
सुन्दरबजार– सुन्दरबजार सामुदायिक सिकाइ केन्द्रको १३ औँ वार्षिक साधारणसभा तथा ५औँ अधिवेशनबाट पुनः राधादेवी श्रेष्ठ अध्यक्ष चयन हुनु भएको छ । यहाँ स्थित श्री रामजानकी मन्दिरको सभाहलमा आयोजित सो अधिवेशनको प्रमुख अतिथि सुन्दरबजार नगरपालिका– ७ का वडा अध्यक्ष जयराम रेग्मी हुनुहुन्थ्यो ।
राधादेवी उक्त केन्द्रको संस्थापक अध्यक्ष हुनुका साथै सुरुको तीन कार्यकाल अध्यक्ष हुनुभएको व्यक्तित्व हो । उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष रामकृष्ण भण्डारीको अध्यक्षता भएको थियो । कार्यक्रममा अध्यक्ष भण्डारीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै सामुदायिक सिकाइ केन्द्रले समुदायको आवश्यकता र रुचिअनुसार विभिन्न आयमूलक, स्वास्थ्य तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
उहाँका अनुसार संस्थाले बृहत् रक्तदान कार्यक्रमका लागि सौजन्य, प्रौढ महिला स्वास्थ्य, पोषण तथा मानसिक सशक्तिकरण तालिम, किचन गार्डेन, खानपान तथा भान्सा सुधार कार्यक्रम, खाद्य पदार्थ लेबलिङ तथा प्याकेजिङ तालिम र बाटेको धुप बनाउने तालिम लगायतका कार्यक्रम सञ्चालन गरेको छ । साथै, संस्थाका आजीवन सदस्यहरूलाई अन्य सामुदायिक सिकाइ केन्द्रहरूको अध्ययन तथा अवलोकन भ्रमणसमेत गराइएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् सुन्दरबजार नगरपालिका– ७ का वडा अध्यक्ष जयराम रेग्मीले सामुदायिक सिकाइ केन्द्रसँग वडा कार्यालयले विभिन्न कार्यक्रमहरूमा सहकार्य गर्दै आएको र भोलिका दिनमा पनि वडाबाट हुने सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य विष्णु कुमार श्रेष्ठले गर्नुभएको थियो । संस्थाका सदस्य– सचिव रश्मी पौडेलले कार्यक्रमको सञ्चालन गर्दै संस्थाको छ लाख १० हजार ७७ रुपैयाँको आर्थिक कारोबार प्रस्तुत गर्नु भएको थियो । उहाँले ढकिया बुनाइलगायत विभिन्न सीपमूलक तालिम तथा कार्यक्रम सञ्चालन गर्ने जानकारी दिँदै आर्थिक वर्ष २०८३/८४ का लागि ५ लाख ६७ हजारको अनुमानित आय–व्यय विवरण समेत प्रस्तुत गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष राधादेवी श्रेष्ठ, आदर्श बाल माध्यमिक विद्यालयका प्रधानाध्यापक धनबहादुर भुजेल, संस्थाका समिति सदस्य श्याम्का रेग्मी, आय आर्जन समूहका अध्यक्ष सावित्री खड्का, आजीवन सदस्य यज्ञराज घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु हुँदै संस्थाले भोलिका दिनमा थप गति लिने विश्वास व्यक्त गर्नु भएको थियो ।
उद्घाटन कार्यक्रमपछि सम्पन्न बन्दसत्रले राधादेवी श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । नवनिर्वाचित समितिको सदस्यमा श्याम्का रेग्मी, प्रभा रेग्मी, सरला लामिछाने, सावित्री खड्का र विष्णु कुमार श्रेष्ठ रहनुभएको छ । समितिको सदस्य–सचिवमा रश्मी पौडेल चयन हुनुभएको छ भने नवनिर्वाचित समितिको सदस्यमा सुन्दरबजार नगरपालिका शिक्षा शाखाका प्रतिनिधि, आदर्श बाल माध्यमिक विद्यालयका प्रधानाध्यापक पदेन सदस्य रहने व्यवस्था छ ।
त्यस्तै, सल्लाहकार समितिको संयोजकमा निवर्तमान अध्यक्ष रामकृष्ण भण्डारी चयन हुनुभएको छ । सल्लाहकार सदस्यहरूमा यज्ञराज घिमिरे, लक्ष्मी बानियाँ र लक्ष्मी रेग्मी चयन हुनुभएको सदस्य–सचिव रश्मी पौडेलले जानकारी दिनुभयो ।
अध्यक्ष निर्वाचित भएपछि अध्यक्ष राधा देवी श्रेष्ठले नवनिर्वाचित कार्यसमितिले सामुदायिक सिकाइ केन्द्रका नियमित सिकाइ गतिविधिलाई थप प्रभावकारी बनाउँदै समुदायमा सीप, स्वास्थ्य, आयआर्जन तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।
प्रकाशित मिति २०८३ आश्विन ६, मंगलवार ११:४८ गते