
भीमफेदी(मकवानपुर)– भीमफेदी गाउँपालिकाले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ । साहित्यकार तुल्सी थापाको स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा भीमफेदी गाउँपालिका– २ भैंसेस्थित श्रीकृष्ण माध्यमिक विद्यालय परिसरमा उहाँको अर्धकदको प्रतिमा समेत अनावरण गर्दै सम्पन्न भएको हो ।
विद्यालय परिसरमा स्थापित थापाको प्रतिमा बहिनी बेली थापाले अनावरण गर्नु भएको हो । २०१० सालमा स्थापित श्रीकृष्ण माध्यमिक विद्यालयमा थापाले अध्ययन गरेका थिए भने पछि सोही विद्यालयको प्रधानाध्यापकसमेत भएका थिए ।
साहित्यकार थापाको चेपाङ र तामाङ भाषाको उत्थानमा साहित्यकार थापाको महत्वपूर्ण योगदान रहेको छ । उनले पत्रिका सञ्चालनदेखि साहित्य सिर्जनासम्मका माध्यमबाट ती भाषाको संरक्षण, विकास र प्रवद्र्धनमा योगदान पु¥याएका थिए ।
विद्यावारिधि (पीएचडी) गर्ने मकवानपुरका पहिलो व्यक्ति गणेश लामाको प्रमुख आतिथ्यमा भएको थियो ।
सम्पन्न राष्ट्रिय कविता प्रतियोगितामा ‘छुटेपछि देश’ शीर्षकको कविताले भीमफेदी गाउँपालिकाले आयोजित राष्ट्रिय कविता प्रतियोगितामा पहिलो स्थान प्राप्त गरेको छ । उक्त कविता जुम्लाको गुठचौर गाउँपालिका– ४ का हेमप्रकाश मञ्जिलले लेख्नु भएको हो । उहाँलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिइएको छ ।
यसैगरी, प्रतियोगितामा सर्लाहीको लालबन्दी नगरपालिका– ४ का सुमन घिमिरेको ‘म देश कसरी बनाउँ ?’ कविता दोस्रो भयो । अधिकारीलाई पुरस्कार ३० हजार रुपैयाँ प्रदान गरियो । झापाको अर्जुनधारा नगरपालिका– ५ का योगराज पौडेलको ‘मातृगाथा’ कविताले तेस्रो स्थानका साथ २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भएको आयोजकको भनाइ छ ।
उक्त प्रतियोगितामा काठमाडौंकी चेतना शर्माको ‘रातो क्यानभास’ र कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ का धीरज नाथको ‘बगैँचा’ कविताले प्रोत्साहन पुरस्कार पाउन सफल रहे । उनीहरूले जनही १० हजार रुपैयाँ प्राप्त गरेका छन् । आयोजक भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले विजयी कविहरूलाई पुरस्कार वितरण गर्नु भएको थियो ।
देशभरबाट प्राप्त ४१२ वटा कवितामध्ये मूल्यांकन समितिले उत्कृष्ट १० वटा कविता छनौट गरेको गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो । प्राप्त कवितामा देश प्रेम, समसामयिक समाज र मानवीय संवेदनाका विषय समेटिएका कविता प्रस्तुत भएका थिए ।
प्राप्त कवितालाई विषयवस्तु, भाषा, सिर्जनात्मकता र सन्देशलगायतका आधारमा मूल्यांकन गरी उत्कृष्ट कविताहरू छनोट गरिएको उहाँको भनाइ छ । उहाँले साहित्यिक सिर्जनामार्फत समाजका विविध पक्षलाई उजागर गर्ने तथा स्थानीयस्तरमा साहित्यिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय कविता प्रतियोगिता आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रममा साहित्यकार श्रवण मुकारुङ, पूर्वजिल्ला विकास समिति सभापति रामेश्वर रानालगायतको सहभागिता थियो ।
भीमफेदी गाउँपालिकाको यो उत्कृष्ठ एवम् अनुकरणीय कार्यक्रमको मुलुकका अन्य पालिकाहरू पनि सिक्न जरुरी छ ।
प्रकाशित मिति २०८३ भाद्र १९, शुक्रबार ०६:२३ गते