भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या नौसय नाघ्यो, चार हजार २४७ जना सम्पर्कविहीन

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या नौसय नाघ्यो, चार हजार २४७ जना सम्पर्कविहीन

एजेन्सी

@antaranganews

२०८३ भदौ १४ गते सोमबार ०१:४४

बाढी प्रभावित क्षेत्रबाट हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ । वेपत्ता संख्या १५ हजार ३२९ जना छन् । तीमध्ये सम्पर्कविहीन हुनेहरूमा विदेशी नागरिकको संख्या ५९२ जना छ । ती पर्यटकसँगै घुम्न गएका नेपाली नागरिक १२७ जना पनि सम्पर्कविहीन रहेका छन् ।

उद्धार तथा राहतका निम्ति २० हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ ।

विदूर(नुवाकोट)– चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी भीषण बाढीमा परी ज्यान गुमाएको संख्या नौसय नाघेको छ । बाढीमा वेपत्तामध्ये ९०३ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १५ गते बिहान ९ बजे जनाएको हो ।
सबैभन्दा धेरै शव चितवनमा भेटिएको छ । उद्धार तथा राहतका निम्ति २० हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ । उक्त बाढीपछि अझै चार हजार २४७ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुनेमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, विभिन्न जलविद्युत् आयोजना, भन्सार कार्यालयका कर्मचारीलगायत छन् ।
प्राधिकरणका अनुसार रसुवामा २४ जना, नुवाकोटमा ९५ जना, धादिङमा ५५ जना, गोरखामा ६२ जना, नवलपरासी पूर्वमा २०७ जना, नवलपरासी पश्चिममा १५१ जना, तनहुँमा ३७ जना र चितवनमा २७२ जनाको शव फेला परेको हो ।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ । हालसम्म घाइतेको संख्या २६७ छ । उनीहरूमध्ये १६५ जना उपचारपश्चात् ‘डिस्चार्ज’ भइसकेका प्राधिकरणले जनाएको छ ।
सम्पर्कविहीन हुनेहरूमा विदेशी नागरिकको संख्या ५९२ जना छ । विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली नागरिक १२७ जना पनि सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ । तीमध्ये नेपाली सेनाले २५२ जना विदेशी नागरिक, ३ हजार ३४४ जना नेपाली नागरिकको हवाई उद्धार भएका छन् । सम्पर्कविहीन हुनेहरूमा विभिन्न जलविद्युत आयोजनाबाट ९३३ जना, मकवानपुरका ६५ जना, विदेशी नागरिक ५९२ जना, विदेशीसँगै घुम्न गएका १२७ नेपाली, लाङटाङ राष्ट्रिय निकुञ्जबाट ३ जना र क्वारेन्टाइन कार्यालयबाट ३ जना छन् ।
त्यसका लागि हालसम्म ४११ पटक हवाई उडान गरिएको प्राधिकरणले जनाएको छ । सरकारले मुख्य प्रभावित रसुवामा एक करोड, नुवाकोटमा एक करोड र धादिङमा ५० लाख नगद राहत सहयोग उपलब्ध गराएको छ ।
चितवनमा १९९ शव गाडियो
यसैबीच, चितवनबाट प्राप्त जानकारी अनुसार भरतपुर महानगरपालिका– १ देवघाट जङ्गलमा १९९ व्यवस्थापन गरिएको छ । हालसम्म भेटिएका २७२ शवमध्ये १९९ वटाको व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले बताउनु भयो । उहाँका अनुसार १२ वटाको सनाखत भएको छ । उहाँले भन्नुभयो, ‘शवहरूको डिएनए नमूना सुरक्षित राख्दै जङ्गलमा व्यवस्थापन गरिएको छ ।’
यस्तै हालसम्म फेला परेका २७२ शवमध्ये ११० पुरुष, ६२ महिला, सात बालक, छ बालिका र ८७ अन्य (अवशेष) रहेका छन् ।
डिएनए परीक्षण बेपत्ता भएकाको परिवारसँग मिलेमा राखिएको ठाउँबाट दिन मिल्ने गरी सङ्केत चिह्न राखेर शव व्यवस्थापन गरिएको छ ।
बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।
यही भदौ १० गते बिहान ती स्थानमा उक्त बाढी आएको थियो ।

प्रकाशित मिति २०८३ भाद्र १५, सोमबार १३:४४ गते
हजुरको प्रतिक्रिया