
सिउँडीबार(लमजुङ)– लमजुङको सुन्दरबजार नगरपालिका– ९ को यहाँ स्थित भोटेडार सार्वजनिक पुस्तकालयको छैटौं साधारण सभा तथा तेश्रो अधिवेशन सम्पन्न भएको छ । वरिष्ठ लोक गायिका माया गुरुङको प्रमुख आतिथ्यमा भदौ २१ गते सो अधिवेशन सम्पन्न भएको हो ।
कार्यक्रमको उदघाटन गर्र्दै सरस्वतिको फोटोमा अविरार्पण सहित प्रमुख अतिथि गुरुङले स्रष्टा, पुस्तकालय र गायन वा कलाकारबीच नङ र मासुको सम्बन्ध रहन्छ भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो । उहाँले आफूले सय भन्दा बढी गीत गाएको स्मरण गर्नुभयो । आफ्ना गीत अरु कसैले दुरुपयोग गरेकोमा रेडियो र नेपाल टेलिभिजनमा आफ्ना अमुल्य सिर्जनाको खोजी गरेको उल्लेख गर्दै आफू पिडित भएको दावीसहित चिन्ता व्यक्त गर्नु भएको थियो । स्वर्गीय युक्त गुरुङको सम्झना गर्दै उहाँसँग बिताएका दिनहरू सम्झदै भावुक समेत हुनु भएको थियो । उहाँले आफ्नो सांगीतिक यात्रामा श्रीमानकोसमेत सहयोग रहेको र आफ्नै छोरीलाई समेत गायककार बनाउन सकेको सुनाउनु भएको थियो । उहाँले भर्खरै यो उमेरमा पुनः पाँच ओटा गीत रेकर्ड गराएर आएको समेत जानकारी दिनु भयो ।
उक्त अवसरमा वरिष्ठ साहित्यकार भुवन हरि सिग्देल, डा जीवन अधिकारी, प्रा. गोपिकृष्ण शर्मालाई पुस्तक दान गर्ने दाता कविहरूका रुपमा सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा शुभकामना दिनेहरूमा कार्यक्रमका विशेष अतिथीहरू भक्ति नमूना माविका पूर्वप्रअ ध्रुवबहादुर कुँवर, लक्ष्मीनारायण पुस्तकालय बेसीशहरका उपाध्यक्ष तेजनारायण अधिकारी, सुन्दरबजारका जेष्ठ नागरिक अध्यक्ष रमाकान्त सापकोटा, साहित्यकार लक्ष्मी प्रसाद मिश्र, महिला प्रतिनिधि चन्द्रकला घले गुरुङ आदि हुुनुहुन्थ्यो ।
कार्यक्रमका समेत अध्यक्ष रहनु भएका पुस्तकालयका अध्यक्ष वसन्तराज खनालले संस्थाको गतिविधिका साथ भावी योजना प्रस्तुत गर्नु भएको थियो ।
वडासदस्य चिजासानु परियार, रेडियो भोटेओडारका अध्यक्ष हरिप्रसाद अधिकारी, कवि तिर्थराज अधिकारी, योग शिक्षक मधुविलास पौडेल, रमाकान्त अधिकारी, पत्रकार बासु थापा, कृर्तिमान गुरुङ, गुम्बाका समुता बुम्बाका अध्यक्ष बीरसिङ घले, जेष्ठनागरिक समाज भोटओडारका अध्यक्ष नारायण कुँवर, दिल्लीमान श्रेष्ठलगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।
स्वागत उपाध्यक्ष खुस बहादुर गुरुङ्ले गर्नु भएको थियो । सचिव रामहरी न्यौपानेले पुस्तकालयको इतिहास छोट्करिमा परिचय दिनु हुँदै कार्यक्रम सञ्चालन गर्नु भएको थियो । आर्थिक प्रतिवेदन सदस्य केयरसिङ कार्कीले प्रस्तुत गर्दै संस्थाको आय, व्यय तथा अडिट प्रतिवेदन सार्वजनिक गर्नु भएको थियो ।
अधिवेशनले रामहरि न्यौपानेको नेतृत्वमा ९ सदस्यीय नयाँ समिति चयन गरेको छ । यसअघि सचिव रहनु भएका न्यौपाने सो पुस्तकालयको दोस्रो अध्यक्ष हुनुहुन्छ । तदर्थ र दुई कार्यकाल वसन्त खनालले नेतृत्व गर्नु भएको थियो ।
समितिको उपाध्यक्ष खुसबहादुर गुरुङ, सचिव रमाकान्त अधिकारी, कोषाध्यक्ष अमृत भुजेल, सहसचिव कमला श्रेष्ठ तथा सदस्यहरूमा विदुर अधिकारी, रामप्रसाद अधिकारी, कीर्तिमान गुरुङ र चिजामाया परियार चयन हुनुभएको छ । ११ सदस्यीय हुने सो समितिमा दुई सदस्य पछि मनोनित गरिने सो पुस्तकालयका निवर्तमान अध्यक्ष वसन्तराज खनालले जानकारी दिनु भएको छ ।
भोटेडार सार्वजनिक पुस्तकालय २०७२ सालको मंसिरमा तदर्थ समिति गठन भई स्थापनाको प्रयार भएको हो । त्यसपछि संस्थालाई विधिवत् रुपमा दर्ता गरी २०७३ सालको जेठ १५ गते गणतन्त्र दिवसको दिनदेखि विधिवत् रुपमा सेवा सुरु भएको हो ।
हाल करिब साढे छ हजार पुस्तक रहेको उक्त पुस्तकालयको आफ्नै भवन रहेको जिल्लाको दोस्रो ठूलो पुस्तकालय मानिन्छ ।
लक्ष्मीप्रसाद मिश्रको सहयोगमा ।
प्रकाशित मिति २०८३ भाद्र २२, सोमबार १२:३९ गते