थात जुन रक्षासूत्रले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु । यसले तिमी सुरक्षित बन, विचलित नहोउ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी यो मन्त्र पढदै धागो बाँधेर जोगाएका थिए भन्ने कथनबाट रक्षाबन्धनको परम्परा चलेको हो । समयको परिवर्तनसँगै तागाधारीहरूको संख्या घटदै गए पनि जनै पूर्णिमाको दिन मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धनको डोरो उक्त मन्त्र पढदै ब्राह्मणले यजमानको नाडीमा बाँधिदिने प्रचलनलाई सबैले स्वीकार गरेको पाइन्छ ।
पौराणिक कथा अनुसार देवराज इन्द्र र दैत्यराज बीच १२ वर्षसम्म भयंकर युद्ध चलेको थियो । यस युद्धमा असुरहरूले देवताहरुमाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कार विहीन भएर जीवनयापन गर्न लागे । गौरवहीन जीवनभन्दा मर्नु नै श्रेयस्कर ठानेर देवराज इन्द्रले असुरसँग अन्तिम युद्ध गर्ने संकल्प लिएका थिए । त्यो दिन श्रावण शुक्ल चतुर्दशी थियो । अतः देवगुरु बृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवम् विजयको कामना होस भनी रक्षाको विधान तयार गर्नुभयो । श्रावण पूर्णिमाको शुभ मुहूर्तमा उहाँले इन्द्रलाई रक्षाबन्धन बाँद्धै माथिको मन्त्र जप्नुभयो । त्यसपछि इन्द्राणीले इन्द्रको दाहिने हातमा रक्षासूत्र बाँधिदिइन र जुन रक्षासूत्र बाँध्नाले देवराज इन्द्र विजयी बने । वास्तवमा त्यो पवित्रताको रक्षासूत्र थियो । त्यही रक्षासूत्रको सम्झना गर्दै रक्षाबन्धन बाँध्ने प्रचलन रही आएको छ ।
अर्को एक कथा अनुसार यमदूतले आफ्नी बहिनी यमुनासँग राखी बाँध्ने बेलामा भनेका थिए जसले यस पवित्र राखी बाँध्दछ, उ यमदूतको सजाय अथवा भयबाट मुक्त हुन सक्दछ । त्यसै अनुरुप यस दिन यमदूत र यमुनाको कथा अनुसार दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने प्रचलन पनि चल्दै आएको छ । तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदी बहिनी र दाजु भाइको आपसी मायाको चाडका रुपमा पनि लिइन्छ । त्यस दिन दिदी बहिनीले आफ्ना दाजु भाइको दीर्घायु र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको वचन लिने चलन छ ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.), । (लमजुङमा आजको अन्तरङ्गमा प्रकाशित – सं.)
प्रकाशित मिति २०८३ भाद्र ११, बिहीबार १९:०९ गते
हजुरको प्रतिक्रिया