बाढी पीडित अपडेट : लमजुङबाट संस्थागत, पारिवारक तथा व्यक्तिगत सहयोग

बाढी पीडित अपडेट : लमजुङबाट संस्थागत, पारिवारक तथा व्यक्तिगत सहयोग

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ भदौ १५ गते मङ्गलबार १०:३२

बेसीशहर नगरपालिका– ७ स्थित त्रिवेणी युवा क्लबले उक्त बाढीपीडितको राहत, उद्धार तथा पुनः स्थापनाका लागि दुई लाख रुपैयाँ सहयोग गरेको छ ।

९३९ जनाको शव फेला परेको छ भने सम्पर्कविहीन हुने संख्या तीन हजार ९ सय २५ जना रहेको छ ।

बेसीशहर– तिब्बती क्षेत्रबाट रसुवा, नुवाकोट जिल्लातर्फ बग्ने भाटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण जनधनको ठूलो र अपूरणीय क्षति गराएको छ । भदौ १५ गते साँझ ६ बजेसम्म ९३९ जनाको शव फेला परेको छ भने सम्पर्कविहीन हुने संख्या तीन हजार ९ सय २५ जना रहेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्यो जानकारी दिएको हो । प्राधिकरणलका अनुसार सबैभन्दा बढी चितवनमा २७९ शव फेला परेका छन् । यस्तै, पूर्वी नवलपरासीमा २१६, पश्चिम नवलपरासीमा १६९, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २३ जनाको शव फेला परेका छन् ।
प्राधिकरणको सो तथ्यांकअनुसार तीन हजार ९२५ जना सम्पर्कविहीन छन् । घाइते संख्या २७९ जना रहेको छ । तीमध्ये १६८ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । नेपाली सेनाले दुई हजार सात सय जनाको उपचार गरेको छ ।
लमजुङबाट संस्थागत, पारिवारक तथा व्यक्तिगत सहयोग :
यसैबीच, लमजुङ जिल्लामा क्रियाशील रहेका विभिन्न सामाजिक संघसंस्था, परिवारजन तथा व्यक्तिहरूबाट पनि सहयोग प्रदान भएको र सहयोग जुट्ने क्रम जारी रहेको छ ।
त्रिवेणी युवा क्लब दुई लाख सहयोग :
जिल्ला सदरमुकाममा रहेर वर्षाैं अघिदेखि सर्वाधिक पुरस्कार राशिको त्रिवेणी कप फुटबल प्रतियोगिता सञ्चालन गरिरहेको बेसीशहर नगरपालिका– ७ स्थित त्रिवेणी युवा क्लबले उक्त बाढीपीडितको राहत, उद्धार तथा पुनः स्थापनाका लागि दुई लाख रुपैयाँ सहयोग गरेको छ । क्लब पदाधिकारीहरूको एकटोली क्लबका अध्यक्ष टेकजङ गुरुङको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाललाई भेट गरी सहयोगबारे जानकारी गराउँदै दैवी प्रकोप उद्धार तथा राहत कोषमा रकम जम्मा गरेको भौचर भदौ १५ गते हस्तान्तरण गरेको हो ।
भण्डारी दम्पत्ती बाट पाँच लाख सहयोग :
बेसीशहर नगरपालिका– १० को सालडाँडा निवासी भण्डारी दम्पत्तीले ५ लाख रुपैयाँ सहयोग गर्नु भएको छ । भण्डारी दम्पत्ती यतिबेला वैदेशिक रोजगारीका क्रममा दुवै जना हाल माल्टामा बस्दै आउनु भएको छ ।
समाजसेवी सरिता सापकोटाबाट १ लाख ३७ हजार बढीको राहत सामग्री र नगद सहयोग :
बेसीशहर– ७, त्रिवेणी टोलस्थित ‘एबि शपिङ्ग सेन्टर’की सञ्चालक सरिता सापकोटाले आफ्नो व्यवसाय तथा वैदेशिक सहयोगलाई समेटेर बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि योगदान गर्नु भएको छ । कुल एक लाख ३७ हजार ८ सय ११ रुपैयाँ सहयोग गर्नु भएको हो । रोजगारीको सिलसिलामा जापानमा रहनुभएका जभिया के.सी. तथा समाजसेवी सरिता सापकोटाको आफ्नै पसलबाट संकलित विभिन्न लत्ताकपडा र नगदसहितको राहत सामग्री गैरसरकारी संस्था एचडिसीएच (ज्म्ऋज्) को गाडीमार्फत बाढी प्रभावित क्षेत्रतर्फ पठाइएको जानकारी दिनुभयो ।
ब्रिटिश आर्मीका निवृत्त तुलबहादुर गुरुङद्वारा एक लाख सहयोग :
यसैगरी, बेसीशहर नगरपालिका– ५ नाल्मा डाँडागाउँ निवासी तुलबहादुर गुरुङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ सहयोग गर्नुभएको छ । उहाँले पनि हिजै बेसीशहर नगरपालिका पुग्नुभएर नगरपालिकामार्फत प्रदान गर्नु भएको हो । बेलायती सेनाबाट अवकाश प्राप्त गुरुङले भन्नुभयो, ‘सिधैं पैसा दिन नमिल्ने रहेछ, त्यसपछि बैंकमा रहेको राहत कोषको खातामा रकम जम्मा गरी भौचर नगरपालिकालाई दिएँ ।’
तीजको खर्च राहत कोषमा प्रदान :
बेसीशहर क्षेत्रमा रहेका विभिन्न आमा समूहले तीजका लागि संकलन गरेको खर्च रकम राहत कोषमा पठाउने काम गरेका छन् ।
बेसीशहर– ८ को तल्लो पाखाथोक स्थित सरस्वती आमा समुहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७५ हजार ७०५ रुपैयाँ सहयोग गरेको छ । आमा समुहले महिलाहरूको महानपर्व तीजको दर खाने तथा अन्य कार्यक्रमका लागि संकलन गरेको खर्च कटौति गरी उक्त कार्य गरेको जनाएको छ ।
ठाडाराई अधिकारी आमा समूह, बेसीशहरले ६० हजार १५५ सहयोग गरेको आमा समूहकी अध्यक्ष जुना अधिकारीले जानकारी दिनु भएको छ ।
यसैगरी, नेपाल मगर संघ, बेसीशहरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार ५५५ रुपैयाँ सहयोग गरेको जनाएको छ ।
बेसीशहर– २ कटहरे/खत्रीगाउँस्थित त्रिशक्ति आमा समूहले तीजमा हुने खर्च कटाएर भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहतका लागि २५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ ।
यसैगरी, बेसीशहर नगरपालिका– ३ को रानिकुवा, टापुले विपद् प्रभावितको राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले ३१ हजार १०५ राहत सहयोग गरेको छ ।
एक लाख ५० हजार सहयोग :
यसैगरी, भानु नगरपालिका– ११, मानेचौका, तनहुँको स्थित त्रिभुवन क्याम्पसले विपद् राहत कोषमा एक लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
बेसीशहर क्षेत्रमा नाम नमूनायुक्त काम गरी नाम र यश फैलाउन सफल बेसीशहर नगरपालिका– ८ नारायणस्थानमा रहेको फूलबारी दिदीबहिनी समुहबाट ५१ हजार १११ उक्त कोषमा प्रदान गरेको छ ।
यसैगरी, ममर्स्याङदी गाउँपालिका– ४, च्याम्चे स्थायी घर भई हाल वैदेशिक रोजगारीको सिलसिलामा साइप्रसमा रहनुभएकी अमृता तामाङले २० हजार रुपैयाँ राहत स्वरूप पठाउनुभएको जानकारी दिनु भएको छ ।
बेसीशहर नगरपालिका– ८ स्थित प्रकृति नारी समाजले ५७ हजार ४२१ रुपैयाँ सहयोग गरेको छ ।
बेसीशहर नगरपालिका– २, नरुवाल पाखाथोक माझगाउँस्थित शान्तिश्वर आमा समूहले २१ हजार २३५ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
कालिका आमा समूह, बेसीशहर– २, कल्याणडाँडा(थापा गाउँ भकुण्डे)का आमा समूहले ११ हजार १११ सहयोग गरेको छ ।

प्रकाशित मिति २०८३ भाद्र १६, मंगलवार १०:३२ गते
हजुरको प्रतिक्रिया