
चितवन– रसुवाबाट भोटेकोशीमार्फत सिर्जिएको बाढी– पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि ग्लोबल एग्रो ग्रुप, चितवनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख २२ हजार २२१ रुपैया सहयोग गरेको छ । सो रकम भदौ १८ गते उक्त कोषमा जम्मा गरिएको कम्पनीले जनाएको छ ।
ग्लोबल एग्रो ग्रुपमा आवद्ध छ कम्पनीमध्ये तीन कम्पनी यो दानको पुण्यकर्ममा समावेश छन् । ग्लोबल एग्रो ग्रुप अन्तरगत ग्लोबल एग्रो प्रोडक्टस लि.ले आठ लाख ८८ हजार ८८८ रुपैया, ग्लोबल ह्याचरी प्रालिले दुई लाख २२ हजार २२२ रुपैया र ग्याप मार्केटिङ प्रालिले एक लाख ११ हजार १११ रुपैया गरी समेत कुल १२ लाख २२ हजार २२१ रुपैया आर्थिक सहयोग गरेको ग्रुपका प्रबन्ध निर्देशक कमल पौडेल जानकारी दिनु भयो ।
कृषि, पशुपन्छी तथा किसानसँग प्रत्यक्ष जोडिएको निजी क्षेत्रको संस्थाका रूपमा विपद्को समयमा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउनु आफ्नो सामाजिक दायित्व भएको ग्रुपको धारणा प्रबन्ध निर्देशक पौडेलले व्यक्त गर्नु भयो । उहाँका अनुसार ग्रुपले राहत तथा उद्धारमा राज्यका निकाय, स्थानीय समुदाय तथा निजी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको अनुभूति गरेको छ ।
प्रबन्ध निर्देशक पौडेलका अनुसार हालै भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुर्याएको छ । बाढीले सडक, पुल, बस्ती तथा जलविद्युत् आयोजनालगायतका संरचनामा समेत ठूलो क्षति पुर्याएको ।
विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले ग्रुपले उक्त रकम सहयोग गरेको प्रबन्ध निर्देशक कमल पौडेलले बताउनु भयो ।
ग्रुपले बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
व्यवसायसँगै समाजप्रतिको जिम्मेवारीलाई समेत प्राथमिकतामा राख्दै आएको ग्लोबल एग्रो ग्रुपले उक्त सहयोगलाई संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गतको पहलका रूपमा लिएको छ ।
ग्लोबल एग्रोको यात्रा २०१२ बाट सुरु :
सन् २०१२ मा स्थापना भएको ग्लोबल एग्रो ग्रुप नेपालको एग्रो बिजनेस क्षेत्रमा क्रियाशील ISO ९००१ः२०१५ प्रमाणित समूह हो । भरतपुर महानगरपालिका– ३, न्यूरोड, नारायणगढ, चितवनमा मुख्य कार्यालय रहेको ग्रुपले सुरुवातमा दाना उत्पादनबाट आफ्नो व्यावसायिक यात्रा थालेको थियो ।
समय क्रममा ग्रुपले आफ्नो व्यवसायलाई पशुपन्छी तथा पशुपालन क्षेत्रको विभिन्न चरणमा विस्तार गर्दै दाना तथा चल्ला उत्पादन, प्रोटिन तथा तेल प्रशोधन, मार्केटिङ, ढुवानी तथा वितरण, प्रयोगशाला परीक्षण र प्राविधिक परामर्शलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
ग्लोबल समूहअन्तर्गत ग्लोबल एग्रो लिमिटेड, ग्लोबल ह्याचरी प्राली ., ग्याप मार्केटिङ प्रालि, ग्लोबल बर्ड प्रालि., ग्लोबल ट्रान्स्पोर्ट प्राली र ग्लोबल कर्पोरेट इन्भेस्टमेन्ट प्राली लगायतका कम्पनी रहेका छन् । ग्लोबल एग्रो प्रोडक्टस लिमिटेडको मासिक ६ हजार मेट्रिक टनभन्दा बढी दाना उत्पादन गर्ने क्षमता छ ।
ग्लोबल एग्रो प्रोडक्ट्स लि.ले भरतपुर महानगरपालिका– १६, मोहनपुरमा आधुनिक उत्पादन केन्द्र सञ्चालन गर्दै आएको छ । कम्पनीका अनुसार दुईवटा आधुनिक फिड उत्पादन प्लान्टबाट मासिक ६ हजार मेट्रिक टनभन्दा बढी दाना उत्पादन गर्न सक्ने क्षमता रहेको छ ।
कम्पनीले मास तथा पेलेट दुवै प्रकारका दाना उत्पादन गर्दै आएको छ । पशुपन्छी तथा पशुपालन क्षेत्रका लागि वैज्ञानिक रूपमा सन्तुलित पोषणयुक्त दाना उत्पादनसँगै गुणस्तर नियन्त्रण र प्रयोगशाला परीक्षणमा समेत जोड दिइएको कम्पनीले जनाएको छ । ग्लोबल एग्रो ग्रुपको कुखुरा (बोइलर, लेयर्स, गिरिराज), गाईभैंसी, बंगुर, माछालगायतका पशुपन्छीका लागि विभिन्न चरणअनुसार आवश्यक पोषणयुक्त आहार उत्पादन गर्दै आएको छ । कम्पनीले किसानको उत्पादकत्व र फार्मको नाफा बढाउने उद्देश्य राखेको छ ।
ग्लोबल एग्रो ग्रुपको ४० भन्दा बढी जिल्लामा बजार पहुँच, १५० भन्दा बढी डिलर; मार्फत ग्लोबल एग्रोले आफ्नो उत्पादन तथा सेवा देशका विभिन्न क्षेत्रमा विस्तार गरेको ग्लोबल एग्रो प्रोडक्टसका मार्केटिङ म्यानेजर देबी प्रसाद पौडेलले बताउनु भयो । उहाँका अनुसार कम्पनीको ४० भन्दा बढी जिल्लामा बजार पहुँच तथा १५० भन्दा बढी डिलरको सञ्जाल रहेको छ । कम्पनीले २०० भन्दा बढी कर्मचारीमार्फत उत्पादन, गुणस्तर नियन्त्रण, बिक्री तथा मार्केटिङ, प्राविधिक सेवा, वितरण तथा व्यवस्थापनलगायतका क्षेत्रमा काम गर्दै आएको जनाएको छ । ग्लोबल एग्रो ग्रुपले कम्पनीको सञ्जालमा पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्ला समेटिएका छन् । झापा, मोरङ, सुनसरी, काठमाडौं, नुवाकोट, सिन्धुपाल्चोक, चितवन, धादिङ, तनहुँ, लमजुङ, कास्की, गोरखा, नवलपरासी, रुपन्देही, दाङ, बाँके, कैलाली, सुर्खेतलगायत ४० भन्दा बढी जिल्लामा कम्पनीको आधिकारिक बिक्रेता छन् ।
ग्लोबल एग्रो ग्रुपले किसानसँग प्रत्यक्ष जोडिएको सेवा ग्लोबल एग्रोले उत्पादन बिक्रीमा मात्र सीमित नभई किसानलाई प्राविधिक परामर्श, फार्मसम्बन्धी सुझाव, उत्पादन व्यवस्थापन तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ ।
समूहले पशुपन्छी तथा पशुपालन व्यवसायमा उत्पादन लागत घटाउने, उत्पादकत्व बढाउने र किसानको आम्दानी तथा नाफामा सुधार ल्याउने लक्ष्यसहित अनुसन्धानमा आधारित पोषणयुक्त उत्पादन र प्राविधिक सेवामा जोड दिएको छ ।
ग्लोबल एग्रो समूहले दाना उत्पादनसँगै ह्याचरी क्षेत्रमा समेत आफ्नो उपस्थिति विस्तार गरेको छ । ग्लोबल ह्याचरी प्रा.लि.मार्फत ब्रोइलर चल्ला उत्पादन तथा सम्बन्धित सेवामा काम गर्दै आएको समूहले जनाएको छ ।
यसरी दाना, चल्ला, पशुपन्छी उत्पादन, पोषण, प्राविधिक सेवा, मार्केटिङ तथा वितरणलाई एउटै व्यावसायिक संरचनामा जोड्दै ग्लोबल एग्रोले नेपालको पशुपन्छी तथा कृषि क्षेत्रको मूल्य शृंखलामा आफ्नो उपस्थिति विस्तार गरेको छ ।
ग्लोबल एग्रो ग्रुपको ग्लोबल एग्रोको व्यावसायिक गतिविधि पनि पछिल्ला वर्षमा विस्तार हुँदै गएको देखिन्छ । यसअघि प्रकाशित वित्तीय विवरणसम्बन्धी समाचारअनुसार ग्लोबल एग्रोले सन् २०२४ मा रु. ३.४० अर्ब कारोबार गरेको तथा त्यसपछिको आर्थिक वर्षको पहिलो नौ महिनामा रु. २.८६ अर्ब कारोबार गरेको उल्लेख गरिएको थियो ।
व्यावसायिक विस्तारसँगै उत्पादन क्षमता, वितरण सञ्जाल र किसानसँगको प्रत्यक्ष पहुँच विस्तारलाई कम्पनीले निरन्तरता दिँदै आएको छ ।
व्यवसायसँगै सामाजिक जिम्मेवारीको सन्देश :
पशुपन्छी तथा कृषि क्षेत्रमा आफ्नो व्यवसायिक उपस्थिति विस्तार गरिरहेको ग्लोबल एग्रो ग्रुपले विपद्को समयमा गरेको आर्थिक सहयोगले निजी क्षेत्रको सामाजिक उत्तरदायित्व र राज्यसँगको सहकार्यको आवश्यकतालाई समेत उजागर गरेको छ ।
बाढी–पहिरोबाट प्रभावित नागरिकको तत्कालीन राहतसँगै आगामी पुनर्निर्माण र पुनःस्थापनाका लागि पनि सहयोग आवश्यक परेको अवस्थामा निजी क्षेत्रबाट हुने यस्ता सहयोगले प्रभावित समुदायलाई थप राहत पुग्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति २०८३ भाद्र १९, शुक्रबार १५:०८ गते