भोटेकोशीको बाढी, पर्यटन र महाविपत्तिको बज्रपात  

भोटेकोशीको बाढी, पर्यटन र महाविपत्तिको बज्रपात  

के. वि. मसाल

@antaranganews

२०८३ भदौ १७ गते बिहिबार १२:२८

सन १९५० मा जब फ्रान्सेली आरोही मोरिस हर्जोग र लुइस लाकनलले ८ हजार मिटरभन्दा अग्लो अन्नपूर्ण हिमालको सफल आरोहण गरे, तब संसारले पहिलो पटक थाहा पायो मान्छे ८ हजार मिटर माथि पनि पुग्न सक्छ । त्यही आरोहणले नेपालमा पर्यटनको ढोका खोल्यो । त्यसको ठीक तीन वर्षपछि, सन १९५३ मे २९ का दिन तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथाको शिरमा पाइला राखेपछि त नेपालको पर्वतारोहण पर्यटनले जेटको गति लियो ।

भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको बाढी र पहिरोले गम्भीर चेतावनी दिएको छ । नदीको धार परिवर्तन, आकस्मिक बाढी, पहिरो र लेदो बग्ने जोखिमलाई सामान्य ठानेर अब पनि नदी किनारमा बस्ती बसाउनु भनेको भोलिको विपत्तिलाई आजै निम्त्याउनु हो ।

चीनको स्वशासित क्षेत्र तिब्बत हुँदै बग्ने भोटेकोशीको भीषण बाढीले रसुवाको पर्यटनमाथि महाविपत्तिको बज्रपात भएको छ । भोटेकोशीमा आएको भीषण र अकल्पनीय बाढीले रसुवाको भूगोल मात्र बगाएन, त्यहाँको पर्यटन, अर्थतन्त्र र हजारौं मानिसको सपनामाथि महाविपत्तिले बज्रपात गरिदिएको छ । नेपाल–चीन सीमानाको रसुवागढी, टिमुरे र स्याफ्रुबेंशीका बजार, बस्ती, प्रहरी चौकी, भन्सार कार्यालय र दर्जनौं पुल–पुलेसा बगाएको छ ।
नेपाललाई विश्वले चिन्ने सबैभन्दा सजिलो नाम हो हिमालको देश । तर यो चिनारी एकै रातमा बनेको होइन । सन १९५० मा जब फ्रान्सेली आरोही मोरिस हर्जोग र लुइस लाकनलले ८ हजार मिटरभन्दा अग्लो अन्नपूर्ण हिमालको सफल आरोहण गरे, तब संसारले पहिलो पटक थाहा पायो मान्छे ८ हजार मिटर माथि पनि पुग्न सक्छ । त्यही आरोहणले नेपालमा पर्यटनको ढोका खोल्यो । त्यसको ठीक तीन वर्षपछि, सन १९५३ मे २९ का दिन तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथाको शिरमा पाइला राखेपछि त नेपालको पर्वतारोहण पर्यटनले जेटको गति लियो । त्यसपछि नेपाल नक्सामा मात्र रहेन, साहसिक पर्यटकको सपनामा बस्न थाल्यो । पर्यटनका लागि रसुवा सबैभन्दा नजिकको प्रवेशद्वार हो । रसुवा नेपाल–चीनको व्यापारिक नाका मात्र नभएर नेपालको पर्यटनको जीवनरेखा पनि हो । काठमाडौंबाट सबैभन्दा नजिकबाट हिमाल चुम्न सकिने, तामाङ संस्कृति बुझ्न सकिने र पवित्र गोसाइँकुण्डमा शिर झुकाउन सकिने ठाउँ रसुवा हो । त्यसैले त पछिल्लो ६ महिनामा मात्र ३२ हजार ६७२ जना आन्तरिक र बाह्य पर्यटकले लाङटाङ र गोसाइँकुण्ड क्षेत्रको भ्रमण गरेका थिए । 
तर त्यही जीवनरेखामा यस वर्ष बज्रपात पर्यो । भोटेकोशीमा तिब्बततिरको हिमताल फुटेर आएको लेदो मिसिएको बाढीले केही घण्टामै स्याफ्रुबेसी रसुवागढी सडक, पुल, होटल, जलविद्युत र भन्सारका संरचनालाई बगाइदियो । बाढीले बाटो मात्र बगाएन, पर्यटनको मेरुदण्ड नै भाँचिदियो । लाङटाङ पदमार्ग अहिले पूर्ण रुपमा बिच्छेद भएको छ । बुकिङ भएका सयौं ट्रेक रद्द भएका छन । स्थानीय होटल व्यवसायी, गाइड, खच्चड धनी र होमस्टे सञ्चालकको आम्दानी एकै झडकामा शून्यमा झरेको छ । पर्यटनमा सबैभन्दा ठूलो कुरा सुरक्षा र पहुँचको विश्वास हो । बाटो छैन, पुल छैन भन्ने समाचारले अन्तर्राष्ट्रिय बजारमा नकारात्मक सन्देश पुग्यो । रसुवा नाका बन्द हुँदा व्यापार घाटा त भयो नै, त्यससँगै जोडिएको पर्यटन आपूर्ति प्रणाली पनि ठप्प भयो । रसुवाको भोटेकोशी आज नदी रहेन, त्यो त एउटा चिहान बन्यो । केही दिन अघिसम्म भोटेकोशीको किनारमा पर्यटकहरूको हाँसो गुञ्जिन्थ्यो, ट्रेकिङ जुत्ताको आवाजले बाटोमा चहल पहल हुन्थो, होटलका झ्यालबाट हिमाल हेर्दै विदेशी पर्यटकहरू रमाउथे । अहिले भोटेकोशीको त्यही किनारमा सन्नाटा छ, । त्यो सन्नाटाभन्दा पनि बेपत्ता भएका परिवारहरूको रोदन छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस आलेख लेख्ने बेलासम्म सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार यो विनाशकारी बाढीले एक हजार २०४ जनाको ज्यान लिइसक्यो । ११ हजार ९९३ जनालाई सकुशल उद्धार भयो । तर ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन । बाढीले बगाएर विभिन्न तटीय जिल्लामा पुर्याएका एक हजार ५० वटा शव तथा मानव अङ्गहरू फेला परेका छन । यसमा ५८३ जना विदेशी नागरिक छन । कोही नेपालको हिमाललाई माया गरेर आएका थिए । कोही भोटेकोशीको र्याफिटङको रोमाञ्च अनुभव गर्न आएका थिए । कोही लाङटाङको शान्ति खोज्न आएका थिए । उनीहरू पर्यटक मात्र थिएनन, उनीहरू नेपालका सदभावदूत थिए । आफ्नो देश फर्केर उनीहरूले नेपालको पर्यटनको स्मरण सुनाउने थिए । तर आज नेपालले नै उनीहरूको मृत्युको बारेमा लेख्नुपर्यो । अर्कोतर्फ १६४ जना नेपाली विदेशी पर्यटकसँगै गाइड, भरिया, ड्राइभर भएर गएका थिए । उनीहरूको सपना नै पर्यटन थियो । नेपालको पर्यटनमा भोटेकोशीको बाटो भएर हरेक वर्ष हजारौं पर्यटकहरू भित्रिन्छन र बाहिरिन्छन । आज भोटेकोशीको बाढीले त्यो बाटो बगाएको छ । बाटोसँगै पर्यटकहरूलाई दालभातको स्वाद दिलाउने होटलको जग छैन । जुन पुलबाट फोटो खिचिएको हुन्थो, थियो त्यो पुलको नामोनिसान छैन ।
भोटेकोशी करिडोर कैलाश मानसरोवर जाने भारतीय तथा विदेशी तीर्थयात्रीको प्रमुख मार्ग हो । टिमुरे, रसुवागढी र केरुङ क्षेत्रमा रहेका होटल, लज, ट्रेकिङका क्याम्प साइट बगेका छन । बाढीको चपेटामा धेरै पर्यटक हराएको खबरले समग्र पर्यटन सुरक्षामा प्रश्न उठेको छ । रसुवाले बिगतमा पनि विपत्तिको नियति भोग्दै आएको छ । २०७२ को भूकम्पमा लाङटाङ गाउँ नै हिमपहिरोले पुरिएर तीन सय भन्दा बढी पर्यटक, गाइड र स्थानीयको मृत्यु भएको थियो । त्यो नेपालको ट्रेकिङ इतिहासकै सबैभन्दा ठूलो मानवीय क्षति थियो । अहिलेको बाढीले रसुवाको पर्यटन भूकम्प, हिमपहिरो, बाढी र हिमताल विस्फोटको चक्रव्यूहमा परेको छ । सडक, पुल र सञ्चार विच्छेद भएपछि लाङटाङ, गोसाइँकुण्ड जाने ट्रेकिङ रुटको बुकिङ रद्द भएका छन । वाह्य पर्यटकहरू नेपाल प्रवेश रोकिने र हिमाली पर्यटनमा नकारात्मक सन्देश जाने निश्चित भएको  छ ।
रसुवा नेपालको पर्यटनको क्षेत्रमा जीवन्त संग्रहालय हो । रसुवा बाह्य पर्यटकको लागि काठमाडौंबाट सबैभन्दा नजिकको, शान्त र कम भीडभाड हुने हिमाली जिल्ला हो । सगरमाथा र अन्नपूर्णको महँगो र लामो ट्रेकको तुलनामा छोटो, सस्तो र उत्तिकै सुन्दर लाङटाङ भ्याली ट्रेक र पवित्र गोसाइँकुण्डको कारणले हरेक वर्ष हजारौं पर्यटक रसुवा पुग्ने गर्दछन । रसुवामा पर्यटकहरू हिमाल हेर्न मात्र जादैनन । लाङटाङ राष्ट्रिय निकुञ्जमा रेडपाण्डा, घोरल जस्ता दुर्लभ वन्यजन्तु हेर्न, मौलिक तामाङ संस्कृति, गुम्बा र स्थानीय आतिथ्यताको अनुभव गर्न पनि वाह्य पर्यटक रसुवा पुग्दछन । अर्कोतर्फ तिब्बतको प्रवेशद्वार रसुवागढी नाका भएर केरुङ हुँदै कैलाश मानसरोवर जाने हजारौं तीर्थयात्रीको मुख्य मार्ग पनि रसुवा हो । प्रकृति, संस्कृति र तीर्थ एकै ठाउँमा पाइने भएकाले पर्यटनको क्षेत्रमा रसुवा सधैं विशेष रहँदै आएको थियो ।
जलवायु बिज्ञहरूले यस घटनालाई विपत्तिको जटिल श्रृखलाको संज्ञा दिँदै बढ्दो तापक्रमका कारण हिमाली क्षेत्रमा यस्ता घटना बढदै जाने चेतावनी दिएका छन । बाढीले सीमावर्ती क्षेत्र हुँदै भोटेकोशी र त्रिशूली नदीको किनारमा रहेका टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी जस्ता बस्तीहरूमा ठूलो क्षति पुर्याएको छ । सार्वजनिक भएका भिडियोहरूमा बाढी सुनामी जस्तै गरी बस्तीमा पसेर बाटोमा पर्ने सबै कुरा बगाएको देख्न सकिन्छ । सडकमा गुडिरहेका सवारीसाधन हिलोमा गाडिएका छन भने पुलहरू भत्किएका छन । यसको गम्भीर असर तिब्बततर्फ पनि परेको छ । त्यहाँको केरुङ जिरोङ बन्दरगाहमा लेदोसहितको बाढी पस्दा सडक, सञ्चार र विद्युत आपूर्ति पूर्ण रुपमा विच्छेद भएको छ । मानिसहरू ज्यान जोगाउन भागिरहेको र केही सेकेन्डमै बाढीले संरचनाहरू तहसनहस पारेको थियो । यो दोस्रो पटकको ठूलो प्रहार हो । यसअघि गत वर्ष २४ असार २०८२ मा ल््हेन्दे खोलामा आएको बाढीले मितेरी पुल, निर्माणाधीन सुक्खा बन्दरगाह र सडक बगाएको थियो । त्यो बाढीले नाका ६ महिना बन्द भएर चीन सरकारले पुल बनाएपछि मात्र गत पुसबाट पुनः सञ्चालनमा आएको थियो । अहिले झन ठूलो बाढीले नाका अनिश्चितकालका लागि बन्द मात्र भएको छैन, यसको भविष्य नै अनिश्चित बनेको छ ।
नेपालमा भोटेकोशी नामका दुईवटा नदी छन एउटा सिन्धुपाल्चोकमा र अर्को रसुवामा । सिन्धुपाल्चोकको भोटेकोशी तिब्बतको पोइकु हिमनदीबाट सुरु भई नेपाल प्रवेश गर्ने भोटेकोशी नदी सिन्धुपाल्चोको बाह्रबीसे भन्दा तल सुनकोशीमा मिसिन्छ र दोलालघाटमा सुनकोशी र इन्द्रावतीको संगमस्थल हुदै सप्तकोशी नदी प्रणालीमा समाहित हुन्छ । रसुवाको भोटेकोशी केरुङ खोला तिब्बतबाट आउने केरुङ खोला र ‘ल्हेन्दे खोला रसुवागढीमा मिलेपछि बन्ने नदीलाई भोटेकोशी वा केरुङ खोला भनिन्छ, जुन पछि त्रिशूली नदीमा मिलेर सप्तगण्डकी नारायणी प्रणालीमा जोडिन्छ ।
बाढीले नेपाल–चीनबीच सन १७९२ मा सन्धि भएको बेत्रावतीको ऐतिहासिक विशाल ढुंगासमेत बगाएको छ । नेपाल र तिब्बतबीचको युद्ध अन्त्य गर्ने त्यो सन्धि भएको शीलाले इतिहास बोकेको थियो । भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको बाढी र पहिरोले गम्भीर चेतावनी दिएको छ । नदीको धार परिवर्तन, आकस्मिक बाढी, पहिरो र लेदो बग्ने जोखिमलाई सामान्य ठानेर अब पनि नदी किनारमा बस्ती बसाउनु भनेको भोलिको विपत्तिलाई आजै निम्त्याउनु हो । त्यसैले जोखिमयुक्त नदी किनारमा बसोबास गर्न सरकारले अब अनुमति दिनु हुँदैन । विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रण नगरे यस्ता ताण्डव दोहोरी रहनेछन । त्यसका लागि नेपालले आफ्नै तर्फबाट अनुगमन, पूर्वतयारी र सुरक्षित बसोबासको नीति कडाइका साथ लागू गर्नुपर्छ भने अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको आवाज अझ बलियो बनाउनुपर्छ । विपदपछिको पुनर्निर्माणलाई पुरानै अवस्थामा फर्काउने मात्र नभई अझ सुरक्षित र दिगो बनाउने अवसरका रुपमा लिनुपर्छ ।
अब सरकारले ठोस नीति ल्याउन ढिला गर्नु हुँदैन । हिमनदी र हिमतालको नियमित उपग्रह र स्थलगत अनुगमन प्रणालीलाई बलियो बनाउने, चीनसँग बाढीसम्बन्धी सूचना वास्तविक समयमै आदानप्रदान गर्ने संयन्त्र बनाउने र नदी किनारबाट कम्तीमा चार–पाँच सय मिटर टाढा मात्र बस्ती बसाउन दिने कडा नियम ल्याउन जरुरी छ । जोखिम क्षेत्रमा रहेकाहरूलाई सहुलियतपूर्ण ऋण र अनुदान दिएर सुरक्षित ठाउँमा सार्नुपर्छ । नयाँ पूर्वाधार र जलविद्युत आयोजना बनाउँदा विपद जोखिम मूल्याङ्कन र बाढी प्रतिरोधी डिजाइन अनिवार्य गर्नुपर्छ । पूर्वसूचना प्रणालीलाई लाउडस्पिकर, मोबाइल अलर्ट, रेडियो र सामुदायिक सञ्जालको संयोजनबाट प्रभावकारी बनाउनुपर्छ । विद्यालय र स्थानीय तहमा नियमित विपद तयारी तालिम चलाउनुपर्छ । साथै विश्वविद्यालय र अनुसन्धान संस्थालाई हिमालयको जलवायु अध्ययनमा लगानी बढाएर वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन गर्नुपर्छ । इसिमोड, संयुक्त राष्ट्रसंघ र छिमेकी मुलुकसँगको सहकार्यमा जोखिम न्यूनीकरणका लागि अध्ययन, सूचना आदानप्रदान र समयमै रोकथामका वैज्ञानिक उपाय अवलम्बन गर्नु पर्दछ ।
चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको रसुवा १६ हिमाली जिल्लामध्ये क्षेत्रफलका हिसाबले सबैभन्दा सानो जिल्ला हो । पूर्वमा सिन्धुपाल्चोक, दक्षिणमा नुवाकोट, पश्चिममा धादिङ र उत्तरमा तिब्बतले घेरिएको रसुवा पर्यटकीय, धार्मिक र सांस्कृतिक रुपले अत्यन्त धनी छ । गोसाईंकुण्ड, लाङटाङ, गणेश र लिरुङ हिमाल, १०८ कुण्ड, उत्तरगया, तातोपानी र लाङटाङ राष्ट्रिय निकुञ्ज रसुवाका सम्पदा हुन । डेढ शताब्दी पुरानो रसुवागढी नेपालको ऐतिहासिक धरोहर हो । लिच्छविकालमा भृकुटी यही नाका भएर माइती आउने गरेको र मल्लकालदेखि नै यो प्रमुख व्यापारिक नाका रहेको इतिहास छ । ठूला ढुंगा कुँदेर बनाइएको करिब ६० फिट लामो गढीमा शत्रुलाई निसाना लगाउन ४७ वटा प्वाल छन । यही गढीमा बसेर नेपाली फौजले चिनियाँ फौजसँग चार पटकसम्म युद्ध लडेको थियो ।
भदौ १० गते बुधबार बिहान आएको भोटेकोशी बाढीले इतिहासकै ठूलो विनाश निम्त्यायो । रसुवागढीदेखि टिमुरे, स्याफ्रुबेसी, बेत्रावती, त्रिशूली, देवीघाट हुँदै धादिङसम्म बाढीले बस्ती, बजार, सडक र दर्जनौं पुल बगायो । यस बाढीमा कसैकी आमा, दिदीबहिनी, छोरी, बाबुआमा र श्रीमान्(श्रीमती बगेका छन । संचार र बिजुलीका टावरमा क्षति पुग्दा नुवाकोट र रसुवाका ८ स्थानीय रेडियो बन्द भए । १२ जलविद्युत गृहमा क्षति पुग्दा ४३१ मेगावाटभन्दा बढी बिजुली राष्ट्रिय प्रणालीबाट विच्छेद भयो । विज्ञका अनुसार बाढीको मुहान लाङटाङ लिरुङको उत्तरपूर्वमा पर्छ । त्यहाँ बाक्लो बरफसहितको चट्टान करिब १५ सय मिटर तल खसेर हिमनदीमा बज्रिएको र धुलोपिठो भएको बरफ, ढुंगा र माटो ल्हेन्दे खोलामा गेग्रान बहाव बनेर बाढी आएको थियो । यो विपदले के देखायो भने प्रकोप रोक्न सकिँदैन, तर त्यसलाई विपद बन्न दिनु हुँदैन ।
पहाडमा जथाभावी संरचना बनाउने, नदी थुन्ने र प्रकृतिमाथिको अत्यधिक हस्तक्षेपले जोखिम बढाएको छ । हिमनदीको जोखिम एक देशको सिमानामा सीमित हुँदैन । त्यसैले पूर्वसूचना प्रणालीलाई नदीको सतह नाप्ने प्रविधिमा मात्र सीमित राख्नु हुँदैन । अब हिमपहिरो, हिमनदी, हिउँको अवस्था, भूगर्भ र मौसमलाई एकीकृत निगरानी गर्ने, जोखिमयुक्त ठाउँमा सेन्सर र सर्भिलेन्स क्यामेरा जडान गर्ने, स्याटेलाइट तथ्यांक प्रयोग गर्ने र चीन–नेपाल–भारतबीच वास्तविक समयको सूचना आदानप्रदानलाई संस्थागत गर्नु अनिवार्य भइसकेको छ । त्रिशूली नदी सभ्यता, उर्जा, व्यापार, संस्कृति र जीविकालाई जोडने साझा जीवन प्रणाली हो । त्यसैले पुनर्निर्माण पुरानै सडक, पुल र जलविद्युतको प्रतिलिपिमा सीमित हुनु हुँदैन । अब बाटो मात्र होइन, बिच्छेद भएका सामाजिक सम्बन्ध जोडनुपर्छ । संरचना मात्र होइन, विस्थापितको खोसिएको जीविका र सांस्कृतिक आत्मा फर्काउनुपर्छ । त्रिशूलीको पुनर्निर्माण दिगो विकास, वातावरणीय सुरक्षा र बहुस्तरीय पूर्वसूचना प्रणालीमा टेकेर मान्छे र प्रकृतिलाई केन्द्रमा राखेर गरिनुपर्छ ।
अब खोलाको सतहमा होइन, अग्लो र सुरक्षित स्थानमा सुक्खा बन्दरगाह, भन्सार यार्ड र होटल लज बनाउने नीति चाहिन्छ । भोटेकोशीको बाढीले बगाएको पुल, सडक र गोदामका सामान त फेरि बनाउन सकिएला, तर बेपत्ता भएका मानिस र पर्यटनमाथि लागेको दाग मेटन वर्षौ लाग्नेछ । यस विपतमा परी प्रभावित तथा प्रियजन गुमाउनुहुने सम्पूर्ण परिवारप्रति हार्दिक सहानुभूति एवं समवेदना व्यक्त गर्दछु । यस दुःखद घडीमा शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस र सम्पर्कविहीन रहनुभएका सबैजना सकुशल चाँडै सम्पर्कमा आउनुहोस भन्ने हार्दिक कामना गर्दछु ।
(लेखक : लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८३ भाद्र १८, बिहीबार १२:२८ गते
हजुरको प्रतिक्रिया