
बाढीले चीनको तिब्बत क्षेत्रदेखि नेपाल हुंदै मुग्लिन सम्म त्रासदी छोडेको छ । सबैभन्दा ज्यादा प्रभावित क्षेत्रमा भोटेकोशी क्षेत्र परेको देखिएको छ । चीनको तिब्बतमा हिम ताल फुटेको हो । हिम ताल फुट्नुको कारण त्यो ताल भन्दा माथि रहेको जमेको पानी अर्थात हिउंको पहाडको पहिरो गएकोले हो । हिउंको पहाड पहिरो गयो । तालमा प¥यो । हिंउको पहिरो पनि साह्रै ठूलो थियो । सबैले सञ्चारमा देखियो । हिउंको पहाड पहिरो गएपछि तल आयो । त्यो हिउंको पहाड नै भासिएको देखिन्थ्यो । पानीमा परेकोले पानीलाई लिंदै हिउंले ताल फुटाएर तल बग्यो । हिउं पनि छिट्टै पग्लेर अझै कति हो कति धेरै पानी बन्यो । पानीको बेगले बनेको छिर्का वा छिटाको मुस्लो नै बन्यो र त्यो मुस्लो करिव १०० मिटरसम्म माथि पनि पुगेको थियो भनिएको छ । यो हिउं पहिरो हुंदै आएको बाढीले हजारौं मानिसहरूको जीवन अन्त्य गर्यो, दुःख दियो, नसोचेको आर्थिक नोक्सानी भयो । यो दुःखद अवस्थाको काहाली लाग्दो दृश्यका हामी सबै दर्सक हौं र हामीले पिडितहरूलाई सहयोग पनि गर्न हात बढायौं ।
नदीको किनारमा रहेका शहरहरू ध्वस्त भए । आंखा आगाडि संचना र सडक मात्र होइन, बरु पुलहरू पनि बगायो । अरबौंको क्षति भयो । नदीको किनारामा घर बनाउनेहरू नै पिडित भए । मानिसहरू भन्ने गर्छन् कि नदीको किनारमा किन घर बनाएका होलान् ? केही माथि घर बनाउन पर्ने थियो र त्यसरी घर बनाएको भए यो अवस्था आउने थिएन । यो भनाई आंसिक सत्य भए पनि पुर्ण सत्य होइन । हामीसंग करिव ३ हजार बर्ष देखिका इतिहासका कुराहरू परंपरा र कथाको रुपमा सुरक्षित छन् । ३ हजार बर्षदेखि केही नभएका ती बासस्थानहरू यही समयमा पुर्णत नष्ट हुन पुगेका छन् । जनधनको त्यति ठूलो नास हुन्छ भन्ने कसरी अनुमान लगाउने ? लमजुङ जिल्लासंग सम्वन्धित चरौदी नदीको झोलुग्गे पुल पनि बाढीले बगाएको छ ।
यसभन्दा पहिला कहिल्यै यसरी नआएको हिउं नदी यसरी सबैभन्दा खतरा भएर आउनु दुःखद हो तर यो अवस्था विकासको उचित व्यवस्थापन नहुंदा र भूमन्डलीय तापक्रम बढेकोले नै भएको हो । हिउंको पहाड क्रमशः पग्लदा कहिल्यै नसुक्ने नदीहरूले हामीहरूका लागि पानी दिएर सिचाइ समेतबाट जीवन गुजारा गर्न सहयोग गर्थे र अहिले दुःखको कारण पनि बनेका छन् । हामीहरूले नै उचित रुपमा जलवायुको व्यवस्थापन गर्न नसक्दा यस्तो भएको हो भन्नेमा पनि दुई मत छैन ।
अहिले भूमण्डलीय तापक्रम बढ्ने बातावरण श्रृजना गर्ने देशहरूमा चीन, अमेरिका र भारत सबैभन्दा आगाडि देखिएका छन् । उनीहरूले विश्वमा सबैभन्दा ज्यादा औद्योगिक समेतका कार्यबाट उष्णता बढ्ने कार्य गरेका छन् । तर यो औपचारिक तथ्यांक मात्र हो । उनीहरूलाई मात्र दोष दिएर हुंदैन । सबै जसो पश्चिमा राष्ट्रहरू, धनी राष्टहरू र अर्थतन्त्र बलियो भएका राष्ट्रहरूले तापक्रम बढ्ने कार्य गरेकै छन् । भुगोलको आधारमा जनसंख्या ज्यादा भएकोले चीन, भारत र अमेरिकाको नाम आए पनि युरोप समेतका देशहरू पनि त्यसमा कम छैनन् । केवल साना देश भएकाले उनीहरूको नाम नआएको हो । जनसंख्याको आधारमा प्रदुषण बढाउनेमा सबै विकसित र धनी राष्ट्रहरू नै छन् । जसरी मैले बिरुवा रोपेर अक्सिजन मैले मात्र पाउंदिन बरु मेरो नजिकामा रहने रुख कहिल्यै नलगाउने र काट्न नै रुचाउने छिमेकीले पनि पाउंछ । मैले तापक्रम बढाउने काम नगरे पनि अरुले बढाएको तापक्रमले मलाई पनि उत्तिकै असर गर्छ । त्यसैले हामी मानिसहरू एक आपसमा जोडिएका छौं ।
विश्वमा तापक्रम नवढेको भए नेपालमा यो अवस्था आउने थिएन । यो अवस्था आइरहन सक्ने संभावना अब झनै ज्यादा छ । अब सबै सजग हुनै पर्छ । नदीहरू र मुलतः हिमालबाट निस्केका नदीहरूका किनारमा घर बनाएर बस्ने कार्य जोखिमपूर्ण बन्दैछ । सूचनाको विकासले गर्दा मानिसहरू त बच्न सकिने अवस्था आउला तर हामीहरूका जीवनका आधारहरू सबै सखाप हुन सक्छन् । यसमा सजग सरकार मात्र होइन, व्यक्ति पनि हुनै पर्छ । सरकारले गल्ती गर्यो भनेर भन्न सकिन्छ तर सतर्क भएको भए दुर्घटनबाट क्षति कम हुने थियो कि ? दुर्घटनाको पिडा त जनताले नै बेहोर्ने हो ।
धनी र विकसित देशहरूले तापक्रम नियन्त्रण गर्न अभियान थाल्नु पर्छ र हामीका जस्ता गरिव देशका सरकारहरूले यसको लागि उचित समाधान सहितको प्रस्ताव र त्यसको लागि काम गर्ने एकवद्धता खोज्नै पर्छ । आवाजलाई संगठित रुपमा विश्वव्यापी बनाउनै पर्छ र संयुक्त राष्ट्र संघमा सघन आबाज पनि उठाउनै पर्छ ।
लाग्छ, यो त काष्टिङ अर्थात सुरुवात मात्र हो । हामीहरू हिम नदीबाट नआएका नदीहरूको क्षेत्रमा बस्नेहरू धेरै कम छौं । नेपाल मात्र होइन भारत पनि त्यसको उच्च जोखिममा छ । चीन, बंलादेश, पाकिस्तान समेतका देशहरूले यो अवस्थाको सामना गर्न पर्ने अवस्था देखिएको छ । लमजुङ जिल्लाको मर्स्याङदी नदी मात्र नभइ अन्य नदीहरू पनि कुनै पनि समयमा बाढीको जोखिम लिएर आउन सक्छन् । लमजुङ– तनहुं, चितवन जिल्लामा यी नदीहरू र नेपाल भरका अन्य जिल्लाहरूमा अरु नदीहरूको विकराल रुप देखिन सक्छ । यसको लागि व्यवस्थित तयारी आवश्यक छ । यो चेतावनीले बास्तवमा नै हामीहरूले बासस्थानको जग्गा नदी किनारमा चयन गर्न हुंदैन भन्ने सन्देश दिएको मान्नु पर्छ । हामीले क्रमस बासस्थान बाढी र पहिरो नजाने स्थानमा नै बस्ती बसाउन तयार हुनै पर्छ ।
कतिपय सञ्चारमाध्यमहरूबाट पनि लमजुङको बेसीशहर पनि खतरा बाहिर छैन भन्ने लेखिएको पाइयो । बेसीशहरदेखि पाउंदीबजारसम्म र त्यहांबाट दक्षिणमा डुम्रेसम्म नै नदीका नजिकका बस्तीका बारेमा ध्यान दिनै पर्छ । संभवत मुग्लिनसमेत खतराको सूचिमा पर्ने हो भने अरु बीचका स्थानहरू पनि खतरा बाहिर छैनन् । हामी सजग हुनै पर्छ । बाढीको खतराको उचित व्यवस्थापन र जानकारी दिने माध्यमवाट मोवाइलमा नै पनि ठिक समयमा दिने व्यवस्था हुन पर्छ ।
अहिले सरकारले गरेका बाढी क्षेत्रमा मानिसहरूलाई बचाउने, सहयोग गर्ने, स्वास्थ्यको संबन्धमा ध्यान दिने, खाना र लगाउन तथा बस्नको व्यवस्था गर्ने जस्ता कार्यहरू सह्रानीय छन् । प्रधानमन्त्रीले संसदमा सांसदहरू बीचमा आफूले गरेका कामहरूको फेहरिस्त सुनाए । यी सकारात्मक हुन् । सरकारको आलोचना पनि भइहरको छ । सरकारले राम्रोसंग काम गरेको र यो काम गल्ती भएको भन्ने देखाउने प्रष्ट आधार नभए पनि अझ राम्रो गर्न सकिने संभावना जहिले पनि हुन्छ । स्थानीयदेखि प्रदेश र संघीय सरकारले सहयोग गर्ने र सहयोग व्यवस्थापन गर्ने कार्य अझै व्यवस्थित हुन पनि आवश्यक छ ।
यसै प्रसंगमा बाढीको प्रकोपको कारणका बारेमा केही कथाहरू पनि जोडिएका छन् । कृष्चियन धर्मलम्वीहरूले इसामसिहको प्रार्थना गरेको भए यस्तो हुने थिएन भनिरहेका छन् भने मुसल्मान धर्म मान्नेहरूले एउटा घर नदीले बचाएकोमा त्यो मुसल्मानको घर थियो भनेको जानकारीमा आएको छ । त्यो घर भाइरल नै भएकोमा सबैभन्दा ज्यादा चासो नास्तिकहरूलाई भएको छ । उनीहरू धर्मको कारणले बचेको हो भन्नेहरूलाई बिभिन्न प्रकारका उदाहरण दिएर धर्मको कारण बचेको होइन भन्ने प्रयास गरिरहेका छन् । के त्यो भाइरल घर धर्मको कारणले बचेको हो ? वा अन्य परिस्थितिजन्य कारणले हो ? भन्ने प्रश्नको उत्तर कहिल्यै पनि बिवादरहित हुने छैन । त्यो घर पाण्डे थरका मानिसको भएको र त्यहाँं दिनहुं छतमा भएको मन्दिरमा पुजा हुने गरेको र बाढीको दिन पनि बिहान नै घरकी बुहारीले पुजामा धेरै समय बिताएकी भन्ने पनि सुनिएको छ । घरको छतमा हिन्दु धर्म अनुसारका भगवानको मन्दिर बनेकोमा कुनै बिवाद समेत छैन ।
मैले नास्तिकहरू भन्दा धार्मिकहरू एक हदसम्म व्यवहारिक र बिबेकपुर्ण भएको महसुस गरेको छु । नास्तिकहरूले त्यो कार्य उपरवालाले गरेको र घर बचाएको हुंदै होइन भनेर बिभिन्न तर्क दिएर ठोकुवा गरिरहेका छन् । धार्मिकहरूले अरु सवै बगायो । त्यस्तै र त्यो भन्दा पनि सुरक्षित देखिने स्थानका संरचनाहरू बगायो । तर यो घर बगाएन किन ? किनकी ती धार्मिक व्यक्तिलाई बचाउनु थियो भन्न नसकिने आधार के छ र ? परिस्थिति, संयोग पनि त्यो घरका मानिसहरू धार्मिक भएको र पूर्व जुनीको राम्रो कामले गर्दा भएको र यो अवस्था आएको पनि हुन सक्छ भनेर धर्मको अनुसन्धानलाई पनि निरन्तरता दिने अवसर धार्मिकहरूले दिएका छन् । तर नास्तिकहरूले भने आफूले जे देख्यो र सोच्यो त्यो मात्र सत्य हो भनिरहेका छन् । यसरी हिन्दु आस्तिकहरूले बिज्ञानलाई पनि आत्मसात गर्दै कुनै बिषेश अवस्था आउनुमा प्रकृतिलाई नियन्त्रण गर्ने अर्को कुनै शक्तिको पनि हात हुन सक्छ भनेका छन् । यस कार्यले संभावनालाई खोज्ने र सत्यलाई आत्मासत गर्न तयार हुने क्षमता आस्तिकहरूमा ज्यादा देखिएको जस्तो लाग्छ । किनकी धार्मिकहरूले बिज्ञानलाई पनि अस्विकार गरेका छैनन् ।
प्रकाशित मिति २०८३ भाद्र २०, शनिबार १३:२६ गते